ईपीएस अन्तर्गत रोजगारी गरी फर्केका श्रमिकलाई कोरियाद्वारा १ अर्बको पुनःएकीकरण तालिम

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारी गरी फर्केका श्रमिकका लागि पाइट प्रोजेक्टका रूपमा नेपालमा पूर्नएकीकरण तालिम सञ्चालन गर्ने भएको छ ।
कोरिया सरकारले ईपीएसअन्तर्गत अन्य १५ राष्ट्रलाई छोडेर नगद सहयोग सहितको सीप कार्यक्रम नेपालबाट शुरु गर्न लागेको हो । ईपीएस सेन्टर एचआडीमा नेपाल प्रमुख किम उन दक्ले नेपालमा संचालन गरिने यो कार्यक्रम सफल भए अन्य ईपीएस सदस्य देशमा समेत गर्ने तयारी रहेको बताए ।
कोरियाले मे महिनाबाट ईपीएस अन्र्तगतका श्रमिकलाई पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिए ।हाल दक्षिण कोरिया सरकारको सहयोगमा वुटललमा सीप तालिम केन्द्र सञ्चालनमा रहेको जनाउँदै किमले फर्केका युवालाई उद्यमशील बनाउन कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
नेपाली बजारको माग र आवश्यकताका आधारमा विभिन्न क्षेत्रमा तालिम सञ्चालन गर्ने तयारी रहेको छ । उनले यसका लागि आवश्यक पर्ने प्रविधि तथा पुँजी कोरिया सरकारको कोरिया अन्तर्राष्ट्रिय विकास साझेदार (कोईका) मार्फत हुने जानकारी दिए ।
ईपीएसअन्तर्गत हालसम्म ६६ हजार ९५३ नेपाली युवा कोरियामा काम गरिसकेका छन । जसमध्ये हाल कोरियामा २८ हजार १२० नेपाली रहेका छन । यसअघि कोरिया गई फर्केका लगभग ३८ हजारमध्ये मापदण्डमा परेका श्रमिकले सीप तालिम लिन पाउने छन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले मंगलबार गरेको भेटघाटमा समेत पुनःएकीकरण कार्यक्रमबारे छलफल भएको थियो । श्रम मन्त्रालयमा भएको भेटमा दक्षिण कोरिया सरकारको सहयोगमा बुटललमा सञ्चालित सीप तालिम केन्द्रबाट धेरै नेपाली युवाहरू लाभान्वित भएको बताउँदै मन्त्री श्रेष्ठले अन्य प्रदेशमा पनि सीप विकास तालिम संचालन गर्ने मन्त्रालयको योजनामा सहयोग गर्न आग्रह गरेका थिए ।
रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया गई फर्केर आउने नेपाली नागरिकलाई पुनःएकीकरणका लागि सहयोग गर्ने दक्षिण कोरिया सरकारको प्रस्तावका लागि मन्त्री श्रेष्ठले स्वागत गरेका थिए ।
पुनःएकीकरणका लागि दक्षिण कोरिया सरकारले ८० लाख डलर अर्थात् ९६ करोड रुपैया बराबरको सहयोग प्रस्ताव गरेको छ । कोरियामा ६५ हजारभन्दा बढी नेपाली ईपीएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् । नेपालीहरू मेहनति र इमान्दार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको राजदूत पार्कले बताए ।
ईपीएस प्रणालीको नवीकरण तयारी
मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा पुर्याउन राजदूत पार्कसँग आग्रह गरेका छन । राजदूत पार्कले ईपीएससम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताएका छन ।
सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र तत्पश्चात २०२० देखि नविकरणको प्रक्रियामा रहेको छ ।
सो अवसरमा मन्त्री श्रेष्ठले कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जाने प्रकृयामा रहेकोले उनीहरूलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गरेका छन् । नेपालले रोजगार अनुमति प्रणालीअन्तर्गत नेपालले पाउने कोटा बढाउनसमेत अनुरोध गरेको छ ।
दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । ईपीएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरू रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा काम गर्दै आएका छन । ईपीएसअन्तर्गत नेपाली कामदारको संख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको राजदूत पार्कले बताए ।
सन् २०१८ मा ईपीएसअन्तर्गत भाषा परीक्षा पास गरेका दुई हजार जना नेपाली रोष्टरमा रहने म्याद सकिएकोले प्रकृयामा सहभागि हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रक्रियामा सहभागि गराउन आग्रहसमेत गरेका छन ।
मन्त्री श्रेष्ठले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरूका लागि भाषा परीक्षा आगामी मे ३० बाट सुरु गर्ने मन्त्रालयको तयारी रहेको बताए ।