हुप्सेकोटका पहिरोबाट १८ घरलाई नदशैं नतिहार, अब जाडो काट्ने कसरी काट्ने चिन्ता




रामकुमार श्रेष्ठ

नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ वागखोरका बासिन्दालाई न दशैं लाग्यो न तिहार लाग्ने छेकछन्द छ । छ त एउटै चिन्ता छ त्यो हो अब जाडो कसरी काट्ने ? झण्डै एक बर्ष अगाडि हुप्सेकोट ५ बागखोरमा बर्षाको बेला एक्कासी पहिरोसँगै आफू बस्दै आएको गाउँनै भासिएपछि उक्त गाउँका १८ घर मगर समुदायका बासिन्दा विस्थापित हुन पुगे । अहिले उनीहरु हुप्सेकोट १ जुकेपानीको एउटा सानो चौरमा शरण लिएर बसेका छन् ।




१ बर्ष अगाडि विस्ताथित भएका हुप्सेकोट ५ का १८ घर बासिन्दाको दैनिकी अहिले ज्याला मजदुरी गरेर वितेको छ । ब्लक र टिन लगाइएको १÷१ कोठा र एउटा टेण्ट उनीहरुको बास काट्ने थलो भएको छ । विहान बेलुकाको छाक ज्याला मजदुरीकै भरमा काटे पनि अबको जाडो कसरी काट्ने चिन्ता उनीहरुमा छाएको छ । गत बर्ष पनि टेण्टकै भरमा खाली चौरमा जाडो काटेका उनीहरुलाई अहिले पनि टेण्ट सानो टहरो र खाली चौरमै काट्नु पर्ने बाध्यता आइपरेको तिलबहादुर सोमै मगरले बताए ।

उनीहरुमा सानो एउटा कोठा भित्र ८ देखि १०÷१२ जनाको परिवार बस्नु पर्ने बाध्यता रहेको छ । उनीहरुलाई छिट्टै स्थानीय निकाय वा राज्यले कुनै एक ठाउँमा लगेर स्थायी बसोबासको व्यवस्था मिलाइदिए हुन्थ्यो भन्न चाहाना छ । उनीहरु बस्दै आएको गाउँमा प्रति घर १ देखि ३ विगाहा जमिन थियो । अहिले

उनीहरुको जमिन मात्र खोसिएन बस्ने बास पनि खोसिएको छ । अरुको जग्गामा शरण लिएर बस्नु परेको विस्थापित बासिन्दा केमबहादुर सोमैले बताए ।
पहिरोले विस्थापित भएपछि उनीहरु पुन गाउँ फर्किएर जान सक्ने अवस्था पनि छैन । तर, उनीहरुको उचित व्यवस्थापनमा स्थानीय सरकार हुप्सेकोट गाउँपालिकाले ध्यान नदिएको विस्थापितहरुको गुनासो छ । हुस्पेकोट गाउँपालिका ५ का वडा अध्यक्ष पदमबहादुर रानाले भने पालिका एक्लैले उनीहरुको व्यवस्थापन गर्न नसक्ने भएकोले प्रदेशदेखि केन्द्र सरकारसम्म पहल भईरहेको बताए ।

असार २४ गते पहिरोले विस्थापित भएपछि जनता मावि बेलुवाको चौर, पत्थर खोलाको किनार हुँदै अहिले हुप्सेकोट १ जुकेपानीको करिब २ कठ्ठाको सानो चौर भित्र १८ घरका बासिन्दा अटाइनअटाइ बसेका छन् । एकातिर दुर्गन्ध, अर्कोतिर गाउँबासको चिन्ता, बालबालिकालाई चिसोबाट जोगाउनु चुनौती माथि चुनौतीको चांङ थोपरिएका यहाँका बासिन्दालाई राज्यले बैलेमा व्यवस्थापन गर्नु आवश्यक छ ।



सम्बन्धित
Loading...