नवलपुरः गैडाकोट १७ को वडाध्यक्षमा ५ मत अन्तरले माओवादी केन्द्र विजयी, १,२,३ र १८ मा काँग्रेस विजयी

प्रमुख उपप्रमुखमा काँग्रेसको अग्रता




रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट १७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपी कंडेल निर्वाचित भएका छन् ।




उनले नेकपा एमाले र नेपाली काँग्रेसको उम्मेदवारलाई पछाडि पार्दै वडाध्यक्षमा जित हात पारेका हुन् । यहाँ वडा सदस्यहरुमा भने ४ जना नै काँग्रेसको विजयी भएको छ ।

गैडाकोट १७ मा माओवादी केन्द्रका गोपी कंडेलले ३४२ मत प्राप्त गरी वडाध्यक्षमा जित हात पारेका हुन् । त्यसैगरी नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार रत्नबहादुर खड्काले ३३७ मत प्राप्त गरे भने नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार विष्णुबहादुर घर्तीले १६७ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा कंडेलले खड्काले भन्दा जम्मा ५ मत बढी प्राप्त गरेका छन् ।
गैडाकोटमा अहिलेसम्म ५ वटा वडाको अन्तिम मत परिणाम आएको छ । जसअन्तरगत गैडाकोट १ को वडाध्यक्षमा नेपाली काँग्रेसको सुरेन्द्र प्रसाद रेग्मी, २ को वडाध्यक्षमा काँग्रेसकै प्रकाश सापकोटा, गैडाकोट ३ को वडाध्यक्षमा काँग्रेसका शिवकान्त तिवारी, गैडाकोट १८ मा काँग्रेसका तिलबहादुर चितौरे विजयी भएका छन् ।
गैडाकोट नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता रहेको छ । काँग्रेसका नगरप्रमुखका उम्मेदवार मदनभक्त अधिकारीले ५००३ र उप्रमुखका उम्मेदवार शान्ती कोइरालाले ४८३७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार छत्रराज पौडेलले ३४६२ र उपप्रमुखमा राप्रपाका उम्मेदवार तुलाराम पौडेलले २१९९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका छत्रराज पौडेलले यस अघिको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा विजयी भएका थिए । उपप्रमुखमा भने काँग्रेसले जित हात पारेको थियो ।



सम्बन्धित
Loading...