बन्द कोठा भित्र …
-
सुदीक्षा लम्साल –

मेरो घर नवलपुर जिल्ला, महेन्द्र राजमार्गसङ जोडिएको एउटा रमणीय गाउँमा छ । हरेक बिहान सवारीसाधनको ट्या–ट्या , टि–टि हर्न, बाटोमा मर्निङ वाल्क हिडेका मानिसहरूको चर्को रेडियोको आवाज र घर नजिकैको राम मन्दिरमा बज्ने भजनले सधैं मलाई विउझ्याउथ्यो । म आँखा मिच्दै वार्तलीतिर लम्कन्थे र गुडिरहेका सवारीसाधन एकैछिन घोरिएर हेर्थें ।
सधैं साधनको घन्को सुनिरहेको यी कानले विश्राम पाएको र यी आँखाले बाटोमा फरक दृश्य देखेको आज ठ्याक्कै एक महिना पुगेछ । भोको पेट, आँखा भरी टिलपिल आँसु, एउटा काखीमा बच्चा च्यापेर अर्को हातमा झोला समातेर निकै टाढा घरसम्मको पैदलयात्रामा निस्किनु भएको वृद्ध आमाबाबा, गर्भवती आमा र विश्राम लिँदै हिडेकाहरुको कष्टप्रद यात्रा देखिएको छ । अझ खुट्टा भाँचिदा पनि बैशाखीको साहारामा पोखराबाट नवलपुरसम्म हिडेर आउनुभएका मेरो छिमेकका ३०–३२ वर्षका काकाको दृश्य देख्दा मेरा आँखा रसाएका थिए । हरेक दिन जसो रेडियो, टेलिभिजन र ईन्टरनेटमा सामाचार आउने गर्छ, कोभिड–१९ र यसले निम्त्याएका समस्याहरु भनेर । सुन्निछ मजदुरहरु सहरमा भोकमरीसँग जुध्न नसकेर सुख–दुख परिवारसंगै साटौला भन्दै भोक, प्यास, थकानको प्रवाह नगरी आफ्नो घर फर्कदै छन् ।
सन् २०२० जनवरी ५ मा पहिलो पटक चिनको वुहान प्रान्तमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको यो रोग आज एशिया, युरोप, अफ्रिकाहुँदै अमेरिकासम्म फैलिएको छ । विश्वका सम्पन्न, विकशित र शक्तिशाली मानिएका राष्ट्रहरुमा समेत यस महामारी रोगको प्रकोपका कारण विश्वजनसमुदाय नै त्राही–त्राही भएको छ । विश्वकै पछिल्लो तथ्यांक हर्ने हो कोरोना भाइरसबाट २५ लाख भन्दा बढी मानिस संक्रमण भएकोमा १ लाख ८० हजार भन्दा बढीको मृत्यु भएको छ भने ७ लाख भन्दा बढी मानिस निको भएका छन् । नेपालमा भने हालसम्म ४५ जना यो रोग बाट संक्रमण भएकोमा ७ जना मानिस निको भएर घर फर्किएका छन् ।
आज नेपाल सहित सन्सारका धेरै देशहरुका सुरक्षा, स्वास्थ र अत्यावश्यक सेवा बाहेक उद्योग, कलकारखाना बन्द छन् , यातायात ठप्प छ, बजार र शैक्षिकसंस्था समेत प्रभावित परेका छन् । यसले विश्व अर्थतन्त्रमै सुस्तता, आर्थिक मन्दी, बेरोजगारी एबम मुल्य वृद्धि जस्ता समस्या ल्याउने सामान्य अनुमान गर्न सकिन्छ ।
बन्द कोठाभित्र, चिडियाखानामा बसेका जीवजन्तु निःसन्देह सहर र बजार पसेका छन्, स्वतन्त्रता महशुस गरेका छन् । प्रदुषण कम भएको छ, वातावरण, आकाश, खोला, नदी सफा देखिन थालेको छ, वास्तवमै प्रकृतिले पनि शितलता महशुस गरेको छ ।
एकातर्फ यस महामारीले हाम्रो दैनिक जनजीवनमा असर गरेको छ भने अर्कोतर्फ सरकारलाई आमनागरिकको जीवन रक्षा गर्ने चुनौती थपेको छ । गरिब जनता एवम् दैनिक ज्याला मजदुरीमा काम गर्नेहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । अझ नेपाल जस्तो विकाशोन्मुख देशमा समयमै उचित स्वस्थ सेवा पुर्याउन कठिन हुन्छ । सरकारले आफ्ना नागरिकको जीवन रक्षाका लागि करोडौंको राहत सामग्री बाडेको छ, स्वास्थ सामाग्रीहरु पनि उप्लब्ध गराएको छ तर आज पनि लाखौं गरिब जनताले राहतको अभावमा भोकै रात काटिरहेका छन् र देश भरी नै हजारौं स्वास्थकर्मीहरु पर्याप्त सुरिक्षत स्वास्थ सामाग्रीको अभावमै उपचार गर्न बाध्य छन् ।
यद्दपी सरकारले जनताको सुरक्षाका लागि भन्दै चैत ११ गते देखि बैशाख १५ गते सम्मको लागि लकडाउन गरेको छ ।
यस कारण हामी हाम्रो र परिवारको सुरक्षाका लागी घर भित्रनै बसौं र अप्ठ्यारोमा परेका जनताहरुको लागि आवश्यक राहत सामग्री उपलब्ध गराएर सहयोग गरौं । जसले जति सक्छौं, जे सक्छौ सकेको सहयोग गरौं …. ।
नियमित साबुनले हात धुने गरौँ …।।