नवलपरासी, निर्वाचनलाई लक्षित भारतसहित ४ जिल्लाका सुरक्षा अधिकारीको बैठक


पश्चिम नवलपरासीको सुनवलमा आयोजना गरिएको बैठकमा सहभागी भारतिय र नेपाली सुरक्षाअधिकारीहरु । तस्बिर: हरि शर्मा

 



हरि शर्मा –
परासी । खुला सीमानाका कारण स्थानीय तह निर्वाचनमा हुन सक्ने अपराधिक कृयाकलापलाई नियन्त्रण गर्न भारतसहित ४ जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक बुधबार पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ ।

 

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जिल्लाका सुर«क्षा अधिकारीहरुको बैठक विशेष गरी स्थानीय निर्वाचनमा केन्द्रित थियो । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षा अधिकारीहरुको पनि सहयोग आवश्यक रहेकाले बैठक आयोजना गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

 




निर्वाचनमा सीमा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र त्यसले निर्वाचनलाई बिथोल्न सक्ने भएकाले त्यसको नियन्त्रणका सीमा क्षेत्रमा गस्ती बढाएर निगरानी गर्ने निर्णय भएको छ । त्यसबाहेक सीमा क्षेत्रबाट भित्रिने लागुऔषध, मानव बेचविखन र तस्करी नियन्त्रणका विषयमा पनि गंभिर छलफल भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

 

दुई देशका अधिकारीहरु बीच निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन शुरु हुनुभन्दा ७२ घण्टा अघि सीमा शिल गर्ने निर्णय भएको छ । बैशाख २७ गते साँझ ७ बजेदेखि बैशाख ३० गते साँझ ७ बजेसम्म सीमा शिल हुने छ । सीमा शिल भएपनि वैवाहिक कार्यक्रम र एम्बुलेन्सलाई भने आवतजावत गर्न दिइने छ । निर्वाचनका बेला सीमा क्षेत्रबाट हुन सक्ने अपराधिक गतितिविधिसँगै अन्य कृयाकलापलाई नियन्त्रणमा सहयोग गर्नु आफूहरुको पनि कर्तव्य भएकाले गस्ती बढाएर निगरानी बढाउने भारत पश्चिम चम्पारनका प्रमुख जिल्ला अधिकारी(डिएम) कुन्दन कुमारले बताए ।

 

बैठकमा चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेशअन्तरगत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । पूर्वी नवलपरासी र चितवन जिल्ला भारतको बिहार प्रदेशसँग जोडिएको छ । भने पश्चिम नवलपरासी बिहारसँगै उत्तर प्रदेशसँग सीमाना जोडिएको छ ।

 

निर्वाचनलाई लक्षितगर्दै यसअघि कपिलवस्तु, पश्चिम नवलपरासी, रुपन्देही र भारत उत्तर प्रदेशअन्तरगतको महाराजगञ्ज जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक रुपन्देहीमा सम्पन्न भएको थियो ।

 

 



सम्बन्धित
Loading...