४० जनाको परिवार, १ सय ३० भैंसी
घरभन्दा भैंसी गोठ धेरै, ४५ यादव परिवारको बसोबास रहेको हल्कारापूर्वा भैंसीपूर्वाका नामले चिनिँन थाल्यो
रामसुहावन यादवका ६ भाइ छन् । उनी काइँला हुन् । ६ भाइको परिवार सदस्य संख्या ४० पुगेको छ । सबै सगोलमै बस्छन् । हल्कारापूर्वास्थित यादव बस्ती राप्ती नदी तटीय क्षेत्रमा छ । जुन बाँकेको डुडुवा गाउँपालिका–३ मा पर्छ । ठूलो परिवार सानो मूलघरमा अटाउन नसक्दा ६ भाइले लस्करै ६ वटा घर बनाएका छन् । तर, घरभन्दा गोठ लामा छन् । कारण हो, परिवारको सदस्य संख्याभन्दा भैंसी धेरै हुनु ।
भैंसी पाल्नु र दूध, दही र घिउ बेच्नु रामसुहावन परिवारको पुर्ख्यौली चलन हो । अहिले १ सय ३० वटा भैंसी पालेका छन् । पाडापाडी पनि दर्जनौं छन् । ‘कुनै महिनामा त भैंसी नै २ सय ५० वटासम्म पुग्छन् । अहिले कम भएका हुन्,’ रामसुहावनले चिल्लो कालो भैंसी मुसार्दै भने, ‘दूधको त पोखरी नै बन्छ ।’ उनले यतिबेला दैनिक ३ सय लिटर दूध उत्पादन गर्दै आएका छन् । भैंसी थापिँदा ५ सय लिटरसम्म दूध उत्पादन हुने गरेको रामसुहावनले सुनाए ।
६ जना गोठाला राखेका छन् । परिवारका हरेक पुरुष सदस्य गोठमा सघाउँछन् । रोचक पक्ष के छ भने भैंसी पाल्ने, दुहुने, स्याहारसुसार गर्ने, भकारो सोहोर्ने र दूध चिस्यान केन्द्रसम्म पुर्याउने सबै काम यादव परिवारका महिलाले गर्दैनन् । पुरुषहरू नै यी सबै काममा खटिँदै आएका छन् । एक जना पुरुषले पाँच वटासम्म भैंसी दुहुन्छन् । एउटा गोठालाको मासिक पारिश्रमिक १० हजार रुपैयाँ छ । ‘भैंसी दुहुने काम त्यति सहज छैन । हात पाटिन्छ । औंला गल्छन् । तर, सबैको बानी परिसकेको छ,’ अर्का भाइ मौजेलाल यादवले भने, ‘अब त बानी परिसक्यो । थकाइ नै लाग्दैन ।’ गोठमा भैंसी ब्याइरहेका हुन्छन् । गोठालाहरूले त्यतातिर पनि निगरानी राख्छन् । ‘कुनै दिन त तीन/चारवटा एकै चोटि ब्याउँछन् । राति ब्याउने भैंसी कुर्नपर्दा त जाग्राम नै बस्नुपर्छ,’ मौजेलालले सुनाए ।
गोठालाहरू बिहान ४ बजे उठेर गोठ जान्छन् । राप्ती नदीनजिकै भएकाले चराउन र धोइपखाली गर्न उतै लैजान्छन् । त्यतिबेला हिँडाएका भैंसीको दुई किलोमिटरसम्मको लस्कर देखिने मात्र हैन, तटीय क्षेत्र भैंसीले छपक्कै हुन्छ । गाउँले सबैले भैंसी त्यतै लैजान्छन् । साँझ ८ बजेसम्म सबै भैंसी गोठमा आइपुग्छन् । उस्तै–उस्तै भए पनि कुन आफ्ना र कुन अर्काका हुन् यादव परिवारले सजिलै छुट्याउँछन् । ‘कोही झुक्किँदैनन् । सबैले आफ्नो र अर्काको देख्नेबित्तिकै थाहा पाउँछन्,’ रामसुहावनका भतिज रामसमुझ यादवले भने, ‘हजुरबुबाले त कुन भैंसीलाई के भनेर बोलाइन्छ ? देख्नेबित्तिकै नामै लिएर बोलाउनुहुन्छ ।’ उहाँले कुन भैंसीको पाडापाडी हुन्, त्यो पनि चिन्ने बताउँदै रामसमुझले आफूहरूलाई भने छुट्याउन गाह्रो हुने बताए ।
रामसुहावन परिवारको त यादव भैंसी फर्म नै छ । बस्ती नजिकै मिलन चोकमा चिस्यान केन्द्र पनि आफ्नै छ । उक्त केन्द्रमा जम्मा गरेको दुध दुग्ध विकास संस्थानले खरिद गरिदिन्छ । बजार पुर्याउनु पर्ने झल्झट छैन । १ सय ३० भैंसी पाल्दै आए पनि परिवार संख्या ठूलो भएकाले खर्च बढी हुँदा दैनिक ७ हजार रुपैयाँजति मात्रै बचत गर्दै आएको रामसुहावनले सुनाए । -कान्तिपुरबाट