कोरोनाको कहरः हाम्रो परीक्षण कहिले ?
नेपालमा संक्रमितको संख्या दिनानु दिन बढ्दै छ । संक्रमित बढ्दै जाँदा लकडाउन पनि खुकुलो पारिदै गएको छ ।
सरकारले लकडाउन खुकुलो पारेर सामाजिक दुरी कायम राख्न पठाएको भए पनि सामाजिक दुरी खासै कायम गरिएको देखिनै । असार मसान्त लाग्दै गर्दा असार मसान्त भित्र कर तिर्न नसके लाग्न सक्ने जरिवानाका कारण कर तिरिने कार्यालयहरुमा करदाताहरुको भिड लागेको छ ।
सडकमा त्यस्तै चलहपहल छ । बैैंक, वित्तिय संस्थादेखि पसलहरुमा पनि उत्तिकै भिड छ । ठूला तथा मुख्य बजार र सडकलाई हेर्दा सार्वजनिक यातायातका सवारी साधन नचले पनि लकडाउन खुकुलो भएको नभई लकडाउनै खुलेको हो कि भन्ने भान पर्छ । सामाजिक दुरी कायम गर्ने दायित्व हामी सबैको हो । हाम सर्वसाधारणको पनि हो ।
सरकारले अहिले क्वारेन्टाइनमा बसेकाहरुको मात्रै पिसिआर परीक्षणमा ध्यान दिएको छ । तर, पूर्ण रुपमा छैन त्यो पनि कतिपय क्वारेन्टाइनबाट आरडिटी मात्र परीक्षण गरेर घर पठाइको छ जुन विश्वासीलो छैन ।
त्यति मात्र होइन, क्वारेन्टाइन आफै संक्रमण फैलाउन थलो बन्दै गएको छ । स्वाब संकलन गर्न ढिलो हुने, संकलित स्वाबको पिसिआर रिपोर्ट आउने १० देखि १५ दिनसम्म लाग्ने, पिसिआर रिपोर्ट आउँदा संक्रमित देखिएका र नदेखिएकाहरु सँगै बस्ने गरेको भए पनि संक्रमित देखिएकालाई मात्र उपचारका लागि लैजाने तर संक्रमित सँगै बसेकालाई पुन स्वास्थ्य परीक्षण नगरी घर पठाइने, घर आइसकेपछि होम क्वारेन्टाइनमा सामाजिक दुरी कायम गरेर बस्नु पर्ने भए पनि सामाजिक दुरी कायम नगर्नुले समाजमा कोरोनाको संक्रमण फैलिएको छैन भन्न सकिदैन । यसको पुष्टि गर्न परीक्षणको दायरा समाजसम्म आइपुग्नु पर्दछ । कतिपयलाई आरडिटी मात्रै परीक्षण गरेर पठाउँदा पछि पुन स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएका उदाहरण प्रशस्त छ नेपालमा ।
सरकारको ध्यान अहिले क्वारेन्टाइनमा बस्नेको संख्या धेरै भएकोले उनीहरुलाई सक्दो छिटो पिसिआर परीक्षण गरेर घर पठाउनेमा मात्रै छ । क्वारेन्टाइनमा बस्नेको संख्या घटाउँदा राज्यको खर्च घट्ने भएकोले सरकारको ध्यान अहिले यता मात्रै केन्द्रित भएको देखिन्छ । संक्रमण समाजमा फैलिए के होला स्थिति ? भन्नेमा सोचेको छैन ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई संक्रमण देखिएको उदाहरण प्रसस्त छ नेपालमा । उनीहरु विदेशबाट आएर संक्रमित भएका होइनन् । उनीहरु नेपालमै हुँदा संक्रमितको सम्पर्कमा आएर संक्रमित भएका हुन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी धेरैको सम्पर्कमा आउने अंग हो । ति बाट कतिमा संक्रमण फैलियो कुनै परीक्षण र लेखाजोखा छैन ।

शुरु शुरुका दिनमा संक्रमित भेटिएसँगै उनको कन्ट्याक्ट ट्रेसिङ, लामो ट्राभल हिस्ट्री खोज्ने गरिन्थयो र सबैलाई परीक्षणको दायरामा ल्याइने गरिएको थियो तर, अहिले कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री छोटो लिने गरिएको छ । पूरा विवरण लिने गरिएको छैन । आत्महत्या गरिएकाहरुमा संक्रमित देखिनु, मरिसके पछि पिसिआर परीक्षणको मौका पाउनु नेपालीको दुर्भाग्य हो ।
सरकारले पिसिआर परीक्षणको दायरा बढाउने कुरा गरे पनि प्रयाप्त मात्रामा बढाएको छैन जसले गर्दा सरकारले क्वारेन्टाइनमा बस्नेको स्वाब संकलन र पिसिआर परीक्षण भन्दा बाहिर ध्यान दिन सकेको छैन । किन कि अहिले नेपालमा भएको क्षमताले क्वारेन्टाइनमा बस्नेको पिसिआर परीक्षण गर्न धौधौ परेको छ । यो अवस्थामा आम सर्वसाधारणले चाहेर पनि पिसिआर परीक्षण गर्न पाउने अवस्था छैन ।
आम सर्वसाधारणले पिसिआर परीक्षण गर्न स्थानीय तहको स्वीकृति चाहिन्छ अर्थात स्थानीय तहले उसको स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्न आवश्यक ठानेको खण्डमा मात्रै पिसिआर परीक्षण गर्न प्रक्रिया थाल्छ । यस्तो अवस्थामा आमसर्वसाधारण अर्थात हाम्रो पालो कहिले आउँछ ? अनुत्तरित प्रश्न छ । ३ करोड बढी जनसंख्या रहेको नेपालमा अहिलेसम्म बल्ल १ लाख बढीको पिसिआर परीक्षण भएको छ । यो गतिमा आम नेपालीको अर्थात ति ३ करोड नेपालीको पिसिआर परीक्षणको पालो कहिले पाउने एउटा कोराकल्पना जस्तै हो ।
काठमाडौंकै उदाहरण हेर्ने हो भने पनि पिसिआर परीक्षणका लागि आएकाहरुलाई फर्काएका घटनाहरु बाहिर आएका छन् । कतै स्वाब संकलनका लागि किट भिटिएम नहुनु, संकलन गरिसकेपछि परीक्षणको पालो नआउँदासम्म त्यसलाई सुरक्षित रुपमा भण्डार गर्ने स्थान अभाव हुनु, संकलित स्वाब सबैका परीक्षण तुरुन्त गर्न नसक्नु सरकारको स्वास्थ्य प्रतिको चरम लापरवाही हो ।
आफूलाई इतिहासकै बलियो सरकार मान्ने सरकार कोरोना सामु घुडा टेकिसकेको छ । सरकारले परीक्षणको दायरा बढाउन नसक्दाको परीणाम नै आजको परिस्थिति हो । क्वारेन्टाइनमा बसेकाहरुलाई स्वाब संकलनको समय (क्वारेन्टाइनमा बसेको एक साता पुरा) भएपछि स्वाब संकलन गरेर त्यसको २४ घण्टामा पिसिआर रिपोर्ट दिन सकेको भए क्वारेन्टाइनमा बस्नेको संख्या पनि ह्वात्तै घट्ने थियो ।
यो स्वास्थ्य महासंकटको समयमा स्वास्थ्य सामग्री नै ल्याउने विषयलाई लिएर कमाउने मौका यही हो भनेर कमाउनमै ध्यान दिने सरकारले जनताको स्वास्थ्य प्रति चाँसो दिएको छ भन्नु बेकार हुने छ ।
कोरोनाको कहर सजिलै र छिट्टै अन्त्य हुने देखिनैन । खोप बनेर नेपाल जस्तो विकास अन्मुख देशको पहुचमा आउन अझ समय लाग्छ । त्यसैले नेपालसरकारसँग यसको विकल्प भनेको संक्रमण फैलन नदिनु नै हो । जसका लागि पिसिआर परीक्षणको दायरा बढाउने, विदेश अर्थात खास गरी भारतबाट आउन चाहाने नेपालीहरुलाई निश्चित समय सिमा तोकेर नेपाल भित्र्याइहाल्ने, क्वारेन्टाइनलाई वेवस्थित गर्ने, आइसोलेशनको संख्या प्रयाप्त बढाउने नै हो । सरकारले यसमा योजना बनाएर कदम चाल्ने हो भने नेपाललाई बढीमा ३ महिनामा कोरोनामुक्त गराउन सकिन्छ । अझै पनि बेला छ समयमै सरकारको यसतर्फ ध्यान जाहोस् । आम नेपालीले पनि सामाजिक दुरी कायम गरेर कोरोना विरुद्धको लडाइमा सरकारलाई साथ दिऔं । कोरोना मुक्त नेपाल अभियानमा सघाऔं ।
- लेखक पत्रकार हुन्।
