जब सुहागरातमा श्रीमानले सोध्छ- आर यु भर्जिन ?

ढोकाको आवाजले उ झस्याङ्ग हुन्छे । रातको दश बजेको हुन्छ र श्रीमान कोठामा पसेको हुन्छ । ऊ अलि ‘अनकम्फर्टेबल’ हुन्छे । हरेक क्षण ‘कम्फर्टेबल’ हुन त नारी नभएर पुरुष भएर जन्मनुपर्ने रहेछ भन्ने सोचेर अफसोस मानिराख्छे । श्रीमान सिधै एट्याच वासरुम छिर्छ । सायद श्रीमान केही मदिरा पिएर आएको हुन्छ । कोठामा त्यस्को गन्ध पसिसकेको हुन्छ ।
‘सायद मलाई पनि पिउन प्रस्ताव राखेको भए म पनि पिउँथे कि ? दुवैजना बेडरुममा बसेर पिउँदै दुःख-सुखका बात मार्न पनि त सकिन्थ्यो नि । सायद मैले मेरा सबै थकान र निद्रा पनि त भुलिदिन्थें कि ।’ ऊ मनमनै सोचिरहेकी हुन्छे । तर त्यो हुन सक्दैन ।
दश मिनेटपछि श्रीमान वासरुमबाट बाहिर निस्किन्छ, जसको आगमनको प्रतीक्षा ऊ गरिरहेकी हुन्छे । मीठो वचन बोलेर आफ्नो सहजतामा सुत्न आग्रह गर्छ भन्ने सोचेकी हुन्छे । तर श्रीमानले आफू पुरुष हुनुको घमण्डमा मायाजालको ककटेल मिसाएर प्रस्तुति दिन थाल्छ ।
म यस्तो उस्तो, फलानोको छोरो, यति जग्गा सम्पत्ति, दुःख गर्न नपर्ने, सिन्को भाँच्न नपर्ने जस्ता आडभरोसा जस्ता लाग्ने ललिपपयुक्त वाणीहरु फ्याँकिरहन्छ । उसले केही सोधेकी पनि हुन्न र प्रतिक्रियाविहीन नै रहन्छे ।
वसन्त ऋतुका हाँगाहरु जस्तै श्रीमान आफू नांगो हुँदै जान्छ अनि श्रीमतीका लुगा पनि केस्रा-केस्रा गर्दै छोडाउन थाल्छ । अकस्मात् श्रीमानले जब उसको कम्मरमा ट्याटु देख्छ, जुन उसको पूर्वप्रेमीको निसानी थियो । त्यसपछि श्रीमानले ट्याटुका बारेमा सोधीखोजी गर्न थाल्छ ।
उसले नढाँटी पूर्वसम्बन्धका सबै कुरा भन्छे । को ? कसरी ? कहाँ ? जस्ता श्रीमानका प्रश्नले त्यो सुहागरातको माहोल बिग्रिसक्छ । अन्तिम प्रश्न ‘आर यु भर्जिन ?’ यसरी सोधिन्छ जसले उनको मन मस्तिष्क हल्लाउँछ ।

डा. अच्युतशाली घिमिरे