व्यक्तिगत श्रम स्वीकृति आजदेखि अनलाइनबाट मात्रै दिईने

वैदेशिक रोजगार कार्यालय काठमाडौँले आज शुक्रबारदेखि अनलाइनबाट मात्रै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ।
वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ।
कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाटै प्रदान गर्न थालेको छ। सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने हजारौंको भीड हटेको छ।
हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्णरूपमा अनलाइन प्रणालीबाट मात्र सेवा प्रवाह गर्ने भएको सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ।
आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितोरूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको वैदेशिक रोजगार विभागका निर्देशक श्रीचन्द्र साहले जानकारी दिए।
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई परिमार्जन गरि अगाडि निवेदन आउनेलाई प्राथमिकताका साथ दुई तह कायम गरी अनलाइनबाट मात्र जारी गरिने बताईएको छ।
