नवलपरासी जिल्ला अदालत नजिकै गोली चल्यो, फरार अझै पक्राउ परेनन

रामकुमार श्रेष्ठ
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ । घटना नवलपरासी जिल्ला अदालत नजिकै ५० मिटर पर भएको हो ।
पश्चिम नवलपरासीको सरावल गाउंपालिका ४ का हर्षराम यादबले आफ्नी काकी रोशनी यादबलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोली प्रहार भएपनि मानवीय क्षती भने भएको छैन् ।
सोमबार जिल्ला अदालत परासीमा अशं मुद्दाको मिलापत्र जानेक्रममा जिल्ला अदालत नजिकै हर्षरामले रोशनी यादबलाई लक्षित गरेर गोलि चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुले अंश वन्दाको मिला पत्र गर्न नजिकैको वकिलको कार्यालय वरपर छलफल गरिरहेको अवस्थामा एक्कासी गोली प्रहार गरेका थिए ।
गोली प्रहार गर्ने यादब फरार रहेको र खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताए । गोली सानो पेस्तोलको जस्तो देखिएपनि कस्तो हतियार प्रयोग गरेको अझै नखुलेको शाहीले बताए ।
जिल्ला अदालत अगाडि दिउसोको समयमा नै गोलि प्रहार भएपछि स्थानीय त्रसित भएका छन् ।