मानो खाएर मुरी उब्जाउने बेलामा रासायनिक मलको अभाव


 



मानो खाएर मुरी उब्जाउने तयारी गरिरहेका झापाका किसान रासायनिक मल पाउन नसक्दा चिन्तित भएका छन् ।

वर्षा सुरु भएसँगै धानको बिउ राख्ने बेलामा रासायनिक मल नपाउँदा किसान चिन्तित भएका हुन् । झापा बाह्दशी–७ की दिलकुमारी मिश्र भन्छिन्, “पानी लगातार परिरहेको छ, धानको बीउ राख्नुपर्ने मल छैन । मलबिना धानको बेर्ना राम्रो फस्टाउँदैन, त्यसले धान पनि राम्रो उब्जाउ हुँदैन ।” धानको बीउ राख्ने बेलामा खेतमा लगाउनु पर्ने डिएपी मल पाउन नसकिएको उनले बताइन् ।

 



रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्न समेत मल नपाएको कमल– ६ का ख्याम आचार्यले बताए ।

वर्षा सुरु भइसकेकाले कतिपय किसानले धानको बीउ राख्न सुरु गरिसकेपनि यो समयमा मलको अभाव भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपरजोनका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताए ।

८५ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा धान खेती हुने झापाका किसान मलको अभाव खेप्न बाध्य भएको उनी बताउँछन् ।

यता झापाको बिर्तामोडस्थित कृषि सामग्री कम्पनीको गोदाममा ७ सय टन डीएपी रहेको कृषि सामग्री कम्पनीका वरिष्ठ सहायक नारायण टुडुले बताए । धानका लागि उच्च माग हुने डिएपी न्युन परिमाणमा आएका कारण किसानको माग थेग्न समेत कठिन भएको उनले बताए ।

 

प्रदेश कृषि मन्त्रालयले सबै जिल्लाका स्थानीय तहलाई कोटा निर्धारण गरेर मल वितरण गरेपछि पालिकाको सिफारिस लिएर सहकारी संस्थामा मल लिन जान उनले किसानलाई आग्रह गरे ।

 

त्यस्तै कमल गाउँपालिकाका लागि एक हजार बोरा डिएपी मलको कोटा तोकिएको कमल गाउँपालिका कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले बताए । कृषि सामग्री कम्पनीबाट प्राप्त हुने सो मल विभिन्न सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराइने उनले बताए ।

 

कमल– ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक टंक पराजुलीले यस वर्ष सहकारी संस्थाको मागको तुलनामा न्युन परीमाणको डिएपी मल कोटा निर्धारण भएकाले मल वितरण गर्ने कठिन हुने बताए । मल नपाए पछि झापाका किसान भारतीय बजारबाट भन्सार छलेर ल्याइने महँगोमा मल किन्न बाध्य भएका छन् ।

 

प्रदेश १ का १४ र मधेस प्रदेशका सप्तरी र सिरहालाई अनुदानको मल वितरण गर्दै आएको कृषि सामग्री कम्पनीको प्रदेश कार्यालय विराटनगर गोदाममा बर्खे धान खेतीका लागि डीएपी र युरिया मौज्दात नभएको प्रदेश कार्यालयका निमित्त प्रमुख होम पराजुलीले बताए  । कम्पनीले बर्खे धानका लागि न डीएपी र युरिया मौज्दात नराखेको उनले बताए ।

 

 



सम्बन्धित
Loading...