नवलपरासीका पत्रिका बन्द, रेडियोकर्मीलाई सास्ती


हरि शर्मा –



परासी । पश्चिम नवलपरासीबाट प्रकाशन हुँदै आएका सबै पत्रिका बन्द भएका छन् । कोरोना (कोभिड १९) संक्रमणबाट सुरक्षित रहन सरकारले देशैभर लकडाउन गरेपछि त्यसको प्रत्यक्ष असर पत्रिका प्रकाशन र वितरणमा परेको भन्दै सञ्चालकहरुले पत्रिका बन्द गर्ने निर्णय गरेका हुन् । जिल्लामा चार वटा साप्ताहिक र एक दैनिक पत्रिका प्रकाशित हुँदै आएका छन् । साप्ताहिक पत्रिकाहरुका सञ्चालकहरुको बैठक बसेर कोरोना संक्रमण अवस्था सामान्य नभएसम्मका लागि पत्रिका बन्द गर्ने निर्णय गरेको परासी पत्रका सञ्चालक केशव पराजुलीले बताए । ‘ सरकारले लकडाउन गरेपछि छापाखानाका मजदुर पनि आउन छाडे । वितरकहरुले समेत बाहिर गएर वितरण गर्न समस्या भएको बताए । त्यसैले पत्रिका बन्द गर्नुको विकल्प रहेन ।’ पराजुलीले भने । पत्रिका प्रकाशन बन्द हुँदा त्यसको प्रत्यक्ष असर प्रेस काउन्सिलले गर्ने पत्रिका वर्गिकरणमा पनि पर्ने भएकाले त्यसबारे पुनर्विचार गर्न आग्रह गरिएको पराजुलीले बताए । ‘काउन्सिलले हरेक वर्ष वर्गिकरण गर्दा पत्रिकाको आवश्यक अंक तोकेको छ । प्रकाशन बन्द भएपछि अंकमा स्वतः कमि आउँछ । त्यसैले त्यसबारे पुनर्विचार गर्न नेपाल पत्रकार महासंघ मार्फत काउन्सिलसँग आग्रह गरेका छौं । ’ पराजुलीले भने । परिस्थिति सामान्य भएपछि पत्रिका प्रकाशन नियमित हुने सुस्ता सन्देश साप्ताहिकका प्रकाशक उमाकान्त गिरीले बताए । यसैबीच दैनिक रुपमा प्रकाशन हुँदै आएको बर्दघाट पोष्टसमेत परिस्थिति सामान्य नबनेसम्मका लागि बन्द गरिएको प्रकाशक रवि पाण्डेले बताए ।

रेडियोकर्मीलाई समस्या
जिल्लामा प्रसारणमा रहेका एफएफ रेडियोमा कार्यरत सञ्चारकर्मीहरुले घरदेखि स्टेशनसम्म आउजाउ गर्न समस्या भएको गुनासो गरेका छन् । सरकारले लकडाउन गरेपछि हिड्डुल गर्न कडाई गरेको छ । जिल्लाका रेडियोहरुले पनि अधिकांश कर्मचारीहरुलाई बिदा दिएर घर बस्न भनेका छन् । प्रसारणका लागि मात्र २÷३ जना सञ्चारकर्मीहरु रेडियोमा बस्ने गरेका छन् । समाचार संकलनका लागि पत्रकारहरुलाई सूचना विभागको प्रेस पास परिचय पत्रका आधारमा छुट दिएको छ । तर जिल्लाका अधिकांश पत्रकारहरुसँग उक्त पास नभएकाले आउजाउमा समस्या भएको नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले भने । जिल्लाका अधिकांश पत्रकारहरु अहिले घरमै बसेर समाचार संकलन गरिरहेका छन् । ‘धेरै साथीहरुलाई घरमै बस्न भनेर बिदा दिएका छौं । प्रसारणका लागि एक जना प्राविधिक र एक जना समाचार शाखामा छौं । तर पास नहुँदा घरदेखि स्टेशन आउजाउ गर्न समस्या भएको छ । ’ दौतरी एफएमका प्रबन्ध निर्देशक नारायण भण्डारीले भने,‘ रेडियोको परिचय पत्र देखाउँदा सूचना विभागको परिचय पत्र माग्ने गरिएको छ । अहिलेसम्म सुरक्षाकर्मीलाई अनुरोध गरेर आउने गरिएको छ । नमानेको खण्डमा समस्या हुने भयो ।’
रेडियोहरुले समाचार र कोरोना सम्बन्धी सन्देश मुलक सामाग्री र गीत मात्र प्रसारण गर्दै आएका छन् । हिडडुलमा समस्या भएपछि स्थानीय स्तरमा उत्पादन गरेर प्रसारण हुने कार्यक्रमहरु बन्द गरिएको रेडियो सुनवलका प्रबन्धक इन्द्र रेग्मीले बताए ।
रेडियो सन्देशका स्टेशन म्यानेजर नन्दु कँवरले सूचना विभागको पास नहुँदा आउजाउमा समस्या भएको बताए । उनले प्रशासनबाट पासको व्यवस्था भए सहज हुने बताए ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सूचना विभागको प्रेस पास नहुने पत्रकारहरुलाई समस्या नहुने गरी आवतजावतको व्यवस्था मिलाइने बताए । ‘विगतका विभिन्न परिस्थितिमा पास वितरण गर्दा दुरुपयोग भएको पाइयो । त्यसैले प्रशासनबाट पास उपलब्ध गराउनु भन्दा पनि जिल्लाको पत्रकार महासंघ संग समन्वय गरेर पत्रकारको आवतजावतलाई सहज बनाइने छ ।’ प्रजिअ दाहालले भने । पास नभएर आउजाउ गर्न समस्या भएका पत्रकारहरुको नाम र फोन नम्बर पत्रकार महासंघसँग मागिएको उनले बताए । ‘महासंघले नाम उपलब्ध गराएपछि रेडियोको परिचय पत्रले पनि आउजाउ गर्न समस्या नहुने गरी मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिने छौं । यसले पत्रकारलाई सहज हुन्छ । ’ प्रजिअ दाहालले भने । जिल्लामा ६ वटा रेडियो र एक टेलिभिजन प्रसारणमा छन् ।



सम्बन्धित
Loading...