टाइफाइडविरुद्धको खोपमा ३ हजारबढी बालबालिका छुटे

हरि शर्मा –
परासी, – सरकारले सञ्चालन गरेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा पश्चिम नवलपरासीमा ३ हजारबढी बालबालिका छुटेका छन् । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान जिल्लामा चैत २२ देखि ३० गतेसम्म सञ्चालन गरिएको थियो ।
स्वास्थ्य कार्यालयले ति उमेर समुहका कुल १ लाख ४ हजार २ सय ८६ बालबालिकालाई खोप लगाउने लक्ष्यसहित अभियान सुरु गरेको थियो । जसमा १ लाख १ हजार १ सय ९१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका मलेरिया इन्स्पेक्टर देविलाल पौडेलले जानकारी दिए ।
छुटेको संख्या ३ हजार ९५ छ । १ लाखबढी बालबालिकामा त्यतिको संख्यामा छुट्नु सामान्य भएको पौडेलको भनाई छ । केही खोप लिन छुटेकामा विद्यालय बाहिर रहने उमेर समुहका र केही जानकारी नपाएर आउन नसकेको तथा केही बाहिर गएकाले आउन नसकेको हुन सक्ने पौडेलले बताए ।
छुटेकालाई फेरि खोप लगाइने छैन । ‘नियमित खोप लगाउन बाँकी रहेका उमेर समुहका बालबालिकालाई मात्र खोप लगाउन जाने क्रममा लगाइने छ । त्यस उमेर समुहकाबाहेक अन्यलाई लगाइन्न ।’ पौडेलले भने ।
सरकारले लिएको लक्ष्यभन्दा पनि बढी हासिल गरेको स्वास्थ्य कार्यालयको भनाई छ । सरकारले ९५ प्रतिशत पूरा गर्नुपर्ने जनाएको छ ।
जिल्लामा ९७ प्रतिशत भन्दाबढी पूरा भएकाले अभियान पूर्ण रुपमा सफल भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ७ स्थानीय तहमा ३ सय २२ खोप केन्द्रमार्फत खोप लगाइएको थियो ।