क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ, के हो क्रिप्टोकरेन्सी ?
क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा काठमाडौँले उनीहरुलाई काठमाडौँ मिनभवनबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्बत जिल्ला फलेबास ११ कर्नास घरभई हाल पोखरा बस्ने २१ बर्षका राजन भट्टराई, सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ४ ईटहरी बस्ने २५ बर्षका बिशाल श्रेष्ठ र काठमाण्डौ महानगरपालिका ११ थापाथली बस्ने २७ बर्षका दिपेराज श्रेष्ठ रहेको महाशाखाले जनाएको छ ।
उनीहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरी बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको हो ।
पक्राउ परेका राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिहरूसँग एक हजार ९२६ पटक कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनले मंसिरदेखि पुससम्म २६ लाख रुपैयाँ बराबरको कारोबार गरेको र अन्य दुई जना पनि कारोबारमा संलग्न देखिएको महाशाखाले जनाएको छ।
साथै नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गराउने कार्य नेपालको कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
क्रिप्टोकरेन्सी के हो र यसले कसरी काम गर्छ ?
छिल्लो समयमा हामीले क्रिप्टोकरेन्सीको विषयमा धेरै सुन्दै आएका छौं । बिटक्वाइन, ब्लकचेन, डजक्वाइन, इथेरियम, एनएफटी लगायतका शब्दहरु हामीले धेरै नै सुनिरहेका छौं । तर के तपाईंलाई थाहा छ, यी सबै भनेको के हो र यसले कसरी काम गर्छ ? विश्वका ठूला अर्थ बजारमा यसको ब्यापक प्रचलन रहे पनि विश्वका अधिकांश सरकारले भने यसलाई मान्यता दिएको छैन । नेपालमा पनि यसको कारोबार अवैध मानिन्छ ।
के हो क्रिप्टोकरेन्सी ?
मानव सभ्यताको विकास हुँदै गर्दा समान विनिमयका लागि पैसा थिएन, अर्थात मुदा बनेको थिएन । त्यतिखेर मानिसहरू सामानहरु आदानप्रदान गर्थे । तर यो किसिमको विनिमयले मानिस सन्तुष्ट नभएपछि मुद्राको प्रयोग सुरु भयो । सुरुका दिनमा उनीहरूले सुन चाँदी लगायतका बहुमूल्य धातुका सिक्काहरु बनाएर त्यसलाई आफूलाई चाहिएको सामान खरिद गर्नको लागि प्रयोगमा ल्याए ।
एउटा प्रणालीमा सदैव हुने विश्वासका कारण सरकारले पैसामा नियन्त्रण गर्न थाल्यो । साथै धातुका सिक्काहरुको ठाउँमा कागजको पैसा प्रयोगमा आयो । हेर्दा धातुको सिक्का जति कागजका पैसा मूल्यवान नभए पनि सरकारले सुरू गरेको प्रणालीमा यसलाई मान्यता दिइयो, जसले गर्दा धातुका सिक्काभन्दा कागजका पैसा मूल्यवान भए ।
यसको अर्थ कागजी पैसा भनेको एउटा प्रमाण हो, जसलाई सरकारले मान्यता दिएको छ, तपाईंसँग सम्पत्ति छ भनेर । तर समय बित्दै जाँदा विकास भएको समाजले आफ्नो अनुकूल नीति नियमहरु बनाउने क्रममा पछिल्लो समयमा मानिसहरु सामान खरिद गर्न पैसाको प्रयोगभन्दा पनि क्रेडिट कार्ड, डेबिट कार्डहरु प्रयोग गर्न थाले ।
हाम्रो पैसा डिजिटमा मात्र सीमित हुँदैछ । यदि तपाईंले केही समान किन्नुभयो भने तपाईंको बैंक खातामा भएको डिजिट कम हुन्छ र जसलाई तिर्नुभएको हो, उसकोमा डिजिट थप हुन्छ ।
यसरी विभिन्न चरणहरु पार गर्दै आउँदा मानव सभ्यता आफ्नो अनुकूलताको खोजीमा आज क्रिप्टोकरेन्सीको प्रयोगमा पुगेको छ । विनिमयको क्षेत्रमा क्रिप्टोकरेन्सीलाई आजभोलि मान्छेहरुले सबैभन्दा सहज माध्यमको रुपमा लिन थालेका छन् । क्रिप्टोकरेन्सी विनिमयको एउटा भर्चुअल माध्यम हो । झन् बिटक्वाइनको लोगो त ठ्याक्कै सिक्काको जस्तो बाइएको छ ।
तर क्रिप्टकरेन्सीमा न त कुनै धातुका सिक्का हुन्छन् न नै कागजको पैसा । यसले तपाईंको डिजिटल सम्पत्ती विनिमय गर्छ । यद्यपि यसको मूल अवधारणा भने एउटै हो । जसरी बैंकको एउटा खाताबाट अर्को खातामा पैसा पठाउने र पाउनेको अंकमा मात्र घटबढ हुने गर्छ, क्रिप्टोकरेन्सीमा पनि त्यसरी ने काम हुन्छ ।
फरक मात्र यत्ति हो कि, बैंकिङ कारोबारमा विभिन्न बैंकहरुका आ-आफ्ना छुट्टाछुट्टै हिसाबकिताबका रेकर्ड हुने गर्नछन् भने क्रिप्टोकरेन्सीमा हरेक कारोबारको एउटै ठूलो रेकर्ड हुन्छ, जसलाई लेजर भनिन्छ ।
क्रिप्टोकरेन्सी किन ?
पछिल्लो समयमा विश्वभरी नै मान्छेहरु क्रिप्टोकरेन्सीको पछाडि लागिरहेका छन् । वास्तवमा भन्नुपर्दा अन्य कारोबारका प्रणालीभन्दा भर्चुअल कारोबारका छुट्टै फाइदा पनि छन् । यसको पहिलो फाइदा भनेको क्रिप्टोकरेन्सीले कारोबार प्रणालीलाई विकेन्द्रीकरण गरेको छ । क्रिप्टोकरेन्सीमा भएका प्रत्येक कारोबारको रेकर्ड एउटै ठूलो लेजरमा राखिएको हुन्छ, जसका थुप्रै प्रतिलिपिहरु पनि छन् ।
उक्त क्रिप्टोकरेन्सीको नेटवर्कमा जोडिएका प्रत्येक व्यक्तिसँग सो लेजर उपलब्ध हुन्छ । साथै कोही एक व्यक्तिले गरेको कारोबारको रेकर्ड सबै लेजरहरुमा जाने हुँदा कसैले यसको गलत प्रयोग गरेको सजिलै थाहा पाउन सकिन्छ ।
तपाईंले पक्कै क्रिप्टोकरेन्सी माइनिङ वा बिटक्वाइन माइनिङको बारेमा सुन्नुभएको होला । शक्तिशाली कम्प्युटरको प्रयोग गरेर जटिल समस्या हल गरेपछि मात्र बिटक्वाइन निकाल्न सकिन्छ, जसलाई आफ्नो कब्जामा ल्याई एउटा बिटक्वाइन वालेटमा राख्न सकिन्छ, जुन प्रक्रियालाई माइनिङ पनि भनिन्छ ।
हाल विश्वभर लाखौँ मान्छेहरु बिटक्वाइन माइनिङमा संलग्न छन् र यदि तपाईं आफ्नो कम्प्युटरको क्षमतालाई बिटक्वाइन माइनिङमा राम्रोसँग प्रयोग गर्नुहुन्छ भने तपाईंले अतिरिक्त बिटक्वाइन कमाउन सक्नुहुन्छ । यद्यपि बिटक्वाइन क्रिप्टोकरेन्सीको एउटा प्रकार मात्र हो ।
क्रिप्टोकरेन्सीमा भएको विकेन्द्रीकरणको प्रणालीका कारण पनि कसैले यसलाई सजिलै ह्याक गर्न सकिँदैन । उदाहरणका लागि क्रिप्टोकरेन्सीको नेटवर्कमा भएको कुनै एउटा कम्प्युटरको लेजरमा तपाईंले ह्याक गर्न फरक अंकहरु प्रयोग गर्नुभयो भने बाँकी अन्य कम्प्युटरमा भएका अंकभन्दा फरक हुने बित्तिकै तपाईं समातिनुहुन्छ ।
यसरी सुरक्षाको हिसाबले पनि क्रिप्टोकरेन्सी एकदमै व्यवस्थित हुँदा मान्छेहरुको आर्कषण यसप्रति बढेको हो । यसले पारदर्शी कारोबारको प्रवर्द्धन गर्नेहुँदा मान्छेहरु यसप्रति आकर्षित भएको देखिन्छ ।
दोस्रो कारण भनेको मानिसलाई अब झन्झटिलो प्रकृया भएको बैंकिङ कारोबारको आवश्यकता हुँदैन । किनभने क्रिप्टोकरेन्सीका हरेक कुराहरु यसको नेटवर्कमा भएका हरेक व्यक्तिहरुको नियन्त्रणमा हुन्छ । यदि तपाईंलाई अन्तर्राष्ट्रिय कारोबार गर्नपर्यो भने तपाईंले केही समयभित्र नै सो काम गर्नसक्नुहुन्छ । विना कुनै विनिमय दर, व्याज दर लगायत अन्य कुनै कारोबार शुल्क तिरेर ।
सबैभन्दा रोचक कुरा भनेको क्रिप्टोकरेन्सी क्रिप्टोग्राफी भन्ने माध्यमबाट सुरक्षित गरिएको कारण यसलाई क्रिप्टोकरेन्सी भनिएको हो । उदाहरणका लागि अन्य क्रिप्टोकरेन्सीहरुले जस्तै बिटक्वाइनले पनि ब्लकचेन प्रयोग गर्छ ।
ब्लकचेन भनेको एउटा सुरक्षित लेजर हो, जसले लेजरमा भएको रेकर्डलाई ब्लकको रुपमा व्यवस्थापन गर्ने काम गर्छ । अर्थात् तपाईंले बिटक्वाइनमार्फत कुनै एउटा कारोबार गर्नुभएको छ भने त्यो कारोबार लेजरमा ब्लकको रुपमा रेकर्ड हुन्छ । सो ब्लकले कसले कसलाई कति बिटक्वाइन दियो भन्ने जानकारी रेकर्ड गर्छ ।
क्रिप्टोकरेन्सीका प्रकार
विश्वभर अहिले करिब ४००० प्रकारका क्रिप्टोकरेन्सीहरु छन्, जसका आफ्नै भिन्दै विशेषता छन् । जस्तो कि विश्वकै दोस्रो ठूलो लगानी भएको क्रिप्टोकरेन्सीहरू मध्य इथेरियमले बिटक्वाइनले भन्दा पनि छिटो कारोबार गर्छ ।
त्यसैगरी कार्डानो नामक क्रिप्टोकरेन्सी अन्य क्रिप्टोकरेन्सीहरुको तुलनामा प्राविधिक रुपमा अब्बल मानिन्छ भने लाइटकोइन क्रिप्टोकरेन्सीले नयाँ एल्गोरिदम प्रयोग गरेको छ । सबै क्रिप्टोकरेन्सीहरुको आ-आफ्नो छुट्टै विशेषताहरु छन् ।
नकारात्मक पक्ष
बजारमा क्रिप्टोकरेन्सीको निकै चर्चा भइरहँदा र सुरक्षाको हिसाबले यो निकै बलियो हुँदा हुँदै पनि धेरैजसो मानिस अझै पनि यसप्रति विश्वास गर्दैनन् । क्रिप्टोकरेन्सीको मूल्यमा हुने अस्थिरताका कारण पनि धेरै यसमा लगानी गर्न हिच्किचाउँछन् ।
अर्कोतिर यो विल्कुलै नयाँ र डिजिटल भएका कारण पनि यसलाई सहजै स्वीकारेको पाइँदैन । त्यस्तै आज पनि धेरै ठाउँहरुमा यसको कुनै मान्यता छैन । क्रिप्टोकरेन्सीबाट गरिएका भुक्तानीहरु धेरै ठाउँमा चल्दैन भने केही देशहरुले यसलाई गैरकानूनी भनेर पनि घोषणा गरेका छन् । माइक्रोसफ्ट, टेस्ला लगायतका विश्वका ठूला कम्पनीहरुले समेतले क्रिप्टोकरेन्सी प्रयोगलाई प्रचलनमा ल्याएका छैनन् ।
यसको तेस्रो नकारात्मक पक्ष भनेको वातावरणीय चिन्ता हो । यो एकदमै सुरक्षित हुनुको पछाडि यसले प्रयोग गर्ने उर्जा हो । क्रिप्टोकरेन्सीका लागि अत्याधिक बिजुलीको प्रयोग हुनाले पनि याे आलोचित भइरहेको हुन्छ ।
चौंथो भनेको यसका विशेषताका कारण यसले अपराध र अपराधिक कारोबारहरु बढाउन सक्ने भन्ने चर्चा पनि रही आएको छ । क्रिप्टोकरेन्सीमा प्रयोग भएको डेटालाई ट्रेस गर्न मिल्ने भएका कारण यसले अपराधिक गतिविधिलाई श्रेय दिने विश्वास गरिएकाे छ, जबकि कागजी पैसामा ट्रेस गर्ने खालको कुनै कुरा हुँदैन ।