नवलपुरः बुलिङ्गटारमा काँग्रेसको किल्ला भत्कायो एमालेका सुनारीले

नवलपुर । पूर्वी नवलपरासीमा आफ्नो एउटा गढ बौदीकाली गाउँपालिका गुमाएको नेपाली काँग्रेसले बुलिङ्गटार गाउँपालिका पनि गुमाएको छ ।
बुलिङ्गटार गाउँपालिकाको काँग्रेसको किल्ला नेकपा एमालेका दिपेन्द्र सुनारीले तोडिदिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा बुलिङ्गटार गाउँपालिकामा नेपाली काँग्रेसले फराकिलो मत अन्तरले पालिका अध्यक्ष र उपाध्यक्ष दुवैका साथै ६ वटै वडामा जित हात पारेको थियो ।
अहिले १ वटा वडा र गाउँपालिका अध्यक्ष काँग्रेसले गुमाएको छ । गाउँपालिका उपाध्यक्ष भने काँग्रेसले नै जितेको छ ।
बुलिङ्गटार गाउँपालिका अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र सुनारी ४०५९ मतका साथ विजयी भएका छन् । उनका निकतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका शशिकिरण बस्ताकोटीले ३९०० मत ल्याएका छन् । बस्ताकोटी यस अघि काँग्रेसबाट बुलिङ्गटारमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।
गाउँपालिका उपाध्यक्षमा भने नेपाली काँग्रेसकी दिलमाया राना विजयी भएकी छिन् । उनले ४२७३ मत पाउँदा उनका निकतम् प्रतिद्वन्दी नेकपा एमालेकी भूमिका खण्डलुकले ३५१९ मत प्राप्त गरेका थिए ।
बुलिङ्गटार १, २, ३, ४ र ६ नम्बर वडामा काँग्रेस र बुलिङ्गटार ५ मा नेकपा एमालेले जित हात पारेको छ ।
बुलिङ्गटार १ को वडाध्यक्षमा काँग्रेसका दिलबहादुर सुर्यबंशी विजयी भएका छन् । यहाँ काँग्रेसको प्यानल नै विजयी भएको हो । सूर्यबंशीले वडाध्यक्षमा ७७३ मत प्राप्त गरे भने नेकपा एमालेका खिम बहादुर डिस्वाले ६०१ मत प्राप्त गरे ।
त्यसैगरी बुलिङटार २ मा नेपाली काँग्रेसका कमलराज वकावल मगरले ६२५ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । यहाँ वडाध्यक्षमा एमालेका देवबहादुर दर्लामी मगरले ३९१ मत प्राप्त गरे ।
त्यसैगरी बुलिङ्गटार ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका विष्णु विर जर्घा मगर विजयी भएका छन् । उनले ७५३ मत प्राप्त गर्दा एमालेका कोशराज पौडेलले ७४७ मत प्राप्त गरे । जर्घा वडाध्यक्षमा जम्मा ६ मत अन्तरले विजयी भएका हुन् ।
त्यसैगरी बुलिङ्गटार ४ को वडाध्यक्षमा काँग्रेसका मिनबहादुर आले विजयी भएका छन् । उनले ९९१ मत प्राप्त गर्दा एमालेका कुलबहादुर ठाडाले ६९२ मत प्राप्त गरे ।
बौदीकाली ५ को वडाध्यक्षमा भने नेकपा एमालेका विजयी थापा विजयी भएका छन् । उनले वडाध्यक्षमा ५८७ मत प्राप्त गरे भने नेपाली काँग्रेसका शेरबहादुर खानले ४०७ मत प्राप्त गरे ।
त्यसैगरी बौदीकाली ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका मोहनराज पाठक विजयी भएका छन् । उनले ६७१ मत प्राप्त गर्दा नेकपा एमालेका बलराम लामिछानेले ६५२ मत प्राप्त गरे ।
नवलपुरः बौदीकालीमा काँग्रेसको किल्ला तोड्दै, एमाले विजयी