कावासोतीमा स्वास्थ्यमाथि गम्भीर लापरवाही ! छड्केमा भेटियो यस्तो स्थिति – भिडियो सहित
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा स्वास्थ्य प्रदायक संस्था मेडिकल र पोलिक्लिनिक सञ्चालकले आमनागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पाइएको छ।
विहीबार कावासोतीमा रहेका कावासोती ८ को अमृत मेडिकल हल र कावासोती २ को लुम्बिनी पोलिक्लिनिकमा गरिएको अनुगमनको क्रममा यस्तो पाइएको हो।
नवलपुरको जिल्ला प्रशासन कार्यालय, साना तथा घरेलु उद्योग, स्वास्थ्य कार्यालय, कावासोतीको स्वास्थ्य शाखा, उपभोक्ता संरक्षण मञ्च, नवलपुर उद्योग वाणिज्य संघ, पत्रकार लगायतले अनुगमन गरेको हो।
टोलीले विहीबार २ वटा स्वास्थ्य संस्थामा मात्र अनुगमन गरेको थियो भने बाँकीमा पनि अनुगमन गर्ने जनाएको छ।
कावासोतीको अमृत मेडिकल हलमा गरिएको अनुगमनको क्रममा मेडिकलको रुपमा दर्ता गरी औषधी विभागमा दर्ता नगरेको, सम्बन्धित निकायको लाइसेन्स नलिई सञ्चालन गरेको पाइएको छ ।
त्यसैगरी डाक्टरको सिफारिसमा औषधि विक्री गर्न मात्र पाउने जनशक्तिले विरामी चेक गर्ने, आफै औषधि सिफारिस गर्ने, आफै औषधि विक्री गर्ने गरेको सरसफाईमा ध्यान नदिइएको आदि गरेको पाइएको नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
यहाँ म्याद नाघेको औषधि, प्रयोग गरेको र नगरेको सिरि·एकै ठाउँमा राखिएको पाइएको थियो।
अनुगमनको क्रममा अमृत मेडिकल हलले तुरुन्त सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर वा इजाजत लिएको काम मात्र गरी अन्य सेवा बन्द गर्न निर्देशन दिइएको थियो ।
यता कावासोती २ मा रहेको लुम्बिनी पोलिक्लिनिकमा गरिएको चेकजाँचको क्रममा दर्ता प्रक्रिया लगायतका काम पुरा गएको पाइए तापनि पोलिक्लिनिकमा हुनु पर्ने जनशक्ति नराखी सञ्चालन गरेको पाइएका थियो ।
त्यसैगरी प्लाबमा टेक्निसियन राखेर चलाउनु पर्नेमा प्लाब असिस्टेन्ट मात्र राखेर चलाएको, मिनि अप्रेसन कक्ष अस्वस्थकर रहेको, सरसफाईमा ध्यान नदिईएको, सुत्केरी परामर्श कक्ष फोहोर रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।
कावासोतीमा सञ्चालनमा रहेका मेडिकल, फार्मेसी, पोलिक्लिनिकहरु मध्ये ८ वटाले मात्र अनुमति सञ्चालन लिएको कावासोती नगरपालिकाका स्वास्थ्य शाखा कृष्ण नागिलाले बताए। उनले तत्काल दर्तामा आउन पनि सबैलाई अनुरोध गरे।
त्यसैगरी मेडिकल, पोलिक्लिनिक जस्ता स्वास्थ्य संस्थाहरु साना तथा घरेलु उद्योगमा दर्ता हुनु पर्ने भएपनि दर्ता नभएको पाइएको थियो।
साना तथा घरेलु उद्योग कार्यालयका अधिकृत राधिका सापकोटाका अनुसार त्यस्तो संस्थालाई तत्काल सम्बन्धित पालिकाहरुको सिफारिस लिई साना तथा घरेलु उद्योगमा दर्ता हुन आग्रह समेत गरिन् ।
सापकोटाले भनिन् – खास गरेर यो अनुगमन सचेतनामुलक पनि हो । कम्तिमा साना तथा घरेलु उद्योगमा पनि दर्ता हुनुपर्छ भन्ने जानकारी गराउने उद्देश्य हो ।
















