प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै

गैँडाकोट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकूद भन्ने नाराका साथ यही फागुन २१ गतेदेखि गैँडाकोट–९ स्थित थुम्सीमा प्रतियोगिता आयोजना गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नवजागरण ग्रामीण विकास केन्द्रले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, कास्की र चितवनका आठ टोलीले भाग लिने खेल संयोजक धामनाथ सापकोटाले बताए । लामो समयदेखि खेलकूदका गतिविधि ठप्प जस्तै भएको अवस्थामा खेल पर्यटनमार्फत आर्थिक क्षेत्रलाई गतिशील बनाउन प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो ।
प्रतियोगितामा विजेता हुने टोलीले रु दुई लाखसहित कप, पदक तथा प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाले बताए। उपविजेताले रु एक लाख ५० हजार, म्यान अफ दी सिरिजले रु १० हजार, इमर्जिङ प्लेयरले रु सात हजार र उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डरले पाँच÷पाँच हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले रु एक हजार ५०० सहितका पुरस्कार पाउने भएका छन् । प्रतियोगिताको समापन फागुन २५ गते हुने जनाइएको छ ।