२८ हजार तलब खाने कर्मचारीको ४ वर्षमा १० रोपनी जग्गा,६ करोड भ्रष्टाचार
नायब सुब्बा पदमा झण्डै ४ वर्ष जागिर गरेकै अवधिमा एक व्यक्तिले ६ करोडभन्दा बढी रुपैयाँ गैरकानूनी आर्जन गर्नुका साथै विभिन्न जिल्लामा १० रोपनी जग्गा खरिद गरेको पाइएको छ ।
आफैं सञ्चालक रहेको विद म्यानेजमेन्ट प्रालि नामक कम्पनीदेखि चितवनको माडीस्थित खनिज कम्पनीमा समेत करोडौं रुपैयाँ लगानी गरेको भेटिएको छ ।
झापाको कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीले जागिरको झण्डै ४ वर्षको अवधिमा नै स्रोत खुल्न नसकेको ६ करोड २४ लाख ६ रूपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
२०७३ असोज २१ गते राजपत्रअनंकित प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका भण्डारीले २०७७ साउन १ गतेमा स्वेच्छिक अवकाश लिएका थिए । गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
आयोगका अनुसार सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय–व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा २६ लाख ६१ हजार ६३६ रुपैयाँ आयआर्जन गरेको देखिन्छ ।

खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दात समेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ ।
उनको कूल आयआर्जन र उनले गरेको कूल खर्च तथा लगानी (व्यय) घटाउँदा हुन आउने ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको अभियोग पत्रमा उल्लेख छ ।