पश्चिम नवलपरासीः कतै दुई त कतै त्रिपक्षिय प्रतिस्पर्धा

परासी – पश्चिम नवलपरासीका ७ स्थानीय तहमा कतै दुई पक्षिय त कतै त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । प्रमुख र उपप्रमुख एकै दलको आउने संभावना कम देखिएको छ ।
जिल्लाकै पुरानो नगरपालिका रहेको सदरमुकाम परासीस्थित रामग्राम नगरपालिकामा त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ नेपाली कांग्रेस, एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच प्रतिस्पर्धा हुने देखिएको हो । जसपाले माओवादी केन्द्रसँग गठबन्धन गरेको छ । यी तीनदलबीच प्रमुख पदमा प्रतिस्पर्धा देखिएको हो । उपप्रमुखमा नेपाली कांग्रेस र एमालेसँगै राप्रपाका उमेदवार पनि प्रतिस्पर्धामा छन् ।
रामग्राम नगरपालिकामा यसअघिको चुनावमा नेपाली कांग्रेसले प्रमुख÷उपप्रमुख जितेको थियो ।
त्यस्तै सुनवल नगरपालिकामा नेपाली कांग्रेस ÷ माओवादी केन्द्रको गठबन्धन र एमालेबीच नै प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि यहाँ कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो ।
बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र एमाले÷राष्ट्रिय जनमुक्ति पार्टीको गठबन्धनबीच प्रतिस्पर्धा छ । यसअघि यहाँ प्रमुख÷उपप्रमुखमा एमालेले जितेको थियो ।
सरावल गाउँपालिकामा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । सरावलमा यसअघि यहाँ तत्कालीन फोरम लोकतान्त्रिक (पछि कांग्रेसमा समाहित) ले अध्यक्ष र कांग्रेसले उपाध्यक्षमा जितेको थियो । पाल्हीनन्दन गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि यहाँ माओवादी केन्द्रले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष जितेको थियो ।

त्यस्तै सुस्ता गाउँपालिकामा कांग्रेस र एमाले नै प्रमुख प्रतिस्पर्धामा छन् । यसअघि यहाँ एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।
प्रतापपुर गाउँपालिकामा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिएको छ । यसअघि यहाँ नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।