लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली भन्छिन्– मलाई फसाउने षड्यन्त्र भयो
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली भन्छिन्– मलाई फसाउने षड्यन्त्र भयो
लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफूलाई बद्नाम गरी फसाउने षड्यन्त्र भएको आरोप लगाएकी छन् । उनले सापटी रकम लामो समयसम्म फिर्ता नगरेपछि एकराज बस्नेतको घरमा गएको तर कसैलाई कुटपिट नगरेको दाबीसमेत गरिन् ।
गत जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनका परिवारका सदस्यमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो । यद्यपि घटना भएको एक सातासम्म प्रहरीले उनीविरुद्धको जाहेरी दर्ता गरेको छैन ।
राज्य मन्त्री विमलालाई मुख्यमन्त्रीको निर्देशनमा जेठ ३१ गते नै बुटवल पठाइएको थियो भने स्वास्थ्य अवस्था बिग्रिएको भन्दै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनी हाल दाङको घोराहीस्थित आफ्नो घरमा आराम गरिरहेकी छन् ।
एकराज बस्नेतकी श्रीमती मिनाले आफू र छोरीमाथि कुटपिट भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिएकी छन् । तर एक हप्ता बितिसक्दा पनि प्रहरीले जाहेरी दर्ता गरेको छैन ।
विमलाले एकराज बस्नेतले आफूसँग ३५ लाख रुपैयाँ सापटी लगेको र फिर्ता नगरेपछि पैसा उठाउन गएको दाबी गरेकी छन् । ‘सापटी रकम लिनका लागि उसको घरमा गरेको बेला योजनाबद्ध रूपमा मलाई विवादमा ल्याउने काम भएको हो,’ रातोपाटीसँग उनले भनिन् ।
उनले सरकारले बनाएको समितिलाई आफूले घटनाको विषयमा यथार्थ विवरण दिएको बताइन् । आफूले कसैमाथि कुटपिट नगरेको जिकिर गर्दै उनले बद्नाम गर्नका लागि सुनियोजित रुपमा यस्ता हल्ला फैलाइएको आरोप लगाइन् ।
विमला प्रकरणले प्रहरी, संसद् र सरकार सबैको ध्यान तानेको छ । उक्त घटनालाई लिएर प्रतिपक्ष एमालेले लुम्बिनी प्रदेशसभा समेत अवरुद्ध गर्दै सरकारको धारणा मागेको थियो ।