बाढिले बर्दघाट भित्रका ३ वटा पक्की पुलमा क्षती

नवलपरासी, १७ श्रावण –
बर्षाका कारण आएको बाढिले बर्दघाट नगरपालिका भित्रका ३ वटा पक्की पुलमा क्षती पु¥याएको छ । आईतबार देखी परेको बर्षाका कारण नगरपालिका भित्रका खोला र घोलामा पानीको सतह बढेको थियो ।
बाढीले वडा नम्बर ४ को बर्दघाट देखी बाढीपिडित जाने बाटो अन्तरगत स्मृतिनगरको पुल चर्किएको छ ।
पुल चर्किएपछि ठुला सवारीसाधन प्रवेशमा रोक लगाईएको छ । पुल को विच भाग बाट झण्डै डेढ ईन्च बराबरको भाग चर्किकएको हो । बाढिपिडित हुँदै चिसापानी जाने बाटोमा रहेको पुलमा पनि बाढिले क्षती पु¥याएको छ । पुलको दुबै तर्फको भाग कटान भएको पुलमै क्षती पुगेपछि आवतजावत गर्न नमिल्ने अवस्थामा पुगेको छ ।
वडा नम्बर ३ मा पनि एक पुलमा क्षती पुगेको छ । लगुनामा रहेको पुलमा पनि बाढिले क्षती पु¥याएको हो । एक ठाउँ देखी अर्को ठाउँलाई जोड्ने पुलहरुमा क्षती पुगेपछि नागरिकहरुलाई आवतजावतमा कठिनाई हुने भएको छ ।
क्षती पुगेका पुलहरुको अवलोकन गरि मर्मतका लागि आवश्यक प्रकृया अगाडि बढाईने नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभएको छ ।
खोला र घोलाको उचित निकास नहुँदा डुवान समस्या

बर्दघाट नगरपालिकाका विभिन्न क्षेत्रमा रहेका खोला घोलाको उचित निकास नहुँदा बस्ती र खेतीयोग्य जमिन डुवानमा पर्ने गरेको छ । नगरका विभिन्न वडामा डुवानको समस्या रहेको छ । नगरपालिकाको वडा नम्बर १० मौराटाँडी क्षेत्र सामान्य पानी पर्दा पनि डुवानमा पर्ने गरेको छ । चुरे क्षेत्रबाट आउने बाढीले उचित निकास नपाउँदा त्यस क्षेत्रमा खेतीयोग्य जमिन संगै बस्ती डुवानमा पर्ने गरेको छ ।
बर्षौ देखी डुवानको समस्या रहे पनि त्यहाँका स्थनियले समस्याबाट छुटकरा पाउन सकेका छैनन् । त्यस क्षेत्रमा पुर्व पश्चिम राजमार्गमा पनि बाढी बग्दा सवारी साधन संचालनमा समेत कठिनाई हुने गरेको छ ।

वडा नम्बर २ मा रहेको दिब्यज्योती बहुमुखी क्याम्पस अगाडिको क्षेत्रबाट बाढी राजमार्गमा पस्ने गरेको छ । सामान्य पानी पर्दा पनि खोलामा आउने बाढी राजमार्गमा पस्दा सवारी संचालनमा कठिनाई हुने गरेको छ । खोलको सतह बढेर सडककै हाराहारीमा आउन लागे पनि त्यसको सफाईको काम हुन सकेको छैन ।

वडा नम्बर ४ को बाडिपिडितमा बर्दघाट त्रिवेणी सडक खण्डमा पनि बाढी सडकबाटै बग्ने गरेको छ । वडा नम्बर ६, ११, १३ र १३ मा पनि विभिन्न क्षेत्र डुवानमा पर्ने गरेको छ ।
खोलाका र घोला क्षेत्रको अतिक्रमण गरी भौतीक संरचना निर्माण गरिएका कारण पनि पानीको निकासमा अबरोध पुग्ने गरेको छ । कतिपय नक्सामा घोला देखीएका ठाउँहरु अहिले नाम निसान नै भैटिदैन । सडक निर्माण गर्दा नालिको निर्माण नहुँदा पनि डुवान समस्या बढेको छ । कतिपय स्थानमा जग्गा प्लटिङ गर्दा घोल पुरेर सडक बनाएका कारण पनि डुवानको समस्या हुने गरेको छ ।
घोला सफाई गरेपछि डुवानको समस्या हट्यो

सामान्य पानी पर्दा पनि पछिल्ला केहि बर्ष यता बर्दघाट नगरपालिकाको वडा नम्बर ४ अन्तरगतका विभिन्न टोलहरु डुवानमा पर्ने गरेकोमा यस बर्ष खोला सरसफाई गरिएपछि डुवानको समस्याबाट राहात मिलेको छ । वडाको देवीनगर, आनन्दनगर, आदर्श टोल, हरियाली टोल, स्मृतिनगर धौलागिरी टोल, उपहारनगर लगायतका टोलहरु डुवानमा पर्ने गरेका थिए ।
अहिले वडा र नगरपालिकाको सहयोगमा टोलविकास संस्थाका प्रतिनिधिहरुको सक्रियतामा खोला सफाई कार्य गरिएपछि यस पटक भने यस क्षेत्रमा डुवानको समस्या देखिएन । अहिले पनि खोला सरसफाई कार्य निरन्तर चलिरहेको खोला सरसफाई उपभोक्ता समितिका अध्यक्ष समेत रहेका देवीनगर टोल विकास संस्थाका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।