नवलपुरमा आजदेखि स्मार्ट लकडाउन, माक्स र खोपकार्ड अनिवार्य, भिडभाड गर्न प्रतिबन्ध 




नवलपुरमा आजराति देखि स्मार्ट लकडाउन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले मंगलबार आदेश जारी गरी जिल्ला भित्र अर्को आदेश नहुन्जेल सम्मका लागि स्मार्ट लकडाउन गरेको हो ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लामा अब कुनै पनि प्रकारको भिडभाड गर्न प्रतिबन्ध लगाइएको र घर बाहिर निस्कदा अनिवार्य माक्स र सार्वजनिक स्थानहरुमा खोपकार्ड लिएर हिड्न वा खोप कार्ड मोबाइलमा खिचेर हिड्न अनिवार्य गरिएको बताए ।




त्यसैगरी नवलपुरमा १५ माघसम्म विद्यालय, शैक्षिक संस्था बन्द गरिएको छ । त्यसैगरी भिडभाड हुने क्षेत्र, सिनेमाहल, डान्सबार, पार्टीप्यालेस, जिमहल आदि १५ गतेसम्म नखोल्न आदेश गरिएको छ ।

बसमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न, बस वा अन्य सवारी साधनमा यात्रा गर्दा माक्स र खोप कार्ड अनिवार्य गरिएको जनाइएको छ ।

नवलपुरमा पनि कोभिड १९ का सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको हो । नवलपुरमा अहिले २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशको पूर्ण विवरण


सम्बन्धित
Loading...