वनविनाश र क्षयीकरण न्यूनिकरणमा सामुदायिक वनको भूमिका र योगदान सम्बन्धी जिल्ला स्तरीय गोष्ठि




प्रिय धन, नवलपुर (चोरमारा) —

वन विनाश र क्षयीकरण न्यूनिकरणमा सामुदायिक वनको भूमिका र योगदान सम्बन्धी जिल्ला स्तरीय गोष्ठि शनिबार हुप्सेकोट–३ को मयुर पोखरी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ ।




कार्यक्रममा जलवायु परिवर्तन र अनुकुलनका सम्वन्धमा सामुदायिक वनको भूमिका, वन कार्वन व्यापार, रेड प्लसको अवधारणा, रेड प्लसको आर्थिक संरचना र लाभको बाँडफाँड, जलवायु परिवर्तनको विज्ञान, कारण र प्रभाव, वन विनाशका कारण, रोकथामका उपाय र दिगो वन व्यवस्थापनका सूचकहरु, रेडप्लस सुरक्षा मापदण्ड, रेड प्लसमा स्वतन्त्र अग्रीम सुसुचित सहमति लगायतका विषयमा प्रस्तुतिकरण तथा छलफल भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले स्थानीय समुदाय अझैपनि आफ्नो अधिकारको सहि सदुपयोग गर्नबाट बञ्चीत रहनु परेको बताउनुभयो । उहाँले नीतिगत व्यवस्था, सम्बन्धित कार्यालयहरुको आवश्यक समन्वय तथा सहयोगको कमिमा अहिले पनि वन संरक्षण गर्ने उपभोक्ताले दुःख पाउनु परेको तितो यथार्थ रहेको बताउनुभयो । उहाँले स्थानीय उपभोक्ताहरुको अधिकार संरक्षणमा सामुदायिक वन र महासंघले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै स्थानीय समुदायले लाभ प्राप्त गर्न सक्ने विषयहरुमा सदैव जिससको तर्फबाट सहयोग हुने बताउनुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिव बिर्ख बहादुर शाहीले सामुदायिक वन नेपालको गौरव र विश्वको लागि सफल अभ्यास रहेको भन्दै अन्र्तराष्ट्रिय स्तरबाट पनि सामुदायिक वन प्राथमिकतामा पर्ने गरेको बताउनुभयो । उहाँले बिकासको क्रममा हुने प्राकृतिक स्रोत र साधनको दोहनले क्रमश जालवायु परिवर्तन अहिलेको अवस्थामा आईपुगेको र यसलाई अब अनुकुलनता गर्न नसक्दा जालवायु परिवर्तनले भयावह स्थीति सृजना हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले रेड प्यस र कार्वन उत्सर्जन कार्यक्रम बारे जानकारी गराउनै कार्वन न्यूनीकरणका लागि नेपाल सहित १३ वटा देशमा पाईलट प्रोग्राम संचालनमा ल्याईएको जानकारी दिनुभयो । कार्वन न्यूनीकरण कार्यक्रमका लागि सन् २०२२ र सन् २०२४ मा अन्तरराष्ट्रिय क्षेत्रबाट रकम प्राप्त हुने र सो रकम वन समुदायलाई हस्तातरण गर्ने योजना नेपाल सरकारले ल्याएको जानकारी दिनुभयो । उहाँले समृद्धिका लागि वन भन्ने कार्यक्रम संचालनका लागि नेपाल सरकारले ऋण लिएको र दिगो वन विकास र उद्यम सम्बन्धि सरकारले नयाँ योजना बनाएको जानकारी समेत सो क्रममा दिनुभयो । कार्बन व्यापारका लागि स्थानीय उपभोक्ता, समुदायसंग अनुमति लिनुपर्ने र योजनावद्ध ढंगले अगाडि बढ़नुपर्ने सुझाव समेत दिनुभयो ।

कार्वन व्यापारको भुक्तानीको सम्बन्धमा नेपाल सरकारले भौतिक सामग्री तथा प्राविधिक क्षेत्रमा जोड दिएको प्रति बिरोध जनाउदै उहाँले स्थानीय सामुदायिक वनलाई नगद रकम नै सरकारले प्रदान गर्नु पर्ने र सो रकम स्थानीय आवश्यकताको आधारमा सामुदायिक वनले लगानी गर्ने व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा कार्वन व्यापारबाट प्राप्त लाभको बांडफांड योजनामा सामुदायिक वन उपभोक्ता समूहको पहुँच र अधिकार कटौती सम्बन्धी नीतिगत कुरा र प्रक्रियाका बारेमा रेड प्लस कार्यक्रमका योजना अधिकृत रमेश तिमल्सिनाले प्रष्ट पार्नुभएको थियो । कार्वन व्यापार कार्यक्रम मापÞर्mत सामुदायिक वन समूहलाई आर्थिक रुपमा योजना आउने भएकाले वनका पदाधिकारीले समयमा नै सम्बन्धित निकायमा बुझ्न सुझाव दिनुभयो ।

कार्यक्रममा उपस्थित पदाधिकारीले कार्वन संचित अनुपात अनुसारको रकम प्रदान गर्न नसकेको प्रति गुनासो व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय मयुर पोखरी सामुदायिक वन उपभोक्ता समूह बेलहानीका अध्यक्ष मदन थापा बयम्बु, सिंह निवास सामुदायिक वन उपभोक्ता समूह कावासोती ५ का अध्यक्ष दुर्गा बहादुर गुरुङ , बिराट सामुदायिक वन उपभोक्ता समूह हुप्सेकोटला पूर्व अध्यक्ष तारा बहादुर कार्की, थुम्कीदेवी सामुदायिक उपभोक्ता समूह कोलियाका अध्यक्ष युवराज पाण्डे लगायतले विगतमा बैज्ञानिक वन व्यवस्थापनमा रहेको सामुदायिक वनहरुमा काठ छपान, कटान लगायतको कार्य रोखिएको विषयमा जिज्ञासा राखेका थिए । गुनासोहरुको फेकोफनका केन्द्रिय महासचिव बिर्ख बहादुर शाहीले सम्बोधन गर्नुभएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका सचिव सीता भुसालले संचालन गर्नुभएको कार्यक्रममा फेकोफन नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डेले स्वागत मन्तव्य सहित कार्यक्रमको परिचय राख्नु भएको थियो ।

कार्यक्रममा जिल्ला भरका सामुदायिक वन समूहका पदाधिकारी, फेकोफनका केन्द्रिय सचिवालय सदस्य डोल कुमारी सापकोटा, केन्द्रिय सदस्य सीता खड्का, फेकोफन प्रदेश सदस्य देवीमाया घिमिरे, मध्यविन्दु स्थानीय महासंघ अध्यक्ष होमनाथ पाण्डे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल हुप्सेकोट गाउँपालिका अध्यक्ष गुरु प्रसाद खनालको अध्यक्षतामा भएको थियो ।



सम्बन्धित
Loading...