पश्चिम नवलपरासीमा प्रमुख, उपप्रमुख नै दलबदल्दै, बागी उमेदवार बन्दै

परासी । मनोनयन दर्ताको अन्तिम दिन दिउँसो ३ बजेसम्म पार्टीको टिकट कुरेर बसेकी पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष अञ्जुकुमारी चौधरीले दल परिवर्तन गरेर पुनः सोही पदमा उमेदवारी दिइन् ।
उनी कांग्रेसबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । तर पार्टीले चौधरी थरकी अर्कै महिलालाई उपाध्यक्षको टिकट दिएपछि तत्कालै निर्णय गरेर अर्कै पार्टीबाट उमेदवारी दिइन् ।
गाउँपालिकाको अध्यक्षको निधनपछि २ वर्षअघिबाट कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी चौधरीले पूर्वमन्त्री हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट उमेदवारी दिएकी हुन् । जनताको चाहानाअनुसार बाध्य भएर पुन: सोही पदमा उठ्न दल परिवर्तन गरेको उनको भनाइ छ ।
सुनवल नगरपालिकाको उपमेयरको टिकट नपाउने भएपछि एमालेका लेखनाथ खरेलले पनि उमेदवारीको अन्तिम समयमा माओवादी केन्द्रबाट उमेदवारी दिए । माओवादीबाट टिकट पाउने भएपछि खरेलले एमाले छाडेर कांग्रेससँगको गठबन्धनबाट उपमेयरमा उमेदवारी दिएका हुन् ।
नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष पावित्री कोहाँरले पनि पार्टीले टिकट नदिएपछि अन्तिम समय तिर दल फेरिन । माओवादी केन्द्रले उपाध्यक्षको उमेदवार बनाउने भएपछि उनले कांग्रेस छाडेर उपाध्यक्षमा उमेदवारी दिएकी हुन् ।
सरावल गाउँपालिकाको अध्यक्षमा निर्वाचित राधेश्याम चौधरीले पार्टीले टिकट नदिएपछि बागी भएर उमेदवारी दिएका छन् । चौधरी बिजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमबाट निर्वाचित भएका थिए ।
लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएसँगै उनी पनि कांग्रेसमा आएका थिए । कांग्रेसले उनलाई टिकट नदिएपछि स्वतन्त्रको नाउँबाट बागी उमेदवारी दिएका हुन् ।
सरावल गाउँपालिकामा पार्टीले टिकट नदिएपछि एमालेका पञ्चराम चौधरीले पनि असन्तुष्ट जनाउँदै स्वतन्त्रको नाउँबाट बागी उमेदवार भएका छन् ।
जिल्लामा ७ स्थानीय तह छन् । प्रमुख र उपप्रमुखबाहेक पनि कांग्रेस र एमालेबाट निर्वाचित भएका धेरै स्थानीय तहका वडाअध्यक्ष र सदस्यहरुले समेत टिकट नपाएपछि केहीले दल फेरेर उमेदवारी दिएका छन् । भने केही स्वतन्त्रका नाउँमा बागी भएर उठेका छन् । जनप्रतिनिधिबाहेक पार्टीबाट टिकट पाउने आशमा रहेका धेरै कार्यकर्ताहरुले पनि दल फेर्ने र बागीबाट उमेदवार दिएका छन् ।
बागी उमेदवार र अरु पार्टीबाट उमेदवार बनेकाहरुका बारे नेपाली कांग्रेसका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले असन्तुष्ट जनाएर उमेदवारी दिएका र अर्कै पार्टीबाट उमेदवारी दिएकालाई एक पटक अनुरोध गरेर फिर्ता बोलाउने प्रयास गरिने बताए । ‘साथीहरु तातो रिस गरेका होलान् ।
पार्टीभित्र ठूलो लगानी गरेका साथीहरुले असन्तुष्ट जनाएर दल फेर्ने र बागी उठ्ने गर्नुभएको छ । उहाँहरु फर्कनेमा विश्वस्त छौं ।’ उनले भने । अनुरोधलाई नमाने पार्टी छाडेकाहरु स्वतः निष्कासन हुने र अन्यलाई कारबाही गरिने पोखरेले बताए । एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले एकपटक उमेदवारी फिर्ता गर्न लगाउने र नमाने कारबाही गरेर निष्कासन गर्ने बताए ।