युरोपको भिसा त्यागेर नेपालमा भैंसी पालन

रोजगारको अभावमा विदेशीने लाखौं युवाको अपवादका रुपमा उदायएका छन्, काशीराम भट्टराई । स्वदेशमै भैंसी पालनबाट मनग्गे आम्दानी हुन थालेपछि विदेशमा गएर कमाउने र धनी बन्ने सपना उनले त्यागिसकेका छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ धमौलीमा पर्छ काशीरामको घर । अहिले उनी २६ वर्षका पुगे ।
इलेक्ट्रोनिक सब ओभरसियर विषयमा स्नातक तहसम्मको अध्ययन उनले सकाएका छन् ।
अध्ययन सकिए पनि रोजगारीका लागि भौंतारिइरहेका उनी चार वर्षअघि वैदेशिक रोजगारीको शीलशीलामा कतार पुगे । ‘त्यहाँ मेरो मासिक लाख रुपैयाँको हाराहारीमा कमाई हुन्थ्यो,’ काशीराम भन्छन्– ‘तर त्यो कमाइले मलाई सन्तुष्टि दिन सकेन ।
६ महिना मात्र कतारमा बसेर नेपाल फर्किएँ । तर यहाँ आएपछि फेरि रोजगारीकै समस्या भयो ।’
नेपालमा फेरि नबस्ने मनसाय राखी काशीरामले फेरि पोल्याण्ड जान भनी कागजात तयार पारे । भिसा पनि आयो ।
युरोप जाने उनको तयारी घनिभूत भइरहेको थियो । तर उनको जीवन कथा अन्तै मोडियो । ‘मैले एक्कासी पोल्याण्ड नजाने निर्णय गरेँ । लागिसकेको युरोपको भिसा त्यागेर अब नेपाललाई नै कर्मभूमि बनाउने योजना बनाएँ ।
यस्तो अठोट लिएँ कि भोकै बस्नुपरे पनि जे गर्छु स्वदेशमा नै गर्छु भनेर कस्सिएँ,’ काशीराम भन्छन्–‘विदेशका चिल्ला रोड, गगन–चुब्नी भवनभन्दा आफ्नै देशको माटाने प्यारो लाग्यो ।’
युरोपको भिसा त्यागेपछि नेपालमा के गर्ने त भन्ने अन्यौलता काशीरामको मनमा नआएको होइन । तर उनले जुक्ती लगाए, भंैंसी पाल्ने ।
‘केही समय अध्ययन गरेँ र भैंसी फर्म खोल्ने निर्णयमा पुगेँ । भैंसी फार्म खोलेपछि गाउँ छरछिमेकी सबैले यो काशीराम बौलायो पनि भने,’ काशीराम भन्छन्–‘युरोप नगएर भाग्य फुटायो भन्नेहरुको कुरा सुनिरहँदा मैले जे निर्णय लिएँ एकदमै सही निर्णय लिएँ भन्ने लाग्छ ।’
हुन पनि हो, भैंसीले काशीराम र उनको परिवारको कायापलट भएको छ । साढे दुई वर्षअघि पाँच लाख रुपैयाँको लगानीमा दुई वटा भैंसीबाट ‘बलभद्र सिर्जनशील’ नामक भैंसी फर्मको सुरुआत गरेयता उक्त लगानी ६० लाख पुगेको छ ।
१२ वटा दूध दिने भैंसी, आठ वटा ब्याउन लागेका भैंसी गरी २० वटा ठूला भैंसी र ३० वटा साना पाडापाडी छन् । आजभोलि उनले दैनिक ८० लिटर दूध बजारमा बिक्री गरिरहेका छन् । फर्ममा अहिले दुई जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिएका छन् ।
उनका भनाईमा करिब २० जना फर्मबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
यसोे त भैंसी पालेर पनि आम्दानी हुन्छ र भन्नेहरुका लागि उनको व्यवसाय अपवाद बनेको छ । खर्च कटाएर मासिक ६० हजार रुपैयाँ उनले कमाउँछन् ।
काशीराम भन्छन्– ‘भैंसी पालेर दूध मात्र होइन गोबर र पिसाबको पनि उत्तिकै मूल्य पर्छ । भैंसीको मलको माग पनि उत्तिकै छ । मल ल्याउन कृषकहरू घरमै ट्याक्टर लिएर आउँछन् ।’
उनका भनाईमा अहिले करिब ५÷६ हजार प्रति ट्याक्टर भैंसीको मल बिक्री भइरहेको छ । त्यस्तै अब भैंसीको पिसाब संकलन गरेर पनि बिक्री गर्ने सोंचाइ रहेको उनको भनाई छ ।
‘भैंसीको पिसाब किटनाशक औषधि रूपमा बोट बिरुवामा प्रयोग हुने हुँदा पिसाबको माग एकदमै धेरै छ । त्यसैले पिसाब संकलन गर्ने सिमेन्टीको पोखरी बनाउन लागिरहेको छु ।’– उनी भन्छन् ।
अर्कातर्फ आफ्नो आफ्नो खेतबारीमा पनि भैंसीको मल प्रयोग गरेर तरकारी अन्न बालीको उत्पादन राम्रो हँुदै गएको छ । खेत बारीमा प्रयोग गरेर बाँकी रहेको मल मल बिक्री गर्दा पनि ५० वटा भैंसीलाई १ वर्षसम्म चाहिने दाना र घाँस किन्न पर्याप्त पैसा पुग्ने उनले बताउँछन् ।
उनले भैंसी पालनका लागि १५ कठ्ठा जमिनमा विभिन्न प्रजातिका घाँसहरु लगाएका छन् । ‘पुष्पलम, सुपरनिभिया, मल्लातो, जनताका बहुवर्षीय घाँस, निकट भविष्यमा घाँस र भैंसीलाई चाहिने दाना सबै घरमै उत्पादन गर्ने लक्ष्यका साथ गृहकार्य गरिरहेको छु ।’– उनी भन्छन् ।
यसो त भैंसी पालनमा काशीरामको तरक्की देखेपछि उनका छिरछिमेकीहरुले प्रशंसा गर्न थालेका छन् ।
उनी भन्छन्–‘वैदेशिक रोजगारीमा गएर पैसा त कमाइन्थ्यो होला तर पैसाले मात्र आत्मसन्तुष्टि मिल्ने भने थिएन ।’
काशीरामको परिवारमा ६ जना परिवारका सदस्य छन् । अविवाहित रहेका काशीरामले सानै उमेररदेखि नै सुरु गरेको व्यवसायिक यात्रा सफल उद्यमी बन्ने बाटोतर्फ अग्रसर भइरहेको छ ।
काशीराम भन्छन्– ‘अब केही महिनाभित्रै भैंसी थपेर दैनिक २०० लिटर दूध उत्पादन गर्ने लक्ष्य छ । भैंसी फर्ममा अब आधुनिक टेक्नोलोजी जडान गर्न लागिएको छ ।
भैंसीको आहार, आटो, पिठो र घाँसलाई मिलाएर दाना बनाउने मेसिन, भैंसीको दूध दुने मेशिन जस्ता सामाग्रीहरू जडान गरेर काम गरेर काम लाई सहज बनाउने योजना छ ।’ यीबाहेकम उनको अबको लक्ष्य आफ्नै डेरी उद्योगबाट दूध बेच्नु पनि रहेको छ ।
दिनानुदिन वैदेशिक रोजगारमा जाने युवाहरूतर्फ संकेत गर्दै काशीरामले नेपालमा अवसर धेरै रहेकाले मेहेनेत र लगनशीलता आवश्यक पर्ने बताउँछन् । उनी भन्छन्– ‘युवाहरु आफैं अग्रसर भएर अगाडि नबढ्दासम्म सबै कुरा राज्यले मात्र पूरा गर्न सक्दैन ।’