नवलपरासीका मिटरव्याजी पीडित काठमाडौंमा आन्दोलित, पीडक साहुबारे नवलपरासीका प्रहरी प्रशासन बेखबर
हरि शर्मा –परासी, ४ असार – मिटरब्याजी साहुविरुद्ध तीनदेखि नवलपरासीका पीडितहरु काठमाण्डौंमा धर्नामा छन् । मिटरब्याजीहरुलाई पक्राउ गरेर न्याय पाउने आशमा उनीहरुले काठमाण्डौं पुगेर आन्दोलन थालेका हुन् । काठमाण्डौंमा आन्दोलन भइरहँदा मिटरब्याजी साहुहरुबारे भने नवलपरासीको प्रहरी, प्रशासन बेखबर जस्तै छ । मिटरब्याजी साहुविरुद्ध जाहेरी नआएकाले पक्राउ गर्न नसकिएको प्रहरीको भनाई छ ।
जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट पुगेका ४० बढी पीडितहरुले ‘मिटरब्याज र ठगीविरुद्ध संघर्ष समिति’ गठन गरेर काठमाण्डौंमा धर्ना दिएका हुन् । गाउँकै सुनिल बनियाँ र जगदिश बनियाँले दृष्टिबन्धक कागज बनाएर आफूहरुलाई ठगी गरिरहेको उनीहरुको भनाई छ ।
बैंकबाट ऋण लिंदा झण्झटिलो र समय लाग्ने भएकाले दृष्टिबन्धकबाट ऋण लिने प्रचलन गाउँमा व्याप्त छ ।
घरजग्गा धितो राखी दृष्टिबन्धनकबाट ऋण लिएका पीडितहरुले साँवा÷ब्याज बुझाए पनि अझ बाँकी छ भन्दै थप जग्गा आफ्नो नाउँमा गर्न दबाब दिएपछि बाध्य भएर आन्दोलन गर्नु परेको पीडितहरुको भनाई छ । बनियाँका दाजुभाई बाहेक अरु पनि मिटरब्याजी साहुहरु गाउँमा रहेकाले उनीहरुलाई कानुनी दायरामा ल्याउन पीडीतहरुको भनाई छ ।
पीडितहरुले आफूले पाएको भन्दा दोब्बर रकमको दृष्टिबन्धक कागज गरेर साहुलाई दिएका हुन् । १० वर्षअघि लिएको ऋणको ८ देखि १० गुनाबढी तिर्दासमेत अझै बाँकी छ भन्दै साहुले दृष्टिबन्धक फुकुवा नगर्ने र अरु घर÷घडेरी राखेर थप कागज बनाउन दबाब दिने गरेको पीडित गुप्ताको भनाई छ । डेढ लाख ऋणको १४ लाख बुझाउँदासमेत अझै नसकिएको उनीहरुको गुनासो छ ।

जिल्लामा पटक पटक प्रहरी प्रशासनमा निवेदन दिएपनि सुनुवाई नभएपछि काठमाण्डौं आउनु परेको पीडितहरुको भनाई छ । मिटरब्याजी साहुलाई कानुनी कारबाही गरी न्याय नदिलाएसम्म गाउँ नफर्कने पीडितको भनाई छ । साँवा ब्याजबाहेक बढी दिएको रकम फिर्ता हुनुपर्ने र ऋणका नाउँमा हड्पेको जग्गा साहुबाट फिर्ता हुनुपर्ने पीडितहरुको माग छ ।
यता जिल्लाका मिटरब्याजी साहुहरु विरुद्ध भएको आन्दोलनबारे सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको प्रहरी÷प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जिल्लामा रहेका मिटरब्याजीहरु बारे निगरानी बढाउन निर्देशन आएकोले त्यसबारे गंभिर रुपमा लागि परेको बताए ।
जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) ऋषिराम कँडेलले पनि मिटरब्याजी विरुद्ध कसैको जाहेरी नआएकाले कानुनी दायरामा ल्याउन समस्या भएको बताए ।
के भन्छन् साहु ?
मिटरब्याजी साहुका विरुद्ध काठमाण्डौंमा आन्दोलन भइरहँदा उनीहरुलाई ऋण दिएका साहुले भने अधिकांश ऋणीहरुले सावाँसमेत नदिएको दाबी गरेका छन् ।
आन्दोलन गरे लिएको ऋण फिर्ता गर्न नपर्ने र जग्गा फुकुवा हुने भन्दै आफूविरुद्ध लागेका केही व्यक्तिहरुले ऋणीहरुलाई उचालेर काठमाण्डौं लगेको साहु सुनिल बनियाँको आरोप छ । १० वर्षअघि लिएको ऋणको अहिलेसम्म केहीले ब्याज मात्र बुझाएको र केहीले सावाँ ब्याजसमेत नबुझाएको बनियाँको भनाई छ । कानुन अनुसार राजश्व रकम बुझाएर दृष्टिबन्धक गराएकाले आफूहरु मिटरब्याजी नभएको बनियाँको तर्क छ । लामो समयदेखि लिएको ऋण नबुझाएपछि कानुनअनुसार ७÷८ जनामाथि अदालतमा मुद्दा दिएको बनियाँले बताए ।