खोरमै खाना, खोरमै बास

उपचार खर्च जुटाउन नसक्दा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ शिखरपुर भित्तेका ३७ वर्षीय शिवराज विकलाई परिवारले खोरमा थुनेर राखेका छन् । मानसिक रोगबाट ग्रस्त उनलाई परिवारले सात वर्षदेखि खोरमा थुनेर राखेका हुन् ।
खोरमा नराख्दा अश्लील शब्द बोल्ने र कपडासमेत फुकालेर हिँड्ने गरेपछि खोरमै राख्न बाध्य भएको परिवारले बताएका छन् । उनी रातभरि रुने, कराउने, अश्लील बोल्ने, घरमा आएका मानिसलाई कुट्ने र केटाकेटीलाई लखेटीलखेटी कुटपिट गर्र्ने गरेकाले खोरमा थुन्नुपरेको अभिभावकको भनाइ छ । उनलाई अभिभावकले खानेकुरासमेत खोरमा राखी दिन्छन् ।
घरदेखि अलि पर बाँसघारीमा चारैतिर काठले ’boutर जस्ताले छाएको जमिनदेखि चार फिट अग्लो खोरमा फटार ओछयाएर बनाएको खोरमा उनलाई थुनेर राखिएको छ । कमाएर ल्याउने छोराले नै मानसिक सन्तुलन गुमाएपछि अहिले परिवारमा बिहान बेलुकाको छान टार्नसमेत समस्या रहेको उनकी आमा सुमित्रा विकले बताइन् ।
उनी कमाउन भनी २०६९ सालमा काठमाडौं गएका थिए । सुरुमा उनले केही रकम घरमा पठाए पनि । तर, २०७२ सालको महाभूकम्पपछि उनी ‘बेपत्ता’ बने । खोजी गर्दै जाँदा चितवनको नारायण नदी किनारमा मानसिक सन्तुलन गुमेको अवस्थामा उनी भेटिए ।
त्यसपछि उद्धार गरी उनलाई विराटनगर सुधार केन्द्रमा लगियो । तर, सुधार भएन । त्यसपछि चन्दा उठाएर पाटन मानसिक रोग अस्पताल लगियो । त्यहाँ उनमा सुधार देखियो ।
आमा सुमित्राका अनुसार, त्यसपछि उनको नागरिकता बनाउने काम भयो । उनले वैदेशिक रोजगारीका लागि जान चाहेकाले राहदानी बनाउन पनि खोजिएको थियो । तर, फेरि मानसिक सन्तुलन गुमाउन पुगे ।
आमा सुमित्राका अनुसार, आर्थिक अभावका कारण औषधि किन्न पनि समस्या परेको छ । ‘औषधि खाँदा ठीक हुन्छ तर अहिले औषधि किन्न पनि पैसा छैन, नियमित औषधि दिन नसक्दा समस्या झन्झन् बढ्दै छ,’ उनले भनिन् ।
चौदण्डीगढी नगरपालिका–२ शिखरपुर भित्ते माडिबासस्थित जंगल फडानी गरेर बसेका उनको परिवार ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । खोरिया फाँडेर बसेका उनीहरूको सात जनाको परिवार छ ।
जनता आवास कार्यक्रमले बनाइदिएको सानो घरमा बस्दै आएका उनीहरूको घर वरिपरि करिब पाँच कठ्ठा ऐलानी जमिनबाहेक केही छैन । आफ्नै जग्गा जमिन नभएका विक परिवारलाई मजदुरी गरेर खानुपर्ने बाध्यता छ । सम्पत्तिका नाममा एउटा घर मात्रै भएका विक परिवारलाई हातमुख जोर्ने समस्या छ ।
उपचार अभावमा घरभन्दा पर बनाइएको खोरमा उनलाई राखिएको छ । आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि खोरमा राख्नुपरेको उनका भाइ अर्जुन विकले बताए । दाजुको अवस्थाले आफूलाई विक्षिप्त बनाएको उनको भनाइ छ । दाजुलाई खोरमा थुन्नुको विकल्प नभएको बताउँदै उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले पेटभरि खुवाउनसमेत नसक्ने अवस्था छ ।’
छोरालाई खोरमा राख्नुपर्दा आफूलाई धेरै पीडा हुने गरेको आमा सुमित्रा विकको भनाइ छ ।