रुपन्देहीमा स्विमिङ पुलमा डुबेर फेरि एक जनाको मृत्यु
रूपन्देहीको होटलमा सञ्चालित पौडी पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो।
चार दिनको अन्तरमा रूपन्देहीका होटलको पौडी पोखरीमा दुई जना युवाको डुबेर ज्यान गइसकेको छ।
गत मंगलबार तिलोत्तमा नगरपालिका ३ शंकरनगरस्थित बिगचेयर होटलमा एक युवाले ज्यान गुमाएको घटना सेलाउन नपाउँदै शुक्रबार भैरहवास्थित होटल पौवाको पौडी पोखरीमा अर्को एक युवाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलका अनुसार शुक्रबार दिउँसो साथीहरूसँग स्विमिङ गर्न गएका तुलाधर सवा पाँच बजेतिर पोखरीमा डुबेका थिए।

स्विमिङ पुलमा डुबेका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा शुभ ओम इन्भेष्टमेन्ट कम्पनी प्रालिले लिजमा लिएर स्विमिङ पुलसहितको होटल सञ्चालन गर्दै आएको छ।
पौवामा बालबालिका र वयस्कका लागि छुट्टाछुट्टै स्विमिङ पुल छन्।
तिलोत्तमा १ शंकरनगरका पौडेल गर्मी छल्ने भन्दै साथीहरूसँग पौडी खेल्न गएका थिए। पौडी खेल्दा डुबेर बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो।