मलेसियाबाट फर्केर व्यवसायिक वयर खेती, बार्षिक १० लाख आम्दानी

नवलपुरको मध्यविन्दु नगरपालिका–३ लेडाहामा व्यवसायिक बयर खेतिको सुरुआत गरिएको छ ।
युवा किसान पदम मोक्तानले यहाँ बयर खेतिको सुरुआत गरेका हुन् । जन्मथलो सर्लाही र कर्मघर काठमाण्डौ भएपनि उनले नवलपुर आएर कृषि पेशा अंगालेका हुन्। लामो समय विदेशी भूमि मलेसियामा पसिना बगाएका मोक्तानले त्यहाँका मृषि फर्महरु अवलोकन गर्ने गर ।
नयाँ – नयाँ तरिकाले त्यहाँ कृषि गरेको देखेपछि उहाँमा नेपाल आएर अन्यले भन्दा फरक काम गर्ने सोँच पलायो । जसको फल स्वरुप उनले बयर खेति गर्ने सोँच बनाए। उनले सोँचेको कुरा सफल समेत भएको छ ।
उनले ३ विघा क्षेत्रफल लिजमा लिएर बयर खेती र अन्य फलफूल तथा तरकारी खेति समेत गर्नुभएको छ । डेढ विघा क्षेत्रफलमा उनले विभिन्न चार जातको बयर खेति गरेका छन् । उनको फर्ममा अहिले १२ सय बयरको बोट छन् । पश्चिम बंगालबाट उनले बयरको बिरुवा ल्याएका हुन्।
उनले दुई वर्षअघिदेखि बयर खेति गरेका हुन्। पहिलो वर्ष थोरै बोट (३००) रोपेकाले उत्पादन पनि थोरै भयो। दोश्रो वर्ष (यस वर्ष) भने बयर लटरम्म फलेको छ ।
उनले ग्रिन एप्पल २०० सय बोट, रेड एप्पल चक्लेटी आकार ३००, रेड एप्पल ल· (लामो चुच्चो) ५०० र सुन्दरी (स्थानीय जात) २०० बोट लगाएका छन् । यी चार जातमध्ये ग्रिन एप्पल पाकेर बिक्री समेत भईसकेको छ। उनले भने – ‘यो जात माघ १५ बाट पाक्न सुरु हुने भएकाले विक्री गरिसकिएको हो। थोरै मात्रै बाँकी छ।’
ग्रिन एप्पल ३ क्वीन्टल बिक्री गरिसकेको र १२० रुपैँया प्रतिकेजी थोक मुल्यमा बिक्री गरेको उनले बताए । अन्य जातका बयर पनि अब क्रमशः पाक्दै जाने मोक्तानले बताए। यस वर्ष कम्तिमा बाह्रदेखि १५ लाखसम्म बिक्रि हुने अनुमान उनको छ । जसमध्ये आठदेखि १० लाखसम्म नाफा हुने उनको भनाई छ ।

बयर खेतिमा लगानी कम लाग्ने तर नाफा बढी हुने खेती भएको उनको अनुभव छ । पहिलो र दोश्रो वर्षमा लगानी केही बढि लाग्ने तेश्रो वर्षपछि लगानी कम लाग्ने उनको अनुमान छ । बिरुवा दिने व्यापारीले एक वर्ष रोपेपछि १० वर्षसम्म फल दिने जानकारी गराएको उनले बताउए। एउटा बीरुवाको २०० देखि २५० रुपैँया लगानी गरेको उनले जानकारी दिए।
बयरको मुख्य बजार नवलपुरको बजार क्षेत्र र काठमाण्डौ, पोखरा, बुटवल हो । काठमाण्डौको भाटभटेनी जस्ता ठूला मार्केटले समेत आफुसंग माग गरेको उनले बताए। तर, अन्य बजारमा नै खपत धेरै भएकाले पठाउन नसकेको उनको भनाई छ। बयर खरीद गर्न व्यापारी आफैँले सम्पर्क गर्ने गर्छन्। कन्ट्क्टमै व्यापारीकोमा उनले बयर पठाउँछन्। व्यापारीले पैसा खातामा राख्दिन्छन् । बजारको कुनै समस्या नरहेको उनले बताए। माग पु¥याउन नै गाह्रो भएको उनी बताउँछन्।

बयर खेतिमा मेहेनत समेत धेरै नलाग्ने उन बताए। सुरुमा बीरुवा रोपेपछि बीरुवाको वरीपरी गोडमेल गर्ने, वर्षमा दुई पटक मलजल गर्ने र फुल लाग्दा औषधी राख्ने अन्य समयमा औषधी राख्नु नपर्ने उहाँको भनाई छ।
बयर बहुवर्षे बाली भएकाले वर्षको एक पटक फल्छ । बयरका लागि गर्मी मौसम उपयुक्त हुने र बलौटे माटोमा समेत राम्रो हुने उनको भनाई छ । उहाँले खेति गरेको क्षेत्र मध्यवर्ती र नारायणी नदी किनार भएकाले बलौटे माटो छ ।
चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रमा बयर खेति गर्दा जंगली जनावारले खाने समस्या पनि नहुने उनको भनाई छ । अन्य बाली गैंडा, मयुर, बदेँल, मृग लगायतका जनावारले खाएर नोक्सान पु¥याउने गरेको छ । तर बयर भने नखाने उनले जानकारी दिए। बयर खेतीको अन्य फाईदा पनि रहेको मोक्तानले बताए।
‘एक पटक फल दिए पछि फेदभन्दा केहि माथीबाट ती सबै हाँगा काट्नुपर्ने हुन्छ, एक वर्षभित्र नयाँ हाँगा पलाएर फेरी फल लाग्छ । यो वर्षै पिछे गर्नुपर्छ ।’ मोक्तानले भने – ‘हाँगाबाट दाउरा, झेक्रा बनाउन सकिन्छ , पात गाईवस्तुले खान्छ।’
नवलपुर जिल्लामा पहिलो पटक बयर खेतिको सुरुआत आफुले गरेको किसान मोक्तानको दावी समेत छ । उनले बयर संगै अहिले कुरीलो खेति , अम्बा खेति , करेला र भिन्डी समेत लगाएका छन्।
मेहेनत गर्ने हो भने आफ्नै भूमिमा पनि राम्रो आम्दानी गर्न सकिने उनले अनुभव सुनाए। अर्काको देशमा बगाउने पसिना स्वदेशमै बगाउँदा त्यहा कमाएभन्दा बढि कमाउन सकिने उन बताए। उनले अहिले १० जनालाई रोजगारी समेत दिए ।

परिवारमा श्रीमती र छोराछोरीले समेत उनलाई साथ दिएका छन्। मोक्तान आफैँ समेत उत्पादन भएको कृषि उपज बिक्रि गर्न हिड्छन्। काम कुनै पनि ठूलोसानो नहुने उनी बताउँछन्।
बयरको माग बजारमा राम्रो रहेकाले अन्य कृषक पनि यो व्यवसाय गर्न खोजे सहयोग गर्न तयार रहेको उनले बताए।