टिकट नपाए पछि पार्टी फेर्दै उमेदवारी
गोपी ज्ञवाली –
नवलपरासी । पश्चिम नवलपरासीमा आफ्नो पार्टीबाट निकट नपाए पछि पार्टी फेरेर उमेदवारी दिनेहरुमा पालिका अध्यक्ष÷उपाध्यक्षहरु समेत रहेका छन् ।
प्रतापपुर गाउँपालिकाका कार्यवाहक पालिका अध्यक्ष अञ्जुकुमारी चौधरीले काँग्रेसबाट पालिका अध्यक्ष र उपाध्यक्षको कुनै पनि पदमा टिकट नपाएपछि उनले पार्टी नै परिवर्तन गरेर पालिका अध्यक्षमा उमेदवारी दिएका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा काँग्रेसबाट प्रतापुर गाउँपालिका उपाध्यक्षमा विजयी भएका अञ्जुकुमारी चौधरी पालिका अध्यक्षको सवारी दुर्घटनामा निधन भएपछि कार्यवाहक अध्यक्षको रुपमा काम गर्दै आएका थिए ।
उनले हृदयश त्रिपाठीको नयाँ दर्ता गरेको पार्टी जनता प्रगतिशिल पार्टीबाट पालिका अध्यक्षमा उमेदवारी दिएका हुन् ।
यता पश्चिम नवलपरासीकै पाल्ही नन्दन गाउँपालिकाका उपाध्यक्ष पवित्रा कोहारलाई नेपाली काँग्रेसले टिकट नदिए पनि उनी नेकपा माओवादी केन्द्रमा प्रवेश गरी पाल्ही नन्दन गाउँपालिकामा उपाध्यक्षमा उमेदवार दिएकी छिन् ।

उनले मनोनयन दर्ताको अघिल्लो दिन नेपाली काँग्रेस त्याग गरी माओवादी केन्द्रंमा प्रवेश गरेकी थिइन् ।
त्यसैगरी सरावल गाउँपालिकाका पालिका अध्यक्ष राधेश्याम चौधरीलाई काँग्रेसले पुन टिकन नदिए पनि उनी पनि पार्टी परित्याग गरी स्वतन्त्र रुपमा पालिका अध्यक्षमा उमेदवार दिएका छन् ।
सरावल गाउँपालिकाका निवर्तमान प्रमुख चौधरी बिजय कुमार गच्छदार नेतृत्वको तात्कालिन लोकतान्त्रिक फोरमबाट निर्वाचित भएका थिए । लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएसँगै उनी पनि काँग्रेसमै प्रवेश गरेका थिए ।
त्यसैगरी सुनवल नगरपालिकामा पनि लेखनाथ खरेलले एमालेबाट टिकट नपाए पछि माओवादी केन्द्रमा प्रवेश गरी माओवादी केन्द्रबाट नगर उपप्रमुखमा उमेदवारी दिएका छन् ।
उनी नेकपा एमालेका जिल्ला सचिवायल सदस्य थिए । सुनवलमा नेपाली काँग्रस, नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।
रामकुमार श्रेष्ठ । नवलपरासी