मध्यविन्दुमा योजना तर्जुमाका लागि वालभेला
मध्यविन्दु नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को बालबालिकाको योजना तर्जुमाका लागि वडा र नगरबाल भेला भएको छ । बालबालिकाको क्षेत्रमा विनियोजित बजेट उनिहरुको माग र योजनाको आधारमा छनोट गर्ने योजना सहित नगरपालिकाले भेलाको आयोजना गरेको हो ।
मध्यविन्दु नगरपालिकाको आयोजनामा भएको भेलामा मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि भिमलाल अधिकारीले बालअधिकारको सवालमा नगरपालिका सदैव गम्भीर रहेको बताए ।
उनले वडा तथा नगर स्तरिय बाल क्लव तथा सञ्जालमा रहेका बालबालिकाले समग्र नगर भित्रका बालबालिकाको प्रतिनिधित्व गर्ने भन्दै सुगमदेखि दुर्गमसम्मका बालबालिकाको समेत सहभागिता रहने गरी योजना छनोट तथा निर्माण गरी आवश्यक सुझाव दिन अनुरोध गरे।
उनले अहिलेका बालबालिकाहरुबाट नै भविश्यका दक्ष र सवल जनशक्ति उत्पादन हुने भन्दै बालबालिका र शिक्षामा गरिने लगानीले नगरपालिकाको समृद्धिको आधार तय गर्ने बताए ।
उनले नगरपालिकालाई बालमैत्री नगर घोषणाको लागि विगतदेखि बालबालिकाको क्षेत्रमा क्रियाशिल सरोकारवालाहरु संगको समेत समन्वयमा आवश्यक कार्यहरु गर्ने बताए।
कार्यक्रमका विशेष अतिथि नगर उपप्रमुख पूर्णकला चौधरीले बालबालिकाको हकहितको लागि र उनिहरुको अधिकारका सवालहरुको सम्बोधनको लागि आफु सदैव प्रतिबद्ध रहेको बताए।
मध्यविन्दु नगरपालिका शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डेले कोभिड–१९ लगायत कारणले नगरपालिकालाई बालमैत्री घोषणा गर्ने पूर्वनिर्धारित कार्यक्रमहरु प्रभावित भएको सन्दर्भमा अब नगरपालिकामा निर्वाचित नयाँ नेतृत्व मार्फत ति काम अगाडी बढ्ने बताए ।
जागृतिबाल तथा युवा सरोकार नेपालका महासचिव बालअधिकारकर्मी दिपक शर्माले बालबालिकाको क्षेत्रमा विनियोजन हुने बजेटको लागि बालबालिकाबाट नै योजना तर्जुमाको लागि नगरपालिकाले गरेको कार्यक्रमको लागि धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा मध्यविन्दु नगरपालिका भित्र बालमैत्री नगर निर्माण लगायतको कार्यको लागि आवश्यक समन्वयको लागि आफु र आफ्नो संस्था सदैव तयार रहको बताए ।
कार्यक्रममा बालबालिकाहरुले नगरलाई बालमैत्री बनाउन के गर्न सकिन्छ ?, कस्ता कार्यक्रमहरु प्रभावकारी हुन्छन् ?, स्थानीय स्तरमा कुन कुन कार्यक्रमको आवश्यकता रहेको छ भन्ने विषयमा छलफल गरेका थिए ।