नवलपुरमा बालबालिकालाई विद्यालयमा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु, ४५ हजार बालबालिकालाई लगाइने

नवलपुर । पूर्वी नवलपरासीमा १२ बर्ष पुरा भई १८ बर्ष नपुगेका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।
यहाँका बालबालिकालाई विद्यालयमै गएर खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

नवलपुरमा ४५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको उनले बताए । नवलपुरमा बालबालिकालाई मोडना खोप लगाइएको छ ।
नवलपुरमा साढे ४५ हजार डोज खोप प्राप्त भएको र पहिलो डोज खोप लगाएको १ महिना भित्रै अर्को डोज खोप लगाउने तयारी गरिएको उनले बताए ।
नवलपुरमा पुस ४ गतेबाट कावासोती नगरपालिका, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकाले बालबालिकालाई विद्यालयमै गएर खोप लगाउन शुरु गरेको नवलपुरका स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले बताए ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाले आजबाट बालबालिकालाई विद्यालयमै गएर खोप लगाउन शुरु गरेको उनले बताए ।
त्यसैगरी गैडाकोट नगरपालिका, बौदीकाली गाउँपालिका र बुलिङ्गटार गाउँपालिकाले पनि केही दिनमै खोप लगाउने गरी तयारी गरेको उनले बताए ।

१२ बर्ष पुरा गरी १८ बर्ष नपुगेका एउटै विद्यालयमा २ सयण् बढी विद्यार्थीहरु रहेको विद्यालयमा सोही विद्यालयमा गएर र संख्या कम भएको विद्यालयको हकमा नजिकैको विद्यालयमा खोप लगाउने उनले बताए ।
नवलपुरमा मंगलबारसँग ५ हजार बढी बालबालिकाले खोप लगाइसकेको उनले बताए ।
