हत्या गरेको आरोप लागेका एक जना नेपाली बहराइनबाट पक्राउ

कास्कीको लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय रोजन राईको हत्या भएको घटनामा संलग्न आरोपमा एकजना पक्राउ परेका छन् ।
कास्की लेखनाथ सातमुहानेका ४६ वर्षीय अशोक गुरूङ पक्राउ परेका हुन् । ०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा ०६३ जेठ २ गते मृत्यु भएको थियो ।
घटनामा संलग्न रहेको आरोप लागेका गुरुङ घटनापछि वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए ।
उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा ०७८ मंसिर २७ गते इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएकोमा उनी बहराइनमा पक्राउ परेका थिए ।
उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइने प्रहरीले जनाएको छ ।
