कोरोना भाइरसले नेपाली कम्युनिस्ट आन्दोलनमा पारेको प्रभाव
नेपालमा ४ हजार ८५ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भइसकेको छ र ५८४ जना संक्रमण मुक्त भइसकेको भए पनि संक्रमण अझै भयावह हुन सक्ने र नेपाली जनताले ठूलो क्षति ब्यहोर्नु पर्ने संभावना बढेर गएको छ । किनभने केपी ओली नेतृत्वको सरकार दलाल सरकार भएकोले यो जनताको हित गर्ने सरकार होइन र गर्नै चाहेर पनि गर्न सक्तैन । किनभने दलाल सरकारको काम मालिकको चाकडी र दलाली गर्ने , सेवा गर्नमै ठिक्क हुन्छ र दलाल सरकार जनताको लागि रमिते सरकार हुन्छ । आज त्यही भएको छ ।
पाँच महिना पहिले चीनको वुहानबाट उत्पन्न भएर विश्वभर मानव संहारकारी महामारीका रुपमा फैलिएको विश्व मानव संहारकारी कोरोना भाइरस ( COVID – 19) ले विश्व मानव सभ्यतामाथि नै गंभीर चुनौती खडा गरेको छ ।
आजसम्म विश्वभर ७३ लाख ११ हजार ६३१ जना संक्रमित भएकोमा ४ लाख १३हजार ११ जनाको मृत्यु भइसकेको छ र ३३ लाख ३ हजार ७८५ जना संक्रमणबाट मुक्त भइसकेका छ । उपचार गराइरहेका मध्ये ५३ हजार ९१४ जनको अवस्था गंभीर छ ।

