चुक्यो सरकार: कालापानी, लिपुलेक र लिम्पियाधुरामा स्थानीय तहको निर्वाचन नहुने

नेपालले आफ्नो भूभाग भएको दाबी गर्दै देशको राजनीतिक र प्रशासनिक नक्सामा समाविष्ट गरेको भए पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा स्थानीय तहको निर्वाचन हुने कुनै सङ्केत देखिएको छैन।
त्यस क्षेत्रमा अहिले चुनाव गराउन सम्भव नभएको सङ्केत अधिकारीहरूले गरेका छन्। यसअघि उक्त क्षेत्रमा प्रत्यक्ष रूपमा जनगणना पनि हुन सकेको थिएन।
लिपुलेकसम्मको भूभाग नेपालले आफ्नो भएको दाबी गरेपछि पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो।भारतले पनि ती स्थान आफ्नो भएको दाबी गर्दै आएको छ।नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरी नयाँ नक्सा जारी गरेपछि भारतले त्यसप्रति आपत्ति व्यक्त गरेको थियो।
के भन्छ निर्वाचन आयोग ?
निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रमा बसोबास गर्ने कसैको नाम पनि मतदाता सूचीमा छैन।कालापानी, लिपुलेक र लिम्पियाधुराका मानिसहरूले नागरिकता लिएर निर्वाचन नामावलीमा नाम भए आफूहरूले ती क्षेत्रमा पनि निर्वाचन गराउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
उनले भने, ‘निर्वाचन गर्नका लागि मतदाता नामावली चाहिन्छ। त्यसमा नाम समावेश छ भने निर्वाचन आयोगले गएर बाकस थाप्छ।’
निर्वाचन हुन केही दिन मात्र बाँकी रहँदा आयोगका प्रवक्ताले भारतसँगको सीमामा रहेको त्यस क्षेत्रमा चुनाव हुने वा नहुनेबारे स्पष्ट रूपमा केही बताएनन्।
‘नामावली सङ्कलन भएको छ भने त्यहाँ निर्वाचन हुन्छ। उहाँहरूले मतदान गर्न पाउनुहुन्छ। त्यो सङ्कलन भएको छ कि छैन मलाई थाहा छैन,’ उनले थप भने।उनका अनुसार यस विषयको उत्तरदायी निकाय गृह मन्त्रालय हो।
के भन्छ गृह मन्त्रालय ?
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार निर्वाचन अधिकृतहरू दार्चुला जिल्लाका सम्पूर्ण मतदानकेन्द्रमा पुगिसकेका छन्। तर उनले भने अनुसारको ‘सम्पूर्ण मतदानकेन्द्र’मा कालापानीलगायत अरू भूभाग पर्छन् कि पर्दैनन् भन्ने स्पष्ट छैन।
‘त्यहाँका मानिसको नाम मतदाता नामावलीमा भए, नभएको मैले बुझेको छैन। कुन ठाउँमा मतदानकेन्द्र छ वा छैन त्यो मलाई थाहा हुँदैन। निर्वाचन आयोगले सर्वेक्षण र व्यवस्थापन गरेको ठाउँमा कर्मचारी पुगिसके’ उनले भने।
उनले जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जिल्लाका सम्पूर्ण स्थानीय तहमा चुनावको तयारी सकिएको जानकारी दिएको बताए।