विश्वकप छनोटमा नेपालको विजयी सुरूवात, ओमान ३९ रनले पराजित

काठमाण्डाै – आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।
अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो । ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपाललाई जिताउन कमल सिंह ऐरी, जितेन्द्र मुखिया, कप्तान सन्दीप लामिछानेले २–२ विकेट लिए । अभिनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । उनले ३७ बलमा २ चौका प्रहार गरे । यस्तै कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाए । नेपालका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।
बलिङमा खवर अलीले तीन, बिलाल खानले दुई तथा फय्याज बट र जिशान मकसूदले एकरएक विकेट लिए । प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री देउवाको बधाई
प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।
ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले शुक्रबार सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको हो । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो । जितसँगै नेपालको सेमिफाइनमा खेल्ने सम्भावना बलियो बनेको छ ।
सोही प्रतियोगिताअन्तर्गत नेपालले शनिबार फिलिपिन्ससँग खेल्नेछ । विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह एकमा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
प्रतियोगिता फाइनल पुग्ने दुई शीर्ष टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने ‘टि २०’ विश्वकपमा स्थान बनाउने छन् ।