नवलपुरमा नगर अस्पतालः शिलान्यासको १ बर्ष, कतै जग्गा खोज्दै कतै जग हाल्दै




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा नगर अस्पताल (आधारभूति अस्पताल) शिलान्यासको एक बर्ष वितिसक्दा पनि कतै जगहाल्ने जग्गा नभएर खोजी भईरहेको छ भने कतै भरखर भरखर जग हाल्ने काम शुरु गरिएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते देशका सबै पालिकामा ५ देखि १५ शैयाको नगर अस्पताल स्थापनाका लागि भनेर देश भर एक साथ ३ सय ९६ वटा पालिकामा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए ।

 




नवलपुरमा भने शिलान्यासको १ बर्ष नाघीसक्दा पनि पय पालिकाले अस्पताल कहाँ बनाउने भनेर जग्गा नै पाउन सकेका छैनन भने कतिपयले भरखर भरखर जग्गा प्राप्तिको काम सकेर भवन निर्माण शुरु गरेका छन् ।

त्यसो त गैडाकोट नगरपालिका, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकाले भने भवन निर्माण गर्न बाँकी नै रहे पनि नगर अस्पताल भनेर सञ्चालनमा ल्याइसकेको छ । ति पालिकाहरुले पहिला रहेको प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई अस्पतालमा परिणत गरेको हो ।

गैडाकोट नगरपालिकाले पुराना संरचनालाई नगर अस्पतालको रुपमा सञ्चालन गरेको छ तथापि शिलान्यास पछिको भवन निर्माणका लागि जग हाल्ने काम सकेर पिल्लर उठाउने काम भईरहेको गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बताए ।

गैडाकोटमा अहिले १८ करोड बजेट विनियोजन भएर अस्पतालको भवन निर्माणको काम भईरहेको छ ।

 

त्यसैगरी देवचुली नगरपालिका पनि पुरानो प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा सञ्चालन गरेको छ ।
देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठका अनुसार नगरपालिकाले अस्पतालको नयाँ भवन निर्माणका लागि जग हाल्ने काम सकेर गाह्रो उठाउने तयारी गरेको बताए ।

यता नवलपुरको सदरमुकाम कावासोतीले छुट्टै नगर अस्पताल सञ्चालनको कुनै तयारी गरेको छैन । कावासोती नगरपालिकाले नगरपालिका भित्र रहेको मध्यविन्दु जिल्ला अस्पताललाई नै आधार मानेर नगर अस्पताल सञ्चालनको तयारी नगरेको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले बताए ।

त्यसैगरी मध्यविन्दु नगरपालिकामा पनि नगर अस्पताल सञ्चालनका जग्गा प्राप्तिका लागि फाइल अगाडि बढाइएको नगर प्रमुख चन्द्रबहादुर रानाले बताए ।

यता हुप्सेकोट गाउँपालिकामा भने नगर अस्पताल भवन निर्माणको काम तिव्र गतिमा अगाडि बढेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार भवन निर्माणका लागि पहिलो तलाको निर्माण काम अन्तिम चरणमा पुर्याएर दोस्रो तला निर्माण भईरहेको छ ।

हुप्सेकोटले पालिका स्तरको आधारभूत अस्पताल भने पुराना भवनलाई अस्पतालको रुपमा सञ्चालन गरेको छ ।

मध्यविन्दु नगरपालिकाको जस्तै विनयी त्रिवेणी र बुलिङटार गाउँपालिकाले अझसम्म अस्पताल भवन निर्माणका लागि जग्गा प्राप्तिसम्म गर्न सकेको छैन । भने बौदीकाली गाउँपालिकाले भवन बनाउनका लागि जग हाल्ने काम शुरु गरेको छ ।

 

https://www.youtube.com/watch?v=oxWOBEYDoXo

 



सम्बन्धित
Loading...