नवलपुरः कावासोतीमा मेयर/उपमेयर एमालेको अग्रता
कावासोती १ मा काँग्रेस, कावासोती १७ मा एमालेको अग्रता

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरप्रमुख उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएको छ ।
अहिले कावासोती १ र कावासोती १७ को मतगणना जारी रहेको छ । पछिल्लो जानकारी अनुसार कावासोती १ को २५२१ र कावासोती १७ को २७०० मत गणना सकिएको छ ।
कावासोतीमा २ वटा वडाको गरी ५२२१ मत गन्दा नगरप्रमुख र उपप्रमुख दुवैमा एमालेको अग्रता रहेको छ । यस अघिको निर्वाचनमा कावासोती १ नेपाली काँग्रेस र कावासोती १७ नेकपा एमालेले जित हात पारेको क्षेत्र हो ।
अहिलेसम्म नगरप्रमुखमा नेकपा एमालेका विष्णु भुसालले २४७२ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेसका महेन्द्र पोख्रेलले २२६५ मत प्राप्त गरेका छन् । भुसालले पोख्रेललाई २ सय ७ मत अन्तरले पछाडि पारेका छन् ।
त्यसैगरी नगरउपप्रमुखमा नेकपा एमालेकी फुलकुमारी थनेतको अग्रता रहेको छ । उनले उपप्रमुखमा २५४५ मत प्राप्त गरेका छन् भने काँग्रेस माओवादी गठबन्धनबाट माओवादी केन्द्रका पतिराम थनेतले उपप्रमुखमा १४८४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कावासोती १ को वडाध्यक्षमा नेपाली काँग्रेसले ११८९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले ११३५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कावासोती १७ मा वडाध्यक्षनमा नेकपा एमालेको अग्रता रहेको छ । एमालेका वडाध्यक्षका उम्मेदवारले १३१२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवारले ११५८ मत प्राप्त गरेका छन् । कावासोतीमा ४ ठाउँमा मतगणना भईरहेको छ ।