नवलपरासीमा बाढीः नारायणीमा यस बर्षको उच्च बहाब, नारायणीको पानी गाउँ पस्यो

रामकुमार श्रेष्ठ –
नवलपरासी । नारायणी नदीमा यस बर्ष पानीका सतह अहिलेसम्मकै उच्च भएको छ । नारायणी नदीमा पानीको बहाब बढेसँगै नवलपुर र पश्चिम नवलपरासीका विभिन्न गाउँमा पानी पस्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार नारायणी नदीमा आज विहान ६ बजेदेखि ८ बजेसम्मको पानीको सतह मापन स्थिर रहेको छ । उनका अनुसार अहिलेसम्मकै उच्च ४ लाख ४० हजार क्युसेक पानीको सतह मापन गरिएको छ । नारायणीको गण्डक नहरमा राखिएका सबै ढोका हिजो नै खोलिएको छ । २ घण्टासम्म लगातार पानीका सतह स्थिर रहेका कारण पानीको बहाब अब स्थिर रहने अनुमान गरिएको छ । यो सतह खतराको तह भन्दा माथि हो ।
नारायणीमा पानीको सतह बढेपछि नवलपुरको मध्यविन्दु नगरपालिकाको भुताहा, सिहेरी, प्रसौनी लगायतका गाउँ डुबानमा परेको छ । यहाँ डेढ दर्जन बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।
यहाँ डुबानमा ३ जना मानिस फसिरहेका छन् । त्यसैगरी १८ घर धुरीका ४५ जना बढी आफन्तको घर शरणमा राखिएको छ ।
त्यसैगरी कावासोती १७ अमलटारीमा रहेको सेनाको ब्यारेक पनि डुबानमा परेको छ । त्यहाँ रहेका सेनाहरु सुरक्षित स्थानमा आएको बताइएको छ ।
यसैबीच मध्यविन्दु नगरपालिकामा डुबानमा परेको गाउँका मानिसहरुको उद्दारका लागि स्थानीय जनप्रतिनिधि र पूर्व सांसदहरु लगायतका टोली सहित सेना, प्रहरी घटना स्थलमा खटेको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले बताए ।
नवलपुरका विनयी त्रिवेणी १ बघुवन पनि डुबानमा परेको छ । यहाँका पशु चौपायालाई अनेत्र सारिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी पश्चिम नवलपरासीको सुस्तामा पनि नारायणी नदीको पानी पसेको छ । सुस्तामा १ दर्जन घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए । सुस्तामा अहिले १ फिट बढी पानी पसेको छ ।