खाडीमा होइन, स्वदेशमा नै केही गर्न चाहान्छाैं, खाेइ वातावरण ?




गोविन्द चापागाईं (

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा जन्मिएका राम खत्री उमेरले ५२ वर्षका भए । जीवनमा धेरै परिस्थितिसँग ठक्कर खाँदै दुःखसुखसँग सामना गर्दै आज मुलुकमा नै केही गर्न सके पक्कै विदेशको खाडी तातो घाममा गएर दुख गर्ने अवस्था आउँदैन भन्ने गतिलो उदाहरण दिन चाहन्छन् खत्री । हो, बाध्यता र परिस्थितिका कारणले गर्दा अर्थको अभावैअभावले गर्दा बाध्य भएर मानिसहरू खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि जाने गर्छन् । त्यहाँ विभिन्न कठिनाइसँग जुधेर दिनरात नभनी साहू–महाजनको विभिन्न तनाव सहेर पनि काम गर्नुपर्ने बाध्यता छ । आज यिनै सेरोफेरोमा रहेर राम खत्री खाडीमा जाने होइन, मुलुकमा नै केही गरौं भन्ने सन्देश दिन चाहन्छन् ।




विगत धेरै वर्षअगाडि मलेसिया जाँदा निकै दुःख पाएका खत्री आफ्नो अनुभव सुनाउँछन्, “त्यहाँ भाषाको समस्या त आफ्नो ठाउँमा छ । तर त्योभन्दा पनि सम्बन्धित काममा योग्य नहुँदा निकै दुःख पाइने रहेछ । परिस्थितिले साथ दिए जस्तोसुकै दुःख गर्न पनि तयार हुनुपर्ने रहेछ ।” नभन्दै केही वर्ष मलेसियामा दुःख गरेर फर्केपछि कहिल्यै वैदेशिक रोजगारीमा नजाने अठोटसहित मुलुकभित्रै अर्थपूर्ण तरिकाले केही गर्ने सोच बनाए र सुरु गरे गाईपालन र तरकारी खेती अर्थात् कृषि कर्म । विगत १०/१२ वर्षदेखि गाई पाल्दै आएका खत्री अहिले गाईले दिनको दुई पाथी दूध दिने गरेको र वरपरका सबै जना मानिसहरू घरमा नै दूध लिन आउने गरेको बताउँछन् । एक मानाको ५० रुपैयाँका दरले मासिक ४५ हजार रुपैयाँ आम्दानी हुन्छ भने उता तरकारी खेती गरेर पनि मासिक २५ हजार रुपैयाँ आम्दानी हुने बताउँछन् उनी ।

खत्रीले लगाएको एक रोपनी जमिनमा मौसमअनुसारको तरकारी उत्पादन हुन्छ । उत्पादन भएको तरकारी व्यापारीहरू बारीमा नै आएर लैजान्छन् भने आफू बेच्न बजारसम्म पनि जानु नपर्ने बताउँछन् । अहिले उनले प्याज, लसुन, चम्सुर, रायोलगायत विभिन्न तरकारीहरू लगाएका छन् । यही व्यवसायबाट पाँच जनाको परिवारलाई खान–लगाउन सहज भएको छ भने माइली छोरीलाई अस्ट्रेलिया पठाएको र कान्छी छोरी नर्स पढ्दै अस्ट्रेलिया जाने तरखरमा रहेको तथा एउटा छोरो १२ पढ्दै गरेको बताउँछन् उनी ।

 

उनी भन्छन्, “अहिलेका धेरै युवा जनशक्ति आफ्नो गाउँघरमा भएको जमिन बाँझो राखी घरमा वृद्ध बाउआमालाई मात्र छाडेर खाडीको तातो घाममा दुःख गर्न गएका धेरै देख्छौंं, तर म बिन्ती गर्छु— हामै्र मुलुकमा केही गरौं । बीउबिजन स्थानीय सरकारसँग मागौं, कृषि अनुदानमा सहभागी भएर ऋण लिऊँ, कृषिमा कर्म गरौं । सुन फल्ने ठाउँ यहीं छ ।”

गाई भनेको लक्ष्मी माता हो । तर, काठमाडौंमा अत्यधिक घना बस्तीका कारण चरन भूमिको अभाव छ । चरन भूमिको अभावले गाईपालन पनि कताकता लोप हुँदै गइरहेको महसुुस भएको छ । यसले गर्दा अनधिकृत रूपमा स्थानीय सरकारले जग्गा प्लनिङ गर्ने कार्य तत्काल रोक्नुपर्ने बताउँछन् उनी ।

पछिल्लो समय आम दर्शकमाझ टिकटकलगायत सोसल मिडियामा पनि अत्यधिक रुचाइएका कलाकार पनि हुन् खत्री । दर्शना मिडियाबाट प्रसारण हुने टेलिसिरियल ‘सम्बन्ध नाता’ देखि धेरै टेलिसिरियलमा पनि अभिनयको दक्खल छ उनीमा । खत्री केही महिनाअघि मात्रै काठमाडौंदेखि मुगुको रारा तालसम्म एकल मोटरसाइकलमा गएको निकै चुनौतीपूर्ण यात्रालाई अविस्मरणीय यात्रा मान्छन् । यदि मोटरसाइकलमा यात्रा गर्दै हुनुहुन्छ भने मोटरसाइकल पूरै कन्डिसनमा राखेर जाँदा केही नहुने तर मोबिल भने पटक–पटक चेक गर्नुपर्ने बताउँछन् उनी । (कारोबार दैनिकबाट)



सम्बन्धित
Loading...