समाचार लेखेकै भरमा पत्रकार माथिको धरपकड बन्द गरः क्रान्तिकारी पत्रकार


शोभा जि.सी. –
क्रान्तिकारी पत्रकार महासंघले समाचार लेखेकै भरमा पत्रकार माथिको धरपडक बन्द गर्न माग गरेको छ ।



विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले सरकारको विरोधमा समाचार लेखेको वा कुनै पदीय दुरुपयोग सम्बन्धी समाचार लेखेको आरोपमा पत्रकारहरुमाथि भइरहेका धरपकड, भौतिक तथा मानसिक आक्रमण बन्द गर्न माग गरेको हो ।
विज्ञप्तिमा नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दयनीय बन्दै गएको उल्लेख गर्दै समाचार लेखेकै कारण तथा अभिव्यक्ति सम्प्रेषण गरेकै कारण राज्य तथा गैरराज्य पक्षबाट पत्रकारहरुमाथि भौतिक तथा मानसिक आक्रमणहरु भइरहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ – समाचार लेख्दा साइबर कानुन लगाएर पत्रकारहरुको हातमा हत्कडी भिराउने र जेल हाल्ने काम पनि भइरहेका छन् । सरकारले एकपछि अर्को प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने तथा प्रेसमाथि निरंकुशता लाद्ने प्रकृतिका विधेयक तथा ऐन कानुनहरु ल्याइरहेको छ । देवानी कानुन तथा अपराध संहिता, मिडिया काउन्सील विधेयक, सुचना तथा प्रविधि विधेयक, आमसञ्चार विधेयक तथा विज्ञापन सम्बन्धी विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार गरेको छ र नेपाली प्रेसको आलोचनात्मक चेत वा धारलाई निषेध गर्ने सर्वसत्तावादी तथा स्वेच्छाचारी प्रवृत्ति हावी भइरहेको छ । यस्ता प्रेसविरोधी विधेयक तथा ऐन कानुहरुको खारेजी वा आमूल संशोधनका निम्ति नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार महासंघ लगायत सबै सरोकारवाला संगठनहरुले विगतमा खेलेको भूमिका उल्लेखनीय भए पनि पर्याप्त देखिएन । तसर्थ त्यस्ता प्रेस विरोधी विधेयक तथा ऐन कानुन खारेजी वा आमूल संशोधनका निम्ति दबाब आन्दोलन अगाडि बढाउन हाम्रो संगठन सबै सरोकारवाला संघ संगठनहरुसित जोडदार रुपमा आव्हान गर्दछ ।
त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघ कोरोना भाइरस (कोभिड १९)को महामारीका बीच पत्रकारहरुले जोखिम मोलेर फिल्डको रिपोर्टिङ गरिराखेको उल्लेख गर्दै त्यस्ता पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण गर्न, आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन, नियमति रुपमा तलब, सुविधा उपलब्ध गराउन र पत्रकारहरुका लागि छुट्टै उपचारको विशेष कोष खडा गर्न सरकार लगायत सम्बन्धित निकायसँग माग पनि गरेको छ ।
त्यस्तै लक डाउनका कारण अधिकांश प्रिन्ट मिडिया बन्द हुँदा ती पत्रपत्रिकामा कार्यरत पत्रकारहरु खासगरी स्वरोजगार पत्रकारहरुको अवस्था दयनीय बन्न पुगेकोले स्वरोजगार पत्रकारहरु लगायत आर्थिक अवस्था कमजोर भएका सम्पूर्ण पत्रकारहरुलाई तत्काल र आवधिक राहतको व्यवस्था गर्न पनि माग गरेको छ ।
यस्तै महामारीकै बीचमा ठूला लगानीका केही कर्पोरेट मिडियाहरुले ठूलो संख्यामा पत्रकारहरुलाई बेतलवी विदामा बस्न दबाब दिएका घटनाहरु बाहिर आएको उल्लेख गर्दै कुनै पनि बहानामा स्थायी, अस्थायी तथा करारमा कार्यरत कुनै पनि पत्रकारलाई आफ्नो रोजीरोटीबाट बेदखल नगर्न चेतावनी पनि दिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ



विश्व प्रेस स्वतन्त्रता दिवस २०२० को अवसरमा सम्पूर्ण श्रमजीवी पत्रकारहरुमा हार्दिक शुभकामना !
मे ३ (वैशाख २१) गते विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेसँगै युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा क्रान्तिकारी पत्रकार महासंघ आम नेपाल तथा विश्वभरका श्रमजीवी पत्रकारहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।
स्थापना कालदेखि नै क्रान्तिकारी पत्रकार महासंघले जनपक्षीय पत्रकारिताको वकालत गर्दै आएको छ । राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाको पक्षमा पहरेदारको भूमिका निर्वाह गर्दै आएको यस महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जोडदार रुपमा आवाज उठाउँदै आएको छ र श्रमजीवी पत्रकार ऐनको कार्यान्वनमा विशेष जोड दिंदै आएको छ । यस अवसरमा हाम्रो संगठन निम्न विषयहरुको उठान गर्न आवश्यक ठान्दछ ः
१–नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दयनीय बन्दै गएको छ । समाचार लेखेकै कारण तथा अभिव्यक्ति सम्प्रेषण गरेकै कारण राज्य तथा गैरराज्य पक्षबाट पत्रकारहरुमाथि भौतिक तथा मानसिक आक्रमणहरु भइरहेका छन् । समाचार लेख्दा साइबर कानुन लगाएर पत्रकारहरुको हातमा हत्कडी भिराउने र जेल हाल्ने काम पनि भइरहेका छन् । सरकारले एकपछि अर्को प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने तथा प्रेसमाथि निरंकुशता लाद्ने प्रकृतिका विधेयक तथा ऐन कानुनहरु ल्याइरहेको छ । देवानी कानुन तथा अपराध संहिता, मिडिया काउन्सील विधेयक, सुचना तथा प्रविधि विधेयक, आमसञ्चार विधेयक तथा विज्ञापन सम्बन्धी विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार गरेको छ र नेपाली प्रेसको आलोचनात्मक चेत वा धारलाई निषेध गर्ने सर्वसत्तावादी तथा स्वेच्छाचारी प्रवृत्ति हावी भइरहेको छ । यस्ता प्रेसविरोधी विधेयक तथा ऐन कानुहरुको खारेजी वा आमूल संशोधनका निम्ति नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार महासंघ लगायत सबै सरोकारवाला संगठनहरुले विगतमा खेलेको भूमिका उल्लेखनीय भए पनि पर्याप्त देखिएन । तसर्थ त्यस्ता प्रेस विरोधी विधेयक तथा ऐन कानुन खारेजी वा आमूल संशोधनका निम्ति दबाब आन्दोलन अगाडि बढाउन हाम्रो संगठन सबै सरोकारवाला संघ संगठनहरुसित जोडदार रुपमा आव्हान गर्दछ ।
२– सरकारको विरोधमा समाचार लेखेको वा कुनै पदीय दुरुपयोग सम्बन्धी समाचार लेखेको आरोपमा पत्रकारहरुमाथि भइरहेका धरपकड, भौतिक तथा मानसिक आक्रमणको हाम्रो संगठन घोर विरोध एवम् भत्र्सना गर्दछ । र, त्यस्ता घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न पनि सरकारसँग जोडदार माग गर्दछ ।
३– यतिखेर कोरोना भाइरस (कोभिड १९)को महामारीका बीच पत्रकारहरुले जोखिम मोलेर फिल्डको रिपोर्टिङ गरिराखेका छन् । हाम्रो संगठनले त्यस्ता पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण गर्न, आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन, नियमति रुपमा तलब, सुविधा उपलब्ध गराउन र पत्रकारहरुका लागि छुट्टै उपचारको विशेष कोष खडा गर्न सरकार लगायत सम्बन्धित निकायसँग माग गर्दै आएको छ र यो माग पुनः दोहो¥याउन चाहन्छ । लक डाउनका कारण अधिकांश प्रिन्ट मिडिया बन्द हुँदा ती पत्रपत्रिकामा कार्यरत पत्रकारहरु खासगरी स्वरोजगार पत्रकारहरुको अवस्था दयनीय बन्न पुगेको छ, स्वरोजगार पत्रकारहरु लगायत आर्थिक अवस्था कमजोर भएका सम्पूर्ण पत्रकारहरुलाई तत्काल र आवधिक राहतको व्यवस्था गर्न पनि जोडदार माग गर्दछ ।
४– महामारीकै बीचमा ठूला लगानीका केही कर्पोरेट मिडियाहरुले ठूलो संख्यामा पत्रकारहरुलाई बेतलवी विदामा बस्न दबाब दिएका समाचारहरु सार्वजनिक भएको प्रति हाम्रो संगठनको गम्भिर रुपमा ध्यानाकर्षण भएको छ । कुनै पनि बहानामा स्थायी, अस्थायी तथा करारमा कार्यरत कुनै पनि पत्रकारलाई आफ्नो रोजीरोटीबाट बेदखल नगर्न हाम्रो संगठन सम्बन्धित मिडिया हाउससँग आग्रह गर्दछ । अन्यथा श्रमजीवी पत्रकाहरुको हक हित र अधिकारका निम्ति आन्दोलित हुने चेतावनी पनि दिन चाहन्छ ।
५– अन्तमा, क्रान्तिकारी पत्रकार महासंघ नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति कलम चलाउँदै गर्दा अमूल्य जीवन वलिदान गर्नुहुने महान सहिद कृष्णसेन इच्छुक लगायत तथा वेपत्ता पारिनुभएका सबै योद्धाहरूप्रति हार्दिक श्रद्धा भाव व्यक्त गर्दै प्रेस स्वतन्त्रताका पक्षमा अविराम र अविचल संघर्ष गर्नुहुने सबैप्रति उच्च सम्मान व्यक्त गर्दै प्रेस स्वतन्त्रताका पक्षधर सम्पूर्ण जनवर्गमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछ । २०७७ बैशाख २१

इन्द्र राउत
अध्यक्ष



सम्बन्धित
Loading...