चितवनमा नक्कली पिसिआर रिपोर्ट ! दुई जना पक्राउ


.



चितवन । चितवनमा कोरोनाको नक्कली पिसिआर रिपोर्ट बनाउने धन्धा चलिरहेको पाइएको छ ।

चितवन प्रहरीले नक्कली पिसिआर बनाउने दुई जनालाई पक्राउ गरि चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान गरिरहेको छ ।




नक्कली पिसिआर रिपोर्ट तयार गर्ने चौविसकोठीस्थित देव हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट सन्दिप सापकोटा र रत्ननगर नगरपालिका–६ बस्ने प्रकाश न्यौपानेलाई २५ माघमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले बताइन् ।

देव हस्पिटलमा २५ माघमा एउटा अपरेशन गर्नुपर्ने विरामीको पिसिआर नक्कली भेटिएपछि यस्तो धन्धाको विषय बाहिर आएको हो ।

‘देव हस्पिटलमै काम गर्नेले विरामीको स्वाब तानेर न्यौपाने भन्नेलाई दियो । उसले चाँहि नक्कली पिसिआर बनाएर दिएको देखिएको छ । त्यहि विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको हो’, उनले भनिन् ।

 

अपरेशन गर्नुअघि चिकित्सकले पिसिआर गर्न भनेर एउटा चिट दिए । उनीहरु दुई जना मिलेर आफुखुसी रिपोर्ट बनाएर दिने गरेको पाइएको छ । नक्कली पिसिआर बनाउने स्थानको पनि पहिचान भइनसकेको उनले बताइन् ।

रत्ननगरका न्यौपानेले कोरोना महामारीको पहिलो र दोस्रो चरणका बेला भरतपुर अस्पतालको ल्याबमा काम गर्ने गरेको पाइएको छ ।

‘त्यसपछि उनले त्यहाँ काम छाडेको र  विभिन्न अस्पतालसँग सम्पर्क राखेर स्वाबहरु ल्याएर परीक्षण गर्ने र नक्कली पिसिआर बनाउने गरेको भन्ने बुझेका छौँ’, उनले भनिन् ।

 

उनीहरुको साथबाट अरु नक्कली पिसिआर भने फेला नपरेको उनको भनाइ छ । नक्कली पिसिआर बनाउने काममा देव हस्पिटलकै संलग्नता रहे/नरहेको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले जानकारी दिइन् ।

 

.



सम्बन्धित
Loading...