तारमा झुण्डिएर हिडेका माइला बिक मिडियामा, त्यसो गर्नुको कारण खोले


काठमाडौं, २९ जेठ ।



नुवाकोटका माइला विकले विद्युत प्रशारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा भगवानले बचाएको बताएका छन् । एक टेलिभिजनसँगको कुराकानीमा उनले भने, ‘म मर्न गएको थिएँ । एकदम माथि गएपछि मरिन्छ भन्ने थियो ।

तर लठ्ठामाथि पनि भगवान रहेछ । मलाई बचाए । एकदम खुसी लागेको छ ।’ तारमा झुन्डिँदा आनन्द आएको विकले बताए । ‘तारमा झुन्डिएर आएका हामी । अल्लो छेउ गएँ, पल्लो छेउ गएँ । तारमा झुन्डिँदा चीलले पनि ठुंग्यो । तारमा सुत्दा आनन्द आयो,’ उनी भन्छन् ।



तारबाट तल खस्दा मर्छु भन्ने आफूलाई नलागेको उनको भनाइ छ । उनले भने, ‘घरमा गएर सुत्नुपर्यो भनेर गाको । त्यहाँ गएपछि भ्रमण देखेँ । खम्बामा छोएपछि मन ढुक्क भयो । अनि गएँ सरासर । तलबाट मान्छेहरुले झर भन्दा पनि म आफ्नै सुरमा हिँडे ।’

विक ६ घण्टा तारमा झुन्डिँदा एक करोड बराबर घाटा भएको विद्युत प्राधिकरणले जनाएको छ । तर उनी भन्छन्, ‘करोडको कुरा होइन । खर्बको कुरा आयो । खर्बले पनि मेरो ज्यान आउँदैन ।’

यसैबिच ककनी गाउँपालिकास्थित त्रिशुली थ्री ए प्रशारण लाइनमा हिँडेका बिकको मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । शनिवार ८ घण्टापछि नेपाली सेनाका उद्धारकर्ताहरूले बेलकोटगढी नगरपालिका–७ घर भएका ४३ वर्षीय बिकलाई हाइटेन्सनबाट उद्धार गरेका थिए ।

उद्धारपछि बिकलाई उपचारका लागि लगनखेलस्थित मानसिक अस्पतालमा पठाउन खोजिएको तर, परिवारले नमानेको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए । ‘कुरुवा नबसेको अवस्थामा मानसिक अस्पतालले भर्ना नगर्ने रहेछ’ एसपी शाह भन्छन्,‘परिवारका सदस्यहरु कुरुवा बस्न नमानेपछि संरक्षणका लागी सामाजिक संस्थाको जिम्मा लगाएका छौं ।’

प्रहरीले शनिवार राति नै उनलाई काठमाडौंमा पठाएको छ । माइला बिकलाई संरक्षणका लागी काठमाडौंको तार्केश्वर नगरपालिका–७ मा अवस्थित नवजिवन नामक संस्थाको जिम्मा लगाइएको एसपी शाहले जानकारी दिए । नवजिवनले बिकलाई खाने, बस्ने र मानसिक रोगका चिकित्सकबाट काउन्सेलिङ गर्ने व्यवस्था मिलाउने भएको छ । करिब १० महिनादेखि माइलाको मानसिक स्वास्थ्यमा समस्या देखिएको स्थानीयहरुको भनाइ छ । मानसिक समस्या देखिएपछि परिवारले उनलाई अपहेलना गरेका थिए । मानसिक अवस्था ठिक नभएपछि उनि गाउँमा यत्रतत्र डुलेर हिँड्थे ।​


सम्बन्धित
Loading...