बाल विवाह न्यूनिकरण गर्न विद्यायल र समुदाय स्तरमा सचेतिकरण आवश्यक
नवलपुर । बाल विवाह अन्त्यको लागि समुदाय स्तरमा सचेतिकरण अभियानलाई तिब्रता दिन आवश्यक रहेको विनयी त्रिवेणी गाउँपालिकाका सरोकारवालाहरुले बताएका छन् । बाल विवाह न्यूनिकरणका लागि भइरहेको कार्यलाई थप प्रभावकारी बनाउन विद्यालय र समुदाय केन्द्रीत कार्यक्रम गर्नुपर्नेमा सरोकारवालाहरुको जोड छ ।
मानव अधिकार समुह विनयी त्रिवेणी गाउँपालिका र अनौपचारि क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज विनयी त्रिवेणी गाउँपालिका–४ सर्दिमा गरेको बाल विवाह बिरुद्धको सचेतिकरण अभियानमा बोल्दै विनयी त्रिवेणी–४ का वडा अध्यक्ष गोपाल अधिकारीले विद्यालय र समुदाय स्तरमा बाल विवाह विरुद्धको अभियानलाई केन्द्रीत गर्न सकेको खण्डमा बाल विवाह न्यूनिकरण हुने बताए ।
उनले विनयी त्रिवेणी गाउँपालिकामा बाल विवाह गर्नेहरुको संख्या अत्याधिक रहेको भन्दै त्यसको न्यूनिकरणको लागि सबैको साझा पहल आवश्यक रहेको बताए । नेपालमा बाल विवाह विरुद्ध कानुन निर्माण भएको भएपनि त्यसको कार्यान्वयन नहुँदा बाल विवाहमा अपेक्षित रुपमा कमि आउन नसकेको बताए ।
उनले बाल अधिकार, संविधान सहित विभिन्न कानुन र त्यस सम्बन्धि व्यवस्थाहरुको बारेमा विद्यालय शिक्षाबाट नै स्थानीय निकायले तयार गर्ने पाठ्यक्रममा समावेश गर्न आवश्यक रहेको बताए ।
त्यसको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो । साथै उहाँले आफु सहभागी हुने सबै कार्यक्रममा बाल विवाहको विषयमा थोरै भएपनि विषय जोड्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा विनयी त्रिवेणी गाउँ कार्यपालिका सदस्य बिष्णु जि.सी.ले विभिन्न कारणहरुले बाल विवाह बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्न सबै सरोकारवालाहरुले आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । विद्यालयहरुका नै बाल विवाह गर्ने बालबालिकाहरुको संख्या अत्याधिक रहेको भन्दै उहाँले विद्यालय स्तरमा अन्तरक्रिया र छलफलहरु सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए ।
स्थानीय मेलमिलापकर्ता पूर्ण बहादुर डिस्वाले परिवारले गरिदिने विवाह भन्दा अहिले आफै गर्ने बाल विवाहहरु अत्याधिक रहेको भन्दै स्थानीय टोल र समुहमा पुगेर उनिहरुलाई सचेत बनाउदै लैजानुपर्ने बताए । बाल विवाह अन्त्य गर्न लक्षित उमेर समुहका बालबालिका सहितको कार्यक्रम र उनिहरुलाई नै ज्ञानको अभिबृद्धिमा जोड दिन आवश्यक रहेको उनको भनाई थियो ।
स्थानीय दिपेन्द्र माध्यामिक विद्यालयका प्रध्यानाध्यापक राजु जि.सी.ले विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीहरुको विवाह भइसकेको अवस्था रहेको भन्दै उनले पहिले उनिहरुमा देखिएको समस्याको पहिचान र सोही माध्यमबाट अन्य विद्यार्थी सम्म ज्ञान प्रवाह गर्दा उपयुक्त हुन सक्ने उल्लेख गरे । जिसीले स्थानीय स्तरमा हुने बाल विवाहमा सहभागि नहुने, बाल क्लव तथा चेतना समुह मार्फत परिवार तथा बालबालिकालाई बाल विवाह नगर्न अभिप्रेरित गर्न आवश्यक रहेको बताए ।
शिशुकल्याण आधारभूत विद्यालयका प्रध्यानाध्यापक शारदा कोइरालाले बाल विवाह गर्ने र गराउनेहरुलाई कानुनि रुपमा कारवाही हुने भएपनि सोको कार्यान्वयन हुन नसकेको बताए । कानुन सम्बन्धि ज्ञानको कमि र त्यसको कार्यान्वयनको कारण पनि बाल विवाह अन्त्य हुन नसकेको उनले बताए । पहिलो चरणमा कानुनि ज्ञान अभिबृद्धि र त्यसपछि कार्यान्वयनमा जान उपयुक्त हुने उनको जिकिर थियो ।
कार्यक्रममा दिपेन्द्र माध्यामिक विद्यालयमा रहेको बाल क्लवका अध्यक्ष एलिसा गैरेले बाल विवाहको अवस्था निकै धेरै रहेको बताउनुभयो । आफ्नो कक्षा र विद्यालयमा पढ्ने बालबालिकाहरुको विवाह गर्नेहरुको संख्या धेरै रहेको भन्दै उहाँले बाल विवाहको कारण बालश्रम समेत बढेको उदाहरण दिनुभयो ।
बालविवाहको कारण बाल स्वास्थ्य सहित विभिन्न क्षेत्रमा नकरात्मक असर परिरहेको भन्दै उहाँले विद्यालयहरुमा साप्ताहिक रुपमा बालविवाह बिरुद्धको सचेतिकरण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा इन्सेक नवलपुरका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले बाल विवाहको कारण र यसको न्यूनिकरणमा सामाजिक अभियान्ता तथा सरोकारवालाहरुको भूमिका के हुन सक्छ भन्ने विषयमा छलफल सञ्चालन गरेका थिए । डुम्रेले अहिले इन्सेकले सञ्चालन गरेको यो अभियानलाई विनयी त्रिवेणी गाउँपालिका भर सञ्चालन गर्ने समेत जानकारी दिए ।
मानव अधिकार समुहका अध्यक्ष धर्म बहादुर जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा उहाँले बाल विवाह सहित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा इन्सेक संगै मानव अधिकार समुहले सहकार्य गरेको कार्यहरु गर्दै आएको बताए ।