कोरोनाको निर्मम सन्देश

-प्रेमध्वज गाहा मगर –

सन २०१९ को अन्त्यतिर चिनको वुहान सहरबाट फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) यतिबेला बिश्वका २०० भन्दा बढी देशहरुमा पुगिसकेको छ । यसको संक्रमणबाट विश्व नै आक्रान्त छ । विश्व स्वास्थ्य संगठन( WHO)ले समेत यसलाई गत मार्चमा महामारी घोषणा गरेको छ भने यसले विश्व संकट सिर्जना गरेको बताएको छ । यस आलेख तयार पार्दा सम्म बिश्वभर कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४० हजार नाघी सकेको छ भने करिब आठ लाख मानिसहरू यसको संक्रमणबाट गुज्रिरहेका छन । संक्रमित मध्ये जम्मा पौने दुई लाख मात्र निको भएर घर गएका छन । यसको संक्रमणलाई अरु फैलन नदिनका लागि धेरै जसो देशहरुले लक डाउन समेत गरेका छन । एक हिसाबले विश्व नै लक डाउनको अवस्थामा छ । नेपालमा पनि गत चैत्र १८ सम्म लक डाउन गरिएको थियो भने यसलाई लम्ब्याएर चैत्र २५ सम्म पुर्याइएको छ । यसबिचमा आन्तरिक तथा बाह्य उडान ठप्प छन भने लामा तथा छोटो दुरिका सवारी, नीजि सवारी सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै अति आबश्यक बाहेक अन्य सरकारी , गैर सरकारी संघ संस्थाका कार्यालय , पसल सबै बन्द गरिएका छन । अन्तरब्यक्ती सम्पर्कबाट अति तीब्र गतिमा संक्रमण फैलन सक्ने तथ्यलाई मध्यनजर गर्दै भिडभाड नगर्न र सोसल डिस्टान्स कायम गर्न भनिएको छ । एकैपटक लाखौं संक्रमितलाई उपचार गर्नका लागि पर्याप्त साधन ,स्रोत तथा जनशक्ति नभएको नेपाल जस्तो मुलुकका लागि यो नै उत्तम उपाय हो । कोरोना जहाँबाट जसरी उत्पन्न भएर सिंगो मानव समुदायको सातो खाइरहेको भए पनि यसले अन्य प्राकृतिक बिपत्तिहरुले जस्तै फेरि एक पटक एउटा यथार्थ सम्झाउंदै छ – त्यो हो नोथिङ अपर देन द नेचर । त्यस्तै अर्को निर्मम सन्देश यसले के दिएको छ भने प्रकृतिको नजरमा सबै मानव समान छन ।
अवस्था भयाबह बन्दै :

कोभिड १९ लाई इपिडेमिक भन्ने कि पान्डेमिक ? यसबारे स्वास्थ्यकर्मी तथा स्वास्थ्य बिज्ञहरुका बिच मतैक्यता छैन । कुल संक्रमित मध्ये ज्यान गुमाउनेको संख्या दुई प्रतिशत मात्र छ त्यसैले पाण्डेमिक भनी नहाल्दा हुन्छ भन्ने एकथरिको बुझाई छ । त्यस्तै अर्का थरी भने यसलाई पाण्डेमिक नै भन्नू पर्छ भन्नेमा अडिग छन । प्रतिशतलाई नहेरी संख्यालाई मात्र हेर्ने हो भने मृतकको संख्या हरेक २४ घण्टाको अबधिमा औषत तीन हजार रहेको छ । त्यस्तै यसको फैलावटले २ सय भन्दा बढी देशका अन्तरास्ट्रिय सीमा नाघेकाले यो पाण्डेमिक नै हो भन्ने उनीहरुको बुझाई छ । अर्को एक तथ्यांकका अनुसार अमेरिकामा मात्र कोरोना संक्रमणको अन्त्य सम्म कम्तिमा पनि करिब दुई लाख मानिसहरु यसबाट मर्ने प्रक्षेपण गरिएको छ । अमेरिका जस्तो स्रोत साधन सम्पन्न देशको अवस्था यस्तो छ भने अन्य अबिकसित र अल्प बिकसित देशहरु कुन हालतबाट गुज्रिएलान सहजै अनुमान गर्न सकिन्छ । यदि विश्व स्तरमै एउटा ठोस पहलकदमी नहुने हो भने अबश्यम्भाबी रुपमा यो भयाबह स्थिती मानवको कुनै पनि शक्तिको नियन्त्रण भन्दा बाहिर जाने नै छ । विश्व स्तरमै केही पहलकदमी गर्नका लागि भने एउटा ठोस संयन्त्रको आबश्यक पर्छ । हाललाई संयुक्त राष्ट्र संघ(UNO)ले यस्तो पहल गर्न सक्ला । तर बिशेषाधिकार सम्पन्न संयन्त्रको बिकल्प भने यो हुन सक्दैन । तसर्थ एक्काइसौं सताब्दिका महान बैज्ञानिक स्टेफन हकिन्सले परिकल्पना गरे जस्तै विश्व सरकार ( world government ) नै उपयुक्त हुन सक्छ । जसले प्रकृति संरक्षणको सन्दर्भमा र प्राकृतिक बिपत्तिका बेलामा स्वतन्त्र र न्यायिक ढंगले काम गर्न सकोस ।
पहिलो र अन्तिम महामारी होइन :

नोभल कोरोना भाइरस ( कोभिड १९) को संक्रमण नै बिश्वको पहिलो महामारी होइन । न त अन्तिम नै । हरेक बीस बर्षमा कम्तिमा चार पटक विभिन्न महामारिले बिश्वलाई त्रस्त बनाउने गरेको बैज्ञानिकहरुको अध्ययनले पुष्टि गरेको छ । यस अघि पनि एच आइ भि एड्स , प्लेग , सार्स , इबोला आदि महामारिले विश्व समुदायको हुर्मत लिएर गएका छन । अहिले कोरोनाले आफ्नो चरम रुप प्रदर्सन गर्दै छ भने भबिष्यमा पनि अर्को कुनै महामारि मानव समुदायको लागि खतरा बनेर आउने नै छ । ब्ल्याक डेथका रुपमा समेत चिनिने सन १३४७ देखि १३५३ सम्म महामारिको रुप लिएको द ग्रेट बुबोनिक प्लेगले तत्कालीन युरोपको आधा भन्दा बढी ( ६० प्रतिशत ) जनसंख्या सकाएको थियो । बिश्वभरमा चाहिँ यसले करिब २ सय मिलियन मानिसहरुको ज्यान लिएको थियो । यो महामारिको सुरुको एजेन्ट मुसामा पाइने एक खालको उपिया थियो । जसले रोगी मुसालाई टोकेर मानिसमा यो ब्याक्टेरिया सारेको थियो । त्यस्तै एच आइ भि एड्सले आफ्नो चरम रुप धारण गरेको अबधि सन २००५ देखि २०१२ बीचमा ३६ मिलियनको ज्यान लिएको थियो । त्यस्तै सन २००४ मा चिनको ग्वाङ्डाउबाट बिश्वका २९ देशमा फैलिएको सार्स महामारिका कारण ७७४ जनाले ज्यान गुमाएका थिए । दक्षिणी सुडानको जारा नगरमा प्रथम पटक देखिएको इबोला संक्रमणले चाहि सन २०१४ देखि २०१६ को बिचमा करिब ११ हजारको ज्यान लिएको थियो । द ग्रेट बुबोनिक प्लेगलाई छाडेर सन २००० यताका महामारीलाई मात्र हेर्ने हो भने ती मध्ये अहिले बिश्वयात्रामा निस्केको कोरोना ( कोभिड १९ ) सबै भन्दा खतरनाक देखिएको छ । किनभने यसको संक्रमण र डेथ टोल ज्यामितिय गतिले बढ्दै गएको छ ।
निर्मम सन्देश :
सन १९०३ मा भारतको बिहारमा जन्मिएका प्रसिद्ध अंग्रेजी लेखक जर्ज अर्वेलले आफ्नो कृति एनिमल फार्ममा उल्लेख गरेका छन – All animals are equal but some animals are more equal than others. अर्थात सबै प्राणी समान छन तर केही चाहिँ अरु भन्दा धेरै नै समान छन । हेर्दा र पढ्दा अलिकती कन्फ्युजिङ लाग्ने वाक्य भएपनी यसको अर्थ प्रष्ट छ । उनले तत्कालिन सत्ताको आडम्बरलाई ब्यङ्ग्य गर्दै यो लेखेका थिए । तत्कालिन सत्ताले सबै नागरिक समान छन भन्थ्यो तर अधिकार भने केही सीमित अभिजातहरुको पकडमा हुन्थ्यो । बिश्व परिवेशमा हेर्दा अद्यापि यो कायम देखिन्छ । प्रकृतिको नजरमा सबै मानव समान भएता पनि यहाँ मानिसहरूको बिचमा रंगभेद , जातिभेद , बर्गभेद , धर्मभेद छ्न । नेपालको सन्दर्भमा पनि बिगत २४० बर्षदेखी महिला , आदिवासी जनजाति , दलित , अल्पसंख्यक , तथा भौगोलिक रुपमा उत्पीडन खेपेका मानिसका बर्गहरुले आफुहरुलाई अन्याय भएको वकालत गर्दै आएका छन । यसको अर्थ अर्वेलले भने झैं नेपालमा पनि केही सीमित बर्गले अन्य भन्दा धेरै बिशेषाधिकार र अघोषित आरक्षण प्राप्त गरेका छन । सत्ता र शक्तिमा बर्चस्व कायम गरेका छन । अब यसलाई यतातिर जोडौं , कोरोना ( कोभिड १९ )ले सिंगो मानव समुदायलाई एउटा निर्मम सत्य उजागर गरेको छ । प्रकृतीको प्रतिनिधित्व गर्दै यसले प्रकृतिको नजरमा तिमिहरु सबै जातका , बर्गका, धर्मका , बर्णका , लिंगका मानिसहरु समान छौ भन्ने सन्देश प्रवाह गरेको छ । यसको संक्रमणबाट अमेरिका जस्तो सम्पन्न राष्ट्र पनि अछुतो रहन सकेन र यसले नेपाल जस्तो अल्पबिकसित राष्ट्रलाई पनि छाडेन । न यसले धनाढ्य भनेको छ न गरिब । न यसले महिला देखेको छ न पुरुष । न यो जाती न त्यो । न त मन्त्री न मजदुर । कोरोनाले कसैलाई भेदभाव गरेको देखिदैन । अब यसबाट सत्ताको प्राधिकारमा बसेका हरुले के बुझ्नुपर्छ भने राज्यका सबै नागरिक समान छन । समान भएकैले सत्ता र शक्तिमा सबैको समान पहुंच र सहभागीताको अधिकार सुनिश्चित हुनुपर्छ । अथवा सत्ता र शक्तिमा , अधिकार र अवसरमा सबै नागरिकको पहुंच स्थापना हुन सक्ने नीति अंगिकार गरिनुपर्छ ।