लकडाउनका कारण रोजगारी गुमाएका पत्रकारको पुनःबहाली गर्न पत्रकार संगठनहरुको माग
काठमाडौं । पत्रकारहरुको विभिन्न पेशागत १० वटा संगठनहरुले कोभिड १९ कोरोना भाइरसको कारण रोजगारी गुमाएका पत्रकारहरुको पुनबहाली गर्न माग गरेको छ ।
आइतबार प्रेस संगठन नेपाल, प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ लगायतका १० वटा पेशागत संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
विज्ञप्तिमा कोभिड–१९ (कोरोना भाइरस)को कारण देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकार÷सञ्चारकर्मीहरुलाई पेशाबाटै निष्काशन गर्ने, बेतलवी विदा बस्न दवाव दिने, राजिनामा दिन बाध्य पार्नेलगायतका कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
पछिल्लो समयमा श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले अल्टिमेटमसहित सञ्चार गृहहरुमा पत्रचार गर्ने तथा सरोकारवाला संगठनहरुसँग बृहत छलफल गरी दवावमुलक कार्यक्रममार्फत् श्रमजीवीको पेशागत सुरक्षाका लागि गरिरहेको पहल गर्नु सकारात्मक भएको उल्लेख गर्दै महासंघकै नेतृत्वमा थप दबाबमूलक कार्यक्रमको घोषणा गरी श्रमजीवी पत्रकार साथीहरुको पेशागत सुरक्षाको सुनिश्चिताका लागि ठोस पहल गर्न सहयोग पुग्ने ठहर गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै विभिन्न बहानामा निष्काशन, राजिनामाको दवाव र काम गरेको पुरा तलव नदिने मिडिया व्यवस्थापकहरुको रवैया हामीलाई कुनै हालतमा स्वीकार्य नहुने भन्दै दर्जनभन्दा बढी मिडिया हाउसमा श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकहरुले श्रमजीवी पत्रकार ऐन विपरीतका कदमहरु तत्काल बन्द गर्न सहजतापूर्वक श्रमजीवीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न पनि जोडदार माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ – नेपाल सरकार सञ्चार मन्त्रालयलगायत सबै सम्बन्धित निकायहरुलाई कानुनसम्मत ढंगले समस्याको समाधानका लागि पहल गर्न हार्दिक आग्रह समेत गर्दछौं ।
त्यसैगरी महामारीका कारण बन्द हुन पुगेका साना तथा स्वरोजगारमुखी मिडिया तथा रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारहरुको लागि ‘विशेष आवधिक राहत प्याकेज’को व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।