“मलाई बचाउनुस् म बाँच्न चाहन्छु” भन्दै ८ वर्षीय बालक मृत्यु सँग लड्दै सहयोगका अपिल !
भरतपुर । विद्यालयमा खेल्दै पढ्दै गर्ने उमेरका आयुष चौधरी यतिबेला जीवनमरणको दोसाँधमा छन् । रक्त क्यान्सरको उपचार गराइरहेका आठ वर्षीय बालक दुई वर्षदेखि क्यान्सर अस्पतालको बेडमा छट्पटिरहेका छन् ।
उपचार गर्ने पैसाको अभाव भएपछि उनका बुबाआमा अब के गर्ने भनेर सोच्न सकिरहेका छैनन् । विभिन्न अस्पतालमा उपचार गर्दा पनि छोराको रोग निको नभएपछि रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–१० का सरोजकुमार चौधरीले छोरा आयुषलाई दुई वर्षअघि चितवन ल्याएका हुन् ।
छोराको उपचारमा अहिलेसम्म करिब १८ लाख रूपैयाँ खर्च भइसकेको उनी बताउँछन् । अहिले चिकित्सकले लेखेर दिएको औषधि किन्न र खान–बस्न पैसा नभएको उनले बताए । सरकारले उपचारमा दिने एक लाख रूपैयाँ छूट पनि सकिइसकेको उनको भनाइ छ ।बिरामी आयुषलाई अस्पतालले निःशुल्क खाना दिन्छ ।
छोराको रेखदेख गर्न बुबाआमा दुवै अस्पतालमै छन् । बुबाआमामध्ये एक जना अस्पतालकै कुरूवा घरमा प्रतिदिन ४० रूपैयाँ भाडा तिरेर बस्छन् । एक जना छोरासँगै बस्छन् । छोरा सिकिस्त हुनथालेपछि उनीहरुले गएको माघमा अस्पताल ल्याएका हुन् ।
जेठ १ गतेदेखि आयुषका दुईवटै खुट्टा चल्न छाडेको छ । उनलाई नियमितरुपमा केमु चढाइएको आयुषका बुबाले बताए । ‘उपचार गर्दागर्दै दुईवटै खुट्टा चल्न छाड्यो, दाहिने आँखाले देख्न पनि सक्दैन’, उनले भने, ‘अण्डकोषमा पनि क्यान्सर सरेछ, अहिले सेकाइ भइराछ । यसको चारैतिर क्यान्सर फैलिएको छ ।’
उपचार गर्दा आफूसँग भएको अलिकति पैसा पनि सबै सकिएको उनले बताए । विदेश र गाउँघरका साथीभाइ र आफन्तले एक लाख रूपैयाँ सहयोग गरेका थिए । नगरपालिकाले पनि २५ हजार रूपैयाँ सहयोग गरेको उनले बताए ।
सम्पत्तिको नाममा सुकुमबासी बस्तीमा बनाएको माटोको कच्ची घरमात्रै बाँकी रहेको उनले गुनासो गरे ।‘अहिले त खानलाई पनि पैसा छैन, सबै सकिइसक्यो’, उनी भन्छन्, ‘डाक्टरहरु आफैँले पनि २५ हजार सहयोग गर्नुभयो, त्यो पनि सकियो ।’ लगातार ज्वरो आएपछि सरोजले छोरालाई स्थानीय मेडिकलमा देखाएका थिए । चिकित्सकले टाइफाइड भएको बताएका थिए ।
टाइफाइडको उपचार हुँदै गर्दा केही दिनदेखि आयुषको खुट्टा दुख्न थाल्यो । दुखाइको पीडाले छोरो रोइरहेपछि थप उपचारका लागि वीरगन्ज ल्याए । त्यहाँ चार दिन राखेर तिहारको दिन छोरालाई उनले घर लगे । करिब १२ दिनपछि छोराको खुट्टा र हात दुवै दुख्न थाल्यो । छोराले दुखाइ सहन नसकेपछि उनले चितवन मेडिकल कलेज ल्याए ।
त्यहाँ दुई दिनसम्म उपचार भयो, तर रोग निको हुने सङ्केत देखिएन । उपचारका क्रममा चिकित्सकले क्यान्सरको आशङ्का गरेपछि परीक्षणका लागि उनले छोरोलाई क्यान्सर अस्पताल ल्याए । क्यान्सर अस्पताल लगेको एक महिनापछि छोरालाई रक्त क्यान्सर भएको पुष्टि भएको हो ।
‘सिएमसीमै डाक्टरले क्यान्सरको आशङ्का गरेपछि हामी आत्तिसकेका थियौँ, निको हुँदैन कि भन्ने सोच्यौँ’, उनले सम्झे, ‘क्यान्सर अस्पताल ल्याएपछि पनि एक महिनासम्म ज्वरो निको नै भएन । बोनम्यारोको चेक गरेपछि क्यान्सर भएको थाहा भयो ।’