विजय जुलुस ननिकाल्न बालेनको आग्रह


 



काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनश्चित भएको छ। बालेनले आफ्ना समर्थकलाई विजय जुलुस ननिकाल्न आग्रह गरेका छन्।

 

बुधबार फेसबुकमा लामो स्टेटस लेख्दै शाहले अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका हुन्।  यसबारेमा उनले भनेका छन्, ‘हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ। र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ।’

 

उनले ठाउँठाउँबाट र्यालीका लागि काठमाडौँ आउने कुराहरु सुनिरहेको अवस्थामा र्यालीका लागि काठमाण्डौँ आउने दुख नगर्न आग्रह गरेका छन्। यो अभियान सबैको भएको भन्दै यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए खुसी हुने उनको भनाई छ।

 

शाहले अबको बाटो सहज नभएकोले उनीहरुको अभियानको वास्तविक परिक्षा अब सुरु भएको उल्लेख गरेका छन्। ‘हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ। तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ। अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ। हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’ हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन्,’ उनले लेखेका छन्।

 

महानगरमा शाहको जित निश्चित भएपनि घोषणा भईसकेको छैन।

 



सम्बन्धित
Loading...