जातीय सवालमा बौद्धिक बिमर्शको खांचो


राष्ट्रिय झण्डा जलाउने एक पक्राउ



प्रेमध्वज गाहा –

भाद्र महिनाको पहिलो दिनमै युट्युबमा सार्बजनिक भएको एउटा गीतले यतिखेर सामाजिक संजालहरुमा जबर्जस्त रुपमा जातीय बहस सिर्जना गरिदिएको छ । ‘र्‍यापर रोजित तामाङ उर्फ मंगोल ग्याल्ज ली’ को उक्त गीतलाई लिएर औषतभन्दा पनि कमसल अथवा गाली गलौजकै शैलीमा पक्ष र बिपक्षमा बहस त भएकै छन । यसलाई नकारात्मकता मान्ने हो भने सकारात्मकता चाहिँ यो हो कि – अब बृहत् तथा राष्ट्रिय रुपमा नै जातीय विमर्श गर्न ढिलो गर्नै हुंदैन भन्ने सन्देश । जातीय सद्भावलाई उच्च प्राथमिकतामा राखेर जातीय सवालमा विमर्श गर्नैपर्ने आबश्यकता बेला बेला टड्कारो रुपमा देखिन्छ । किन यस्तो हुन्छ र समाधान के हो ? भन्नेतर्फ नलागी राज्यसत्ता चाहिँ यसलाई जातीय उच्छृङ्खलताको रुपमा मात्र बुझ्दै गल्ती माथी गल्ती दोहोर्‍याउंदै आएको छ । जातीय मुद्दालाई सहि तरिकाले समयमै सम्बोधन नगर्नाको कारण , नेपाली समाज नै बिघटन उन्मुख त छैन? सामाजिक संजालमा देखिने गरेका निकृष्ट जातीय अभिव्यक्तिहरुले त्यतैतर्फ संकेत गरेको छ ।




जातीय विभेद छ र ?

‘ग्याल्ज ली’ को गीत बिबादित बन्नुको प्रमुख कारण गीतको दृश्यमा नेपालको राष्ट्रिय झण्डा जलाउनु नै हो । त्यसका अलावा उसले गीतमा जातीय आक्षेप लाग्ने शब्दहरु समेत प्रयोग गरेका छन । संविधान र कानुनको दृष्टिमा उनी दोषी देखिन्छन । मुलुकी अपराध संहिता २०७४ को दफा १५१ (१) अनुसार उनलाई तीन बर्षसम्म कैद वा तीस हजार रुपैयाँ जरिवाना वा दुबै संजाय हुन सक्छ । तर बहसलाई यतिमै सीमित राख्नु अथवा बिषयलाई यतिसम्म मात्र बुझ्नु चाहिँ संकुचित मानसिकताको उपज हुन सक्छ । अथवा यो बिषयलाई बृहत् रुपमा बुझ्न नसक्नु वा नचाहनु बौद्धिक अल्पताको पराकाष्ठा हो भनिदिंदा गलत नहोला । जे जे भनेपनि एउटा कुरा एकदम दाबिका साथ के भन्न सकिन्छ भने , यो गीत राज्यसत्ताले लामो समयदेखि आदिवासी जनजाति , दलित , अल्पसंख्यकहरु माथी अंगीकार गरेको बिभेदको नीति प्रतिको असन्तुष्टि नै हो । यहि असन्तुष्टिका कारण बहुदलीय प्रणाली स्थापना हुनु अघि नेपालमा धेरै जातीय संघ संस्था खुलेका थिए । त्यस्तै २०४६ को जनआन्दोलन पश्चात् जातीय मुद्दालाई लिएर राजनीतिक पार्टी समेत स्थापित भए । २०५२ देखि त यहि असन्तुष्टिलाई उपयोग गरेर १० बर्षसम्म लामो हिंसाको शृङ्खला समेत चल्यो । कतिपय हिंस्रक त कतिपय शान्तिपुर्ण आन्दोलनका मुद्दालाई सम्बोधन गर्न नेपालमा धार्मिक निरपेक्षता,प्रादेशिक संरचना ,समाबेशी तथा समानुपातिक प्रतिनिधित्वको सिद्धान्त आदि संबैधानिक रुपमा ब्यवस्था गरिएका छन । ती मध्ये केही कागजमै सीमित छन भने केही जनभावना र मर्म अनुसार नभए पनि ब्यबहारमा अभ्यास समेत हुँदै आएका छ्न । एकातर्फ ग्राउन्ड रियालिटी यस्तो छ भने अर्कोतर्फ नेपालमा जातीय समस्या नै छैन भन्ने तप्का पनि छन । उनिहरु यस्ता छन कि लिंगिय विभेद र क्षेत्रीय उत्पीडन छ भन्ने मान्छन तर जातीय समस्या छ भन्ने कुरा चाहिँ कदापि स्वीकार गर्न चाहंदैनन । तर यथार्थ चाहिँ नेपालमा अन्य बिभेदका अलावा जातीय विभेद पनि छ र त्यसको समयमै निदान र उपचार हुनुपर्छ भन्ने नै हो ।

अराजकता हो या असन्तुष्टिको बिष्फोटन ?

राज्यसत्ताप्रति उत्पीडितहरुको असन्तुष्टि बेला बेलामा पोखिने गरेका छन । त्यसैको श्रृङ्खलाको रुपमा यो प्रकरणलाई बुझिदिने हो भने यो अराजकता कम र असन्तुष्टिको बिष्फोटन धेरै हो । नत्र संबैधानिक रुपमा राष्ट्रिय एकताको प्रतीक मानिएको झण्डा नै जलाईदिने आंट र हिम्मत कसरी आउँछ कसैलाई? समृद्धिको राजमार्गमा पुरै देशलाई डोर्‍याउन लागिपरेको सरकार प्रमुख र अन्य मुख्य नेताहरुको फोटो जलाउने दुस्साहस किन गरिन्छ? वा संविधान र कानुनको दृष्टिमा अपराध हो भन्ने जान्दा जान्दै कुनैपनी हद पार किन हुन्छ?यो प्रकरणलाई राज्य जुन रुपमा दमनमा उत्रिन्छ जनता त्यही रुपमा प्रस्तुत हुन्छ भन्ने बुझ्न सकिँदैन ? यी सबै शान्तिपुर्ण तरिकाले गरिएका आन्दोलनहरुलाई अदेखा गर्नुको कारण उब्जिएका समस्या हुन । नेपालमा संविधान र कानुनको परिधिभित्र रहेर शान्तिपुर्ण आन्दोलन पनि त भएका थिए, तिनिहरुसंग राज्यले सम्झौता गर्ने अनि सम्झौताको पालना किन नगरेको? कम्तिमा सहि माग छ भने सम्बोधन गर्ने गलत छ भने यो कारणले गलत छ मात्र भन्दिएको भए पनि देशमा एक खालको बिमर्श सुरु हुन्थ्यो । अथवा राज्यले स्वरुप फेरि फेरि बिभेदको परम्परालाई कायम नगरिदिएको भए पनि यस्ता बिष्फोटनहरु हुने थिएनन । गीतको भिडियोको सुरुमै मंगोल नेशनल अर्गनाइजेसनका संस्थापक गोपाल गुरुङको साम्प्रदायिक भाषण राखिएको छ । त्यस्तै , गायकले गुरुङको फोटो अंकित लकेट सहितको माला भिर्नु , गायकले आफ्नो नाम र टिमको नाममा मंगोल शब्द राख्नुले प्रष्ट हुन्छ कि उनी मंगोल अभियानसंग जोडिएका छन । यसैको आधारमा गायक ग्याल्ज ली साम्प्रदायिक , जातिबादी, बिखण्डनकारी देखिएका छन राज्यको नजरमा । स्मरण रहोस मंगोल नेशनल अर्गनाइजेसन अति जातिबादी भएको भन्दै स्थापनाकालको लामो समयसम्म निर्वाचन आयोगले मान्यता दिएको थिएन, एक हिसाबले प्रतिबन्ध नै थियो । उनिहरुकै भाषामा भन्दा मंगोल दर्शनले ओतप्रोत भै गायकले जुन गीत गाए, जस्तो भिडियो राखे कानुनको नजरमा त्यो साम्प्रदायिकता होला अथवा देशद्रोह नै होला । तर यो भन्दा ठूलो देशद्रोह त नेपालमा भै राखेका छन त त्यता पट्टि चै हाम्रो दृष्टि कहिले पुग्ने? यहांनिर झण्डा जलाउने धेरै देशद्रोही छ कि कोरोना महामारिका बेला पनि भ्रष्टाचारमा लिप्त यहांका राजनेता देशद्रोही भन्ने प्रश्न उठ्ला । त्यस्तै न्वारानदेखिको बल लगाएर एमसीसी पारित गराउन खोज्ने, ब्यक्तिगत स्वार्थका लागि बिदेशी खुफिया एजेन्सीहरुलाई गोप्य सुचना दिने , झण्डा र देशको नक्सा बनाएर केक काट्नेहरु चाहिँ कत्तिको देशभक्त ? प्रश्नै उठाउने भए यस्ता धेरै हुन सक्छन ।

देशी बिदेसी कि नेपाली स्वयम् जिम्मेवार?

नेपालमा एक खालको चिन्तन के छ भने, झण्डा समाबेशी चरित्रको भएन भन्यो भने सिधै कृश्चियानिटिको आरोप लाग्छ । हिन्दुत्वमा भएका केही कमजोरी औंल्याइदियो भने कृश्चियानिटिको आरोप, जातीय अधिकार, समाबेशी समानताको कुरा गर्‍यो भने पनि सिधै कृश्चियानिटिको आरोप । ग्याल्ज ली र उनी सम्बद्ध मंगोल नेशनल अर्गनाइजेसनको कृश्चियानिटिसंग सम्बन्ध होला नहोला त्यो छुट्टै बहसको बिषय हो । तर सवाल के हो भने हरेक सन्दर्भमा आदिवासी जनजाति र दलित अभियानमाथि सधैं कृश्चियानिटीबाट प्रभावित , डलर खाएर बोलेको बोली भनेर लाग्ने आरोपलाई कसरी बुझ्ने? नेपालको जेन्युन इस्यु बोल्दा पनि बिना तथ्य बिदेशी धर्मबाट प्रभावित , डलरबादी , बिखण्डनकारी, साम्प्रदायिक भनेर आरोप लगाउनुको पछाडि के कारण छ? के नेपाली हिन्दुत्व र हिन्दुबादी राज्यसत्ता रक्षात्मक अबस्थामा पुगेको हो? कि बिषयान्तर गर्ने राम्रो बहाना हो? नेपाली हिन्दुत्व रक्षात्मक अवस्थामा पुगेकै हो भने पनि यसमा जिम्मेवार को हो ? हिन्दु धर्ममा भएको बर्णभेदी नीति, राज्यसत्ता हांक्ने सत्ताधारी, नेपालको गरिबी अशिक्षा, अब्यवस्था या देशी बिदेशी तत्व ? को चाहिं बढी जिम्मेवार होला त ? पक्कै पनि सबभन्दा बढी जिम्मेवार भनेको सदियौंदेखी राज्यसत्तामा राँइदाँई गरेर बसेका सत्ताधारी नै बढी जिम्मेवार छन । जनताको एकदमै आधारभुत आबश्यकताहरुका बारेमा पनि सोंच्न नसक्ने सत्ताधारीहरु समस्या एकातिर छ समाधान अर्कोतिर खोजिरहेका छन । धुलो आफ्नो अनुहारमा छ अनि पटक पटक ऐना पुछिरहेका छन । के कृश्चियानिटिलाई प्रबर्द्धन गर्नेमा ठुला ठुला नेता, ब्राह्मण क्षेत्री समुदायका ब्यक्तिहरु छैनन ? दोष चाहिँ दलित आदिवासी जनजातिलाई मात्र किन? कृश्चियानिटी बढ्नुमा प्रलोभन कारण हो भने यहांका जनतालाई रोग भोक र शोकको अवस्थामा राखिराख्ने, त्यसैको फाइदा लिएर फाइदा लुट्न चाहने ( सत्ताको भाषामा), साम्प्रदायिकता फैलाउने ( सत्ताको भाषामा) एनजीओ / आइएनजीओलाई प्रवेश दिने र आफ्ना कार्यकर्ता पोश्ने त्यति मात्र नभएर उनिहरुबाटै प्राप्त द्रब्यले पार्टी चलाउने के यिनै सत्ताधारीहरु होइनन र? पछिल्लो होलि वाइनको प्रकरण के हो? यसबाट कम्तिमा पनि के बुझ्न सकिन्छ भने हिन्दु मात्र नभएर बौद्ध धर्मलाई समेत प्रभाव पार्नेगरी इसाइकरण बढ्नुमा खान लाउन नपाएका रोगी अशिक्षित र निरीह जनताको कुनै हात छैन । देशी बिदेशी तत्व भनेर जुन धारे हात लगाइन्छ त्यो पनि तार्किक लाग्दैन । किनभने आफ्नो थैलिको मुख बन्द गर्नु अरुलाई चोर दोष नलाउनु भन्ने त नेपाली उखानै छ नि । राज्यलाई लोककल्याणकारी बनाउने एक खालको इमान्दारिता र इच्छाशक्ति सत्ता संचालखरुमा भए त अरुलाई धारे हात लाउनै पर्दैन नि । भलै ग्याल्ज ली ले आफ्नो गीतको भिडियोमा बौद्ध धर्मलाई प्रबर्द्धन गरेका छन । तर कृश्चियानिटिको आरोप लगाएर कमेन्ट गर्ने प्रशस्तै छन ।

https://www.youtube.com/watch?v=OnUlVeLm98w&t=5s

शान्तिपुर्ण बाटो पनि छ ।

हुन त रोजित तामाङ उर्फ मंगोल ग्याल्ज ली ले आफ्नो आवद्धता मंगोल नेशनल अर्गनाइजेसनसंग मात्र होइन कुनै पनि दलसंग छैन भनेर फेसबुक लाइभ मार्फत प्रष्ट पारेका छन । उता मंगोल नेशनल अर्गनाइजेसन मकवानपुर जिल्ला सभाले पनि बुधबार बाग्मती प्रदेशलाइ पत्र लेखेर उनको पार्टीमा आवद्धता टुटेको जानकारी दिएको छ । तर भिडियोको सुरुमा गोपाल गुरुङको भाषण राख्नु , गुरुङको तस्वीर अंकित लकेट सहितको माला लगाउनु र गीतमा साम्प्रदायिक लाग्ने शब्दहरु राख्नुले उनी मंगोल स्कुलिङबाट दिक्षित हुन भन्ने प्रष्टै हुन्छ । मंगोल नेशनल अर्गनाइजेसनको कुरा गर्ने हो भने यो सुरुबाटै एक्स्ट्रीमिस्ट बिचारधारा बोकेको पार्टी हो । यहि कारणले स्थापनाको लामो समयसम्म निर्वाचन आयोगबाट मान्यता नपाएको र प्रतिबन्ध समेत खेप्नुपरेको माथी नै उल्लेख गरियो । नेपालमा बहुदलीय प्रणाली पुनर्स्थापना पछि आदिवासी जनजातिको मुद्दा बोक्ने एमएनओ सहित अन्य धेरै दल खुलेका थिए । ती मध्ये केही हालसम्म पनि शान्तिपुर्ण तरिकाले राजनीतिक अभ्यास गर्दै आइरहेका छन । पछिल्लो समयमा त ठुला भनिने दलहरुमा आबद्ध जनजाति नेताहरु नै यस्ता पार्टी खोल्न तर्फ लागे । यहाँ भन्न खोजेको के हो भने एमएनओको आफ्नो बिधान तथा कार्यनीतिमा त्यो छ वा छैन तर यसको दर्शनबाट उत्पादित नेता कार्यकर्ता भने अलिक अतिबादी नै लाग्छन । उनिहरु ब्राह्मण क्षेत्रीलाई नेपालबाट खेदाउने कुरा गर्छन । हामी मुलबासी हौं र उनिहरु सरणार्थी हुन भन्छन । यति त यहाँ लेख्न सकिने कुरा भए । अरु पनि एकदमै यस्ता शब्द उनिहरु प्रयोग गर्छन कि जुन सामान्य मानव मष्तिष्कले पचाउनै गार्हो हुन्छ । नेपालमा जो मुलबासी या जो आगन्तुक भएता पनि नेपाली समाजले सयौं बर्षको इतिहास पार गरिसकेको छ । बहुराष्ट्रिय चरित्र नेपाली समाजको चरित्र हो । एमएनओले भने जस्तो हुन र गर्न पटक्कै सम्भावना छैन र यो बिचार भनेको प्राचीन बिचार पनि हो । यो भनेको मानव समाज फेरि एकपटक बर्बर युगतर्फ प्रवेश गर्नु हो । परिस्थिति त यस्तो भै सक्यो कि सबै समुदायका मानिसहरू अन्तर्घुलित भै सके । बांच र बांच्न देउ आदिवासीको सैद्धान्तिक चरित्र हो । कसैलाई निषेध गर्ने होइन । राज्यको चरित्रमा समाबेशी चरित्र छैन ,यो यथार्थ हो । तर राज्यमा आफ्नो हिस्सा खोज्दै गर्दा अरुको खोस्नेतर्फ बल गरियो भने बर्तमान सत्ता सञ्चालक भन्दा हामी कुन मानेमा फरक हुन्छौं त? एमएनओको यस्तै चरित्र रहिरहने हो भने यसले आदिवासी जनजाति आन्दोलनलाई समेत धरापमा पार्न सक्ने खतरा देखिन्छ । त्यसैले शान्ती,सद्भाव ,भ्रातृत्व , कायम गर्दै समृद्ध नेपाल निर्माण आजको मुख्य अभिभारा हो । त्यसका निम्ति संविधान र कानुनको परिधिमा रहेर गरिने शान्तिपुर्ण राजनैतिक अभ्यास नै उत्तम मार्ग हो ।

नेपाल बहुजातीय देश हो , यो संबिधानले स्वीकार गरेको यथार्थ हो । ऐतिहासिक केही चलाखी र धुर्त्याइका कारण वा परिस्थितिवश केही जातिका र त्यसभित्रका केही समूह संधै राज्यको मुल प्रबाहमा रहि आए । परिस्थितिवश या नियतवश उनिहरु सम्मीलित राज्यसत्ताले अन्य समुदायलाई मुल प्रबाहबाट टाढा राखि राखे । यहीँबाट बल्झेको घाउ हाल आएर क्यान्सर बन्ने तरखरमा छ । त्यसकै उदाहरण स्वरुप ग्याल्ज ली को झण्डा जलाउने गीत आएको हो ।

राज्यको आदिवासी जनजाति ,दलित , अल्पसंख्यकहरुको समस्या र मागलाई अनदेखा गर्ने चरित्र र ग्याल्ज ली हरुको अराजक शैली दुबै नेपालको लागि हानिकारक छ । रोजित तामाङ उर्फ मंगोल ग्याल्ज ली कानुनको नजरमा दोषी छन र उनी पक्राउ समेत परिसकेका छन । तर यो नै सम्पूर्ण समाधान होइन । राज्य संचालकहरुले अब के बुझ्नुपर्छ भने नेपालमा बल्झिएको जातीय समस्या हल गर्न सौहार्दपुर्ण बाताबरणमा शान्त र शिष्ट भाषामा जातीय बौद्धिक बिमर्श गर्नुको बिकल्प छैन । अब पनि साम्प्रदायिक झगडा मात्र गरिरहने हो भने नेपाली समाज नै विघटन हुन पनि के बेर?

[email protected], लेखक जातीय सवालमा कलम चलाउने पत्रकार हुन ।

https://www.youtube.com/watch?v=BwYQKjzFUvY

 



सम्बन्धित
Loading...