नवलपुरकी बलात्कार पीडित नाबालिकाले बयान फेर्दा आरोपितले पाए सफाइ




बलात्कारको मुद्दामा पीडित नाबालिका ‘होस्टाइल’ (बयान फेर्ने काम) भइदिँदा उजुरी दिएको डेढ महिनामा नै आरोपितले सफाइ पाएका छन् । बलात्कारको मुद्दामा नवलपुरमा रहेको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले मंगलबार ‘द्रुतगति’मा चितवन जिल्ला अदालतबाट सफाइ पाएका हुन् ।

 

आफूलाई प्रयोगात्मक नम्बर थपिदिने भन्दै काफ्लेले पटकपटक बलात्कार गरेको भनी प्रहरीमा उजुृरी दिएकी १७ वर्षीया नाबालिकाले सरकारी वकिलको कार्यालयमा भने कुनै घटना नभएको भनी बकपत्र दिएकी हुन् । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले काफ्लेलाई सफाइ दिएको हो ।

 




बलात्कार मुद्दामा पीडितलाई आरोपित पक्षले धम्काउँदा वा प्रलोभनमा पार्दा पीडित होस्टाइल भई बयान फेर्ने गरेको विगतको नजिर छ । यस घटनामा प्रहरीलाई जानकारी नै नदिई सोझै सरकारी वकिलको कार्यालयमा लगेर पीडितको बकपत्र गराइएकाले थप आशङ्का देखिएको छ ।

 

वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय चितवनमा पीडितले दिएको उजुरीअनुसार पीडितलाई आरोपित काफ्लेले चितवनको सौराहा र शिवघाटका रिसोर्टमा लगेर बलात्कार गरेका थिए । जाहेरी दिएको भोलिपल्टै पीडित र पीडितकी आमाले उजुरी फिर्ता लिने भन्दै प्रहरी कार्यालय पुगेपछि उनीहरुमाथि अनावश्यक दबाब भएको प्रहरीले अनुमान गरेको थियो ।

 

चितवन प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले यस घटनामा पीडित ‘होस्टाइल’ हुन सक्ने भन्दै अधिकारकर्मीसँग सहयोगका लागि अनुरोध गरेका थिए । अधिकारीको सार्वजनिक अभिव्यक्तिलाई बल पुग्ने गरी पीडितको संरक्षकको तर्फबाट आमाले कागज गर्न अस्वीकार गरेकी थिइन् । २९ वर्षका काफ्लेलाई अदालतले जेठ १६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

 

उजुरीमा यसो भनेकी थिइन्

पीडित नाबालिकाले वैशाख १९ गते उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन पक्राउ गरेको थियो । २०७८ पुसको अन्तिमतिर आरोपित शिव काफ्लेले कक्षाबाहिर बोलाएर परिवार र होस्टेल बसाइका बारे सोधपुछ गरेको कुरा पीडितको उजुरीमा उल्लेख छ ।

 

उजुरीमा उल्लेख भएअनुसार होस्टेलमा बस्दा दिक्क लागेको बेला फ्रेस बनाउन घुम्न लैजाने कुरा काफ्लेले बताएका थिए । त्यसको केही दिनपछि होस्टेलबाहिर बसिरहेको बेला ड्रेस अर्काे लगाएर आउन आरोपितले पीडितलाई अह्राए । त्यसपछि आरोपितको गाडीमा बसेर उनी सौराहा पुगिन् ।

 

सौराहाको एक रिसोर्ट आरोपितले आफ्नो रिसोर्ट भएको पीडितलाई सुनाए । रिसोर्टमा पुगेर आरोपितले मम खाए । पीडितले मम मन नपर्ने भनी खाइनन् । त्यसपछि बत्ती निभाएर जबर्जस्ती गरेको र नग्न तस्बिर खिचेको पीडितले उजुरीमा बताएकी छन् ।

 

घर फर्किने बेलामा गर्भवती हुन्छु कि भनेर पीडितले शङ्का गर्दा आरोपितले पिल्स खान दिएको व्यहोरा उजुरीमा रहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन विष्टले बताए । त्यसपछि २०७८ माघमा पनि शिवघाटको एक रिसोर्टमा लगेर आफूलाई बलात्कार गरेको उजुरीमा भनिएको उनले बताए ।

 

मातातीर्थ औँसीको दिनमा आमासँग भिडियो कलमा कुरा गर्दा आमाले अनुहार र आवाज परिवर्तन भएको कुरा बताएपछि छोरीले आफूसँग भएको घटनाका बारे जानकारी गराएको उजुुरीमा उल्लेख छ ।

 

‘घटना नै नभएको बकपत्र’

चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यले पीडित नाबालिकाले घटना नै नभएको भनी बकपत्र दिएकाले आरोपितले सफाइ पाएको बताए । ‘पीडितले कुनै घटना नै भएको छैन । सरको गाडीमा बसेको पनि छैन भनेर बकपत्र दिएकी छन्’, उनले भने, ‘जुन–जुन रिसोर्टमा लगिएको भनिएको छ, ती रिसोर्टका सञ्चालकले पनि युवती लिएर नआएको भनी बकपत्र गरेका छन् ।’

 

आरोपित व्यक्तिलाई तर्साउन मात्र प्रहरी कार्यालयमा गएकोमा प्रहरी आफैँले मनलाग्दी लेखेर आफूलाई सही गर्न लगाएको कुरा बकपत्रमा लेखिएको उनले बताए । चिकित्सकले पनि बलात्कारको कुनै लक्षण नदेखिएको भनेर बकपत्र गरिदिएको उनले जानकारी दिए ।

 

बलात्कारको मुद्दामा निरन्तर सुनुवाइ हुने भए पनि अदालतले बोलाएको बखत पीडित वा सरकारी साक्षी उपस्थित हुन नसक्दा अधिकांश मुद्दा लम्बिने गरेको उनी बताउँछन् । उनका अनुसार अदालतमा चालू आवमा ३९ वटा बलात्कारका मुद्दा छन् । तीमध्ये एक वर्ष अवधि नाघेका तीन मुद्दा विचाराधीन अवस्थामा छन् ।

 



सम्बन्धित
Loading...